+
+

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्न भारतीय निकायमा प्रस्ताव

अच्युत पुरी अच्युत पुरी
२०७८ भदौ १३ गते १३:३१

१३ भदौ, काठमाडौं । भौतिक पूर्वाधार निर्माण करिब सम्पन्न भई परीक्षणको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्न नेपालले ‘एयरपोर्ट अथोरिटी अफ इण्डिया’लाई प्रस्ताव गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन उपकरण तथा उडान विधिको चेकजाँच तथा परीक्षणका लागि विशेष उडान गर्नुपर्ने हुन्छ । यो उडान गर्ने जहाजमा परीक्षण गर्ने उपकरणहरु जडान गरिएका हुन्छन् । यसअघि थाइल्याण्डबाट यस्तो जहाज ल्याएर फ्लाइट क्यालिब्रेसन गर्ने तयारी थियो ।

तर, विदेशबाट विशेष वायुयान र दक्ष विज्ञ आउन सम्भव नभएपछि भारतीय निकायसँग यसका लागि प्रस्ताव गरिएको हो । भारतीय निकाय यसका लागि इन्छुक समेत देखिएको भन्दै प्राधिकरणले नेपाल सरकारको स्वीकृतिका लागि पठाइएको जनाएको छ ।

सरकारले स्वीकृति दिएसँगै विमानस्थलको विशेष परीक्षण हुने छ । यस्तो उडान नभएसम्म विमानस्थलमा जडित उपकरणले काम गरे–नगरेको थाहा हुँदैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ ।

यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । आईसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो

परीक्षण उडानपछि के हुन्छ ?

फ्लाइट क्यालिब्रेसनपछि संचार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरुले काम गरे–नगरेको पत्ता लाग्नेछ । यस्तो फ्लाइटमा विज्ञहरु सहभागी हुन्छन् । परीक्षण उडान गर्न विशेष जहाज चाहिन्छ ।

कम्यूनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि भने जहाज उडान/अवतरणको बाटो खुल्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका अनुसार भैरहवा विमानस्थलमा फ्लाइट क्यालिब्रेसन सकिएपछिको तीन महिनामा विमानस्थल व्यवसायिक उडानका लागि योग्य बन्नेछ । प्राधिकरणका अनुसार त्यसपछि प्राधिकरण आफैंले परीक्षण उडान गरि अन्तर्राष्ट्रिय उडानका लागि यो विमानस्थल खुला गर्नेछ ।

कति छ आयोजनाको प्रगति ?

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म विमानस्थल आयोजनाको भौतिकतर्फको प्रगति ९७ प्रतिशत पुगेको छ ।

आयोजनालाई कोभिड १९ को प्रभाव भने परेको हो । चिनियाँ र थाइ प्राविधिक बढी खटिएको यो विमानस्थलमा काम गर्ने कामदार कोरोनाका कारण उतै रोकिएका थिए । कोरोना कम भएको र खोपको उपलब्धता पछि भने आयोजनाको कामले गति लिएको थियो ।

विमानस्थलमा अहिले जडान गर्नुपर्ने रनवे–लाइट, यान्त्रिक अवतरण प्रणाली, संचार–उड्डयन सहायक उपकरण, व्यागेज ह्याण्डिलिङ, एक्सेजस्ता उपकरणको जडानको काम सकिएसँगै विमानस्थल परीक्षण उडानका लागि तयार भएको हो ।

विमानस्थलमा अहिले क्याटवरी–४ बराबरको अग्नी निवारण तथा जीवनोद्धार सेवाका लागि आधुनिक दमकल र एम्बुलेन्स समेत खरिद गरी ल्याइएको छ ।

विमानस्थलको धावनमार्ग, टर्मिनल भवन तथा टावरहरु निर्माणको काम भने दुई वर्ष अगाडी नै सम्पन्न भएको थियो । यो विमानस्थलमा एसियाली विकास बैंकले लगानी गरेको हो ।

दोस्रो टर्मिनल भवन र अन्य पूर्वाधार बनाउन साढे ३ अर्ब बजेट

सरकारले गत आर्थिक वर्ष भित्रै यो आयोजना संचालनमा ल्याउने लक्ष्य राखेको थियो । तर, कोरोना भाइरसको महाकारीसँगै आयोजना समेत पछाडी धकेलिएको हो ।

सरकारले चालु आवमा दोस्रो टर्मिनल भवनको निर्माणदेखि अन्य भौतिक संरचना निर्माणका लागि भन्दै थप साढे ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो आयोजनाले ३ अर्ब ५३ करोड रुपैयाँ बजेट पाएको छ ।

भैरहवा विमानस्थलको निर्माणको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । विमानस्थलको प्रारम्भिक लक्ष्य अनुसार डिसेम्बर २०१७ मै संचालनमा आइसक्नु पर्ने थियो । तर, यो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको हो ।

विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ ।

कस्तो बन्यो विमानस्थल ?

भैरहवामा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको धावनमार्ग निर्माण भएको छ । सोहीकारण काठमाडौंमा उडान–अवतरण हुने सबै क्षमताका विमानको उडान–अवतरण यहाँबाट पनि सम्भव हुनेछ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ ।

आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहनेछ । काठमाडौंमा प्राविधिक कारणले उडान अवतरण प्रभावित भयो भने जहाज अब भारत डाइभर्ट गर्नुपर्ने बाध्यता समेत हट्ने छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?