Comments Add Comment

दोस्रो लहरकै कम संक्रमण, अस्पतालमा बिरामी घट्दै

फाइल तस्वीर

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या दोस्रो लहरकै सबैभन्दा कम बिन्दु १ हजार ३८८ मा आइपुगेको छ । यसअघि दोस्रो लहरको कम संक्रमण असार २० गते १ हजार ६०३ जनामा देखिएको थियो ।

तर आइतबार असार २० गतेको भन्दा २१५ जना कम संक्रमित भेटिएका हुन् । आइतबार १० हजार २९७ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको छ । असार २० गते ८ हजार १३२ नमुना परीक्षण गर्दा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको थियो । असार २० गतेको संक्रमणदर १९.७१ थियो भने आइतबार १३.४८ प्रतिशत मात्र छ ।

चैत दोस्रो हप्तादेखि शुरु भएको कोरोना संक्रमणको दोस्रो लहरमा सबैभन्दा बढी वैशाख २८ गते २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला संक्रमण दर ४४.४९ प्रतिशत थियो ।

अन्य दिनको तुलनामा पछिल्लो २४ घण्टामा संक्रमण कम पुष्टि भएको छ । यसलाई सकारात्मक मान्नुपर्छ । तर यही तथ्यांकलाई हेरेर संक्रमण घट्यो भन्ने बेला आएको छैन -डा. कृष्ण पौडेल, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

अस्पतालमा बिरामी घट्दै

पछिल्लो समय काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या पनि घटेको छ । केही दिनयता अस्पतालमा उपचार गराउन आउने संक्रमितको संख्या घटेको अस्पतालका अधिकारीहरु बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दोस्रो लहर उत्कर्षमा रहेका बेला बेड भरिएर प्रांगणमा अस्थायी बेड राखेर उपचार गरिएको थियो । निर्देशक डा. अनुप बास्तोलाका अनुसार हाल आईसीयूमा १५, स्पेशल क्याबिनमा ७ र कोभिड वार्डमा २३ जना संक्रमित उपचाररत् छन् ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी डा. भुपेन्द्र बस्नेतका अनुसार आईसीयू र भेन्टिलेटर कक्ष समेत खाली छन् । आईसीयूसहित कोभिड वार्डमा गरी ११७ जना संक्रमित उपचाररत् रहेको उनले बताए ।

सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालका सम्पर्क व्यक्ति डा. प्रवीण नेपालका अनुसार आईसीयूमा १६ जना र भेन्टिलेटरमा ९ जनासहित ९२ जना संक्रमित उपचाररत् छन् ।

नेपाल प्रहरी अस्पतालका सम्पर्क व्यक्ति डा. सुन्दर हैजुका अनुसार आईसीयू र भेन्टिलेटरमा १७/१७ जना संक्रमित उपचाररत् छन् । १२ एचडीयू बेड भने खाली छ ।

त्रिवि शिक्षण अस्पतालमा भने संक्रमितको चाप पहिले जस्तै रहेको अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बम बताउँछन् । उनका अनुसार अस्पतालमा दिनमा १५ जना संक्रमित भर्ना हुने गरेका छन् ।

पछिल्लो समय पहाडी जिल्लाबाट रेफर भएर आउने संक्रमितको संख्या बढ्दो रहेको उनले बताए । ‘सिन्धुपाल्चोक, काभ्रे, दोलखा, खोटाङ, गोर्खा, सोलु, रसुवा लगायतका पहाडी जिल्लाका अस्पतालबाट रेफर भएर आउने संक्रमित धेरै छन्,’ उनले भने ।

निजी अस्पतालबाट पनि आईसीयू बेडको खोजीमा धेरै बिरामी आउने गरेको उनी बताउँछन् । निजीमा उपचार गराउँदा बढी खर्चिलो हुने भएका कारण बिरामीहरु सरकारीमा आउने गरेको उनको भनाइ छ ।

आईसीयू र भेन्टिलेटरमा कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेयता देशभरका अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या घट्दो क्रम रहेको छ ।

भदौ १ गते आईसीयूमा ७९० जना उपचाररत छँदा भेन्टिलेटरमा १९१ जना थिए । आइतबार आईसीयूमा उपचाररत संक्रमितको संख्या ६२५ जना छ । भेन्टिलेटरमा उपचाररत् संक्रमितको संख्या पनि भदौ १ गते १९१ रहेकामा घटेर आइतबार १६७ मा झरेको छ ।

मन्त्रालयका अनुसार आइतबार सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा र ३ हजार ५२ जना संस्थागत आइसोलेसनमा छन् । आइतबार कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार २६० छ भने मृतक संख्या २४ रहेको छ ।

संक्रमण घटेकै हो त ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल एकै दिनको तथ्यांकलाई हेरेर संक्रमण घट्यो भन्न नमिल्ने बताउँछन् ।

‘अन्य दिनको तुलनामा पछिल्लो २४ घण्टामा संक्रमण कम पुष्टि भएको छ । यसलाई सकारात्मक मान्नुपर्छ । तर यही तथ्यांकलाई हेरेर संक्रमण घट्यो भन्ने बेला आएको छैन,’ डा. पौडेलले भने । उनले अस्पतालहरुमा बेड नपाउने अवस्था भने अहिले नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment