+
+

अनलाइन कक्षा सञ्चालनमा सहयोग गर्दै प्युठानको माण्डवी गाउँपालिका

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १९:५५

१५ भदौ, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयका शिक्षकहरुले धेरैवटा मोबाइल राखेर विद्यार्थी पढाएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ ।

गत वर्ष कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि मोबाइलबाट पढाउन शुरु गरेको विद्यालयले यो वर्ष पनि मोबाइल मार्फत पढाउन थालेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए ।

‘हामीले गत साल १५ वटा मोबाइलबाट भ्वाइस प्याक लिएर कक्षा लिएका थियौं, अवस्था सामान्य भएपछि विद्यालय नै शुरु भयो । यो वर्ष पनि फेरि जोखिम बढेपछि त्यसैलाई निरन्तरता दिएका हौं,’ उनले भने ।

कक्षा ५ सम्मका विद्यार्थीलाई स्वअध्ययन सामग्री, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई मोबाइल र कक्षा नौ देखि १२ का विद्यार्थीलाई अनलाइन कक्षामा जोडेको पौडेलको भनाइ छ । स्मार्ट फोन नभएका वा नेटवर्क नटिप्ने स्थानका विद्यार्थीलाई कक्षा नौ देखि १२ का सम्मका विद्यार्थीलाई भ्वाइस प्याक खरिदका लागि ३२५ रुपैयाँ प्रदान गरेको उनले बताए । त्यसका लागि स्थानीय सरकारले सहयोग गरेको उनले जानकारी दिए ।

अहिले विद्यालयले ८० वटा दुई वटा सिम जाने मोबाइलबाट कक्षा लिइरहेको जनाएको छ । सम्बन्धित शिक्षकहरुले एकपटकमा १० वटा फोनबाट कक्षा लिने गरेको छ ।

गाउँपालिकाको सहयोग

माण्डवी मावि लगायत गाउँपालिकाका अन्य विद्यालयले पनि यसैगरी वैकल्पिक शिक्षण सिकाइसँग विद्यार्थीलाई जोडिरहेको गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाले विद्यार्थीलाई अनलाइन माध्यमबाट पढाउनका लागि मोबाइल तथा डाटा खरिदका लागि करीब २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख पूर्ण केसीले जानकारी दिए ।

हाल कोरोना संक्रमणको जोखिम कम हुँदै गइरहेको देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक रुपमा कक्षा सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘अब बिहीबार बस्ने कार्यपालिका बैठकले यसअघि प्रधानाध्यापकसहित बसेको बैठकले गरेको निर्णय अनुमोदन गरेपछि भौतिक रुपमा विद्यालय सञ्चालन हुन्छ,’ शिक्षा शाखा प्रमुख केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?