+
+
Shares
अन्तर्वार्ता :

‘नेताहरुले सहमति गरुन्, नभए हामीले सभापति छान्नुपर्ने अवस्था आउँछ’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते २०:५६

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकाे महामन्त्रीमा गगनकुमार थापा उम्मेदवार बन्ने ‘ओपन सेक्रेट’ जस्तै थियो । कुन समूहको महामन्त्री उम्मेदवार भन्ने मात्र प्रश्न थियो । समूह टुंगो नलाग्दै थापाले आइतबार आफ्नै वडाको क्रियाशील सदस्यहरुको भेला मार्फत महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरे ।

संस्थापनइतर समूहमा रहेका थापा सभापतिका आकांक्षीहरुबीच छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्छन् । तर नेताहरुबीच सहमति नभए उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्ने र उनीहरुले नै आफ्नो सभापतिको उम्मेदवार छान्ने अवस्था आउने सम्भावना पनि त्यतिकै रहेको उनले बताए । थापा भन्छन्, ‘नेतृत्वका आकांक्षीले आफूहरु बसेर एउटा उम्मेदवार तय गर्नुपर्‍यो, नभए हामीले छान्नुपर्ने अवस्था आउन सक्छ ।’

प्रस्तुत छ, महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता थापासँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठखगेन्द्र भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं महामन्त्रीको उम्मेदवार भन्ने त अपेक्षित थियो, तर घोषणा कार्यक्रम चाहिं ‘सरप्राइज’ जस्तो भयो नि ?

पार्टीको आफ्नो संरचना छ । म यसलाई बदल्न चाहन्छु, तर जबसम्म बदलिंदैन, तबसम्म अहिलेको जस्तो क्रियाशील सदस्य छानिन्छ, उनीहरुमध्ये केही हजार महाधिवेशन प्रतिनिधि हुन्छन् । यसरी हुने महाधिवेशन प्रतिनिधि चाहिं अहिले नै हामीलाई सभापतिको जिम्मा दिन तयार भएन ।

यो पूर्वनिर्धारित कदम थिएन । मेरो वडा, काठमाडौं महानगरपालिका–३० को क्रियाशील सदस्यहरुको भेला थियो । त्यहाँ परिचयात्मक कार्यक्रममा परिचय दिन उठ्दै गर्दा मैले महाधिवेशनमा आफ्नो तयारीबारे भन्नुपर्छ भन्ने ठानें ।

म नेपाल विद्यार्थी संघमा पनि नअटेर बाल कांग्रेस भएको वडा हो यो । म पहिलो पटक सडक आन्दोलनमा सहभागी भएको पनि यहीं हो, पहिलो पटक मञ्चमा उक्लिएर भाषण गरेको पनि यहीं हो । मैले पार्टी सदस्यता लिएको पनि यहीं हो । मलाई राजनीतिक संस्कार, आड, भरोसा यही वडाले दिएको हो ।

यसर्थ मेरा लागि योभन्दा अर्को बढी पवित्र ठाउँ पनि छैन । मेरा लागि सोमबारको त्यो भेला लाखौंको आमसभा हो, जहाँ मैले मेरो मनको कुरा राखें ।

महामन्त्रीमा उम्मेदवारी दिने चाहिं अलि लामै तयारी हो ?

म पछिल्ला दुई–अढाइ वर्ष पार्टीका कार्यक्रममा देशभर हिंडे । अघिल्लो पटक महामन्त्री लडे जस्तै अब सभापति लड्छु भन्ने सोच मेरो मनमा आउँदै नआएको होइन । यो कुरा साथीहरुसँग राखें । कसैले बोलेर, कसैले नबोलेर भन्नुभयो, कसैले इशाराले भन्नुभयो कि तपाईं सभापति होइन है, एकपटक महामन्त्री बन्नुपर्छ । आफूलाई प्रमाणित गर्नुपर्छ । त्यसो भयो भने अर्को पटक सोच्न सकिन्छ ।

यसको अर्थ सभापति लड्नुपर्छ कि भन्ने पनि थियो ?

थियो, थियो । मैले थुप्रै ठाउँमा गएर भनेको थिएँ । साथीहरुसँग सल्लाह गरेको पनि थिएँ । तर मेरो निर्वाचन क्षेत्र (झण्डै चार हजार महाधिवेशन प्रतिनिधिहरु, जसले सभापति चुन्छन्) का बहुसंख्यकले एकपटक महामन्त्री बन्नुपर्छ भन्नुभयो । किन भन्ने सन्दर्भमा उहाँको आआफ्नै व्याख्या थियो, तर यो पटक सभापति होइन भन्नुभयो । मैले यसको पनि सम्मान गरेको हुँ ।

यो बीचमा पार्टीका धेरै कार्यक्रम र सभाहरुमा गएँ, जसबाट अधिवेशनमा के गर्नुपर्छ भन्ने मोटामोटी अनुमान लगाउन सक्ने भएको छु । यसरी हेर्दा यो पटक महामन्त्रीकै लागि प्रतिस्पर्धा गर्दा उपयुक्त हुन्छ भन्ने लाग्यो । त्यही अनुसार नेताहरु, साथीभाइसँग कुराकानी पनि गरिरहेको छु, हिजो मनको कुरा गरें ।

हिजो कृष्णप्रसाद सिटौला समूहमा हुनुहुन्थ्याे, पछिल्लो पटक संस्थापनइतर समूहमा सक्रिय रहनुभयो । अब महाधिवेशनमा महामन्त्रीको उम्मेदवार चाहिं कुन समूहबाट हुने ?

म नेता कृष्णप्रसाद सिटौलाको समूहबाट १३ औं महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएको थिएँ, त्यसयता उहाँसँग एउटै टीममा रहेर काम गरिरहेको छु । यो पटक मैले मेरो टुंगो गरें, महामन्त्री लड्छु । तर सामूहिक रुपमा कसरी जाने भन्ने निर्णय गर्दा स्वाभाविक रुपमा उहाँसँग पनि सल्लाह हुन्छ ।

चन्द्र भण्डारी, दीपक गिरी लगायतका १५/१६ जना साथीहरु साझा विचार बनाएर काम गरिरहेका छौं । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइरालाहरु पनि हुनुहुन्छ ।

म महामन्त्रीको आकांक्षी भए जस्तै उहाँहरु पनि सभापतिका आकांक्षी हुनुहुन्छ । मलाई के विश्वास छ भने हामी सबै एउटै ठाउँमा हुन्छौं । जिल्ला अधिवेशनहरु सकिएपछि फलानो सभापति, फलानो फलानो मिलेर लड्ने भन्ने आउँछ । त्यसरी समूह बन्दा महामन्त्री मेरो ठाउँ हो भन्ने मेरो दाबी हो ।

पार्टी सभापति  शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवार हुनुहुन्छ । त्यतातिर चाहिं तपाईं महामन्त्रीको उम्मेदवार बन्ने सम्भावना छैन ?

पार्टीको आदरणीय नेता निधिले सभापतिमा लड्ने जुन सोचाइ राख्नुभयो, त्यसलाई म सम्मान गर्छु । मैले त अघिल्लो पटक नै उहाँहरु प्रतिस्पर्धामा आउनुपर्छ भन्ने मान्यता राखेको थिएँ । किनकि, बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्था भएको राजनीतिमा २० औं वर्ष एउटै नेता सान्दर्भिक हुँदैहुँदैन । त्यो चामत्कारिक नेतृत्वमा मात्रै सम्भव हुन्छ । त्यसैले विमल दाइले सभापतिका लागि तयारी अगाडि बढाउनुभएको छ, त्यसमा मेरो सद्भाव छ । सम्वाद पनि भइरहेको छ ।

पार्टी सभापतिसँग यसबारे खास छलफल भएको छैन । मेरो व्यक्तिगत राय सोध्नुहुन्छ भने उहाँले १६–१७ महीना सरकारको नेतृत्व गर्नुछ । एउटै जिम्मेवारीमा यति गाह्रो भइरहेको बेला उहाँले ‘ग्रेसफूल एक्जिट’को बाटो रोज्नुपर्छ भन्ने मत राख्छु ।

तीन तहको निर्वाचन गर्नुछ । यस्तो अवस्थामा उहाँले ‘म सरकार सञ्चालनमा केन्द्रित हुन्छु र पार्टीमा अरु साथीहरु आउनुस्, मेरो सहयोग रहन्छ, पार्टीले सरकारलाई सहयोग गरोस्’ भन्नु उपयुक्त होला ।

ग्रेसफूल एक्जिट’ नरोजेको अवस्थामा चाहिं तपाईं उहाँको टिमबाट महामन्त्री लड्ने सम्भावना ?

उहाँ मेरो सभापति हो । १६/१७ महीना प्रधानमन्त्री पनि बन्ने भएकाले उहाँको शुभेच्छा, सदिच्छा र सद्भावको अपेक्षा हुन्छ । तर उहाँको जुन समूह छ, त्यहाँ म अट्ने–नअट्ने भन्दा सभापतिज्यू सरकार सञ्चालनमा लाग्न र पार्टीमा अरुलाई ल्याउनुपर्छ भनेर बढी प्रयत्न गर्छु । उहाँबाट पनि त्यही अपेक्षा गर्छु ।

संस्थापनइतरकै कुरा गर्दा महामन्त्री भन्दा सभापतिका आकांक्षी धेरै देखिएका छन् । तपाईंले महामन्त्रीको उम्मेदवारी घोषणा गर्दा उहाँहरुलाई दबाब पर्दैन ?

संस्थापनइतर समूहबाट सभापतिका जति आकांक्षी हुनुहुन्छ, उहाँहरु एउटा निर्णयमा पुग्नुहुन्छ भन्ने विश्वास छ । भएन भने नेतृत्व चयनको प्रक्रिया फरक हुनसक्छ । त्यो भनेको पदाधिकारीका उम्मेदवारहरुले नेतृत्व छान्ने अवस्था आउन सक्छ । किनकि हामी एउटा सभापतिसँग जोडिने बित्तिकै हाम्रो नेतृत्व उही हुन्छ ।

यसपटक नेतृत्व गर्छु भन्नेलाई सजिलो पनि छैन । किनकि दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, १५० भन्दा बढी केन्द्रीय सदस्यको टीम बनाउनुपर्नेछ । जसले यो टीम बनाउन सक्यो, उही सभापतिको बलियो उम्मेदवार हो । यद्यपि हाम्रो कोशिश अहिले पनि नेताहरुले नै सहमति गरुन् भन्ने हो ।

उहाँहरुले सहमति गर्नु भएन भने चाहिं तपाईंहरुले पदाधिकारीको उम्मेदवार टुंगो लगाएर हाम्रो सभापतिको उम्मेदवार फलानो हो भन्ने अवस्था आउला र ?

हामीहरुबीच छलफल भइरहेको छ । नेतृत्वका आकांक्षीहरुबीच छलफल भइरहेको छ । उहाँहरुले सहमति गर्नुभयो भने राम्रो । मानौं, शेरबहादुर दाइ, रामचन्द्र दाइ र कृष्ण दाइले हामी अघिल्लो पटक प्रतिस्पर्धा गर्‍यौं, अब लड्दैनौं भन्नुभयो भने नयाँ खालको ध्रुवीकरण होला । त्यतिबेला तीन–चार जना सभापतिको उम्मेदवार बन्नुहोला । होइन भने कि नेतृत्वका आकांक्षीले आफूहरु बसेर एउटा उम्मेदवार तय गर्नुपर्‍यो, नभए हामीले छान्नुपर्ने अवस्था आउनसक्छ ।

कतिपयको मत चाहिं युवापुस्ताले हस्तक्षेप गर्नुपर्छ भन्ने थियो । तपाईंहरुलाई चाहिं त्यो आवश्यक लागेन ?

मैले आवश्यक नठानेको होइन । अघिल्लो पटक महामन्त्री लडेपछि जीत–हार नहेरी सभापतिको तयारी गर्ने सोच बनाएकै हो । साथीहरुसँग छलफल गरेको गरेको पनि हुँ ।

तर पार्टीको आफ्नो संरचना छ । म यसलाई बदल्न चाहन्छु, तर जबसम्म बदलिंदैन, तबसम्म अहिलेको जस्तो क्रियाशील सदस्य छानिन्छ, उनीहरुमध्ये केही हजार महाधिवेशन प्रतिनिधि हुन्छन् । यसरी हुने महाधिवेशन प्रतिनिधि चाहिं अहिले नै हामीलाई सभापतिको जिम्मा दिन तयार भएन । यो अवस्थामा हामीले विद्रोह गर्‍यौं, सभापतिमै लड्यौं भने पनि केही सय मत त बढ्ला, तर हामी फेरि अर्को पाँच वर्ष पार्टीको निर्णय गर्ने ठाउँमा पुग्न सक्दैनौं । त्यहाँ चाहिं बुढा दाइहरु नै रहनु हुनेभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइरालाहरु पनि हुनुहुन्छ । म महामन्त्रीको आकांक्षी भए जस्तै उहाँहरु पनि सभापतिका आकांक्षी हुनुहुन्छ । मलाई के विश्वास छ भने हामी सबै एउटै ठाउँमा हुन्छौं ।

भनेको, सभापति जित्ने सम्भावना कम देख्नुभयो ?

एकदमै कम रह्यो । झट्ट हेर्दा हारसँग किन डराउने ? भन्ने होला । तर यो डरको कुरा होइन । अर्काे पाँच वर्ष पार्टीभित्र हस्तक्षेप गर्ने ठाउँमा हाम्रो प्रतिनिधित्व नहुने भयो ।

हामीसँग दुई विकल्प छ, प्रतिस्पर्धामा उत्रिएर हामी छौं है भनेर हल्लाउने र पाँच वर्ष कुर्ने कि पाँच वर्षमै जिम्मेवारीमा पुगेर जिम्मा पनि लिने ? मलाई दोस्रो बाटो उचित लाग्यो । किनकि पटकपटक प्रतिस्पर्धा गर्ने र परिणाम दिन नसक्ने हो भने पार्टीभित्र र बाहिरका ठूलो संख्यामा रहेका नवजवानको पंक्तिमा यिनीहरुले पनि केही गर्न सकेनन् भनेर निराशा उत्पन्न हुनसक्छ ।

व्यक्तिगत रुपमा हाम्रा लागि पहिलो बाटो सजिलो हो । लडिलियो, जिम्मा पाउँदैनौं । त्यसपछि बाहिर बस्यो, हामी भएको भए यस्तो गर्थ्याैं भन्यो । अहिले सरकार चलाउन गए जस्तै हो नि । हिजो सरकार बाहिर हुँदा ‘यो गरेन, त्यो गरेन’ भन्न सजिलो थियो । आज सरकारमा गएपछि गाह्रो शुरु भइसक्यो । महामन्त्री भएको दिनबाट त मैले पार्टीमा यत्रो वर्ष यो भएन, त्यो भएन, यस्तो गर्नुपर्छ, त्यस्तो गर्नुपर्छ भनेको सबै सकिन्छ । र, काम गरेर देखाउनुपर्छ ।

हुन त कांग्रेसमा विचारको बहस कम हुन्छ, तथापि महामन्त्रीका रुपमा तपाईंको एजेण्डा के ?

एउटा महामन्त्रीका रुपमा पार्टीलाई कतातिर लिएर जाने भन्ने सन्दर्भमा म कसरी सोच्छु भने नेपाली कांग्रेस स्थापना गर्दैगर्दा त्यतिबेलाका ३०–३२ वर्षका नवजवानहरुले यो पार्टी बनाए । केही सयको संख्यामा पार्टी सदस्य थिए । पार्टीसँग न पैसा थियो, न भौतिक संरचना । लाभको पदमा पुगिन्छ भन्ने सोच पनि थिएन । पार्टी भनेकै आन्दोलन थियो, तै पनि पार्टीमा जोडिनु गौरवको विषय थियो ।

आज हामीसँग पार्टी संरचना छ, लाखौं नेता कार्यकर्ता छन् । सरकारमा गएको अनुभव छ, लाभको पद छ । तर तुलना गरेर हेर्ने हो भने आजभन्दा ७० वर्षअघिको कांग्रेस कति चम्किलो थियो, उज्यालो थियो, आशा अनि भरोसा थियो । हरेक सामाजिक आन्दोलनको अग्रणी संस्था थियो । आज प्राविधिक रुपमा हामीसँग बहुमत होला, सरकार होला, तर हिजोको जस्तो उज्यालो कांग्रेस छैन ।

म महामन्त्रीका रुपमा कांग्रेसलाई अहिलेको समय, परिस्थिति र मुद्दाहरुमा ७० वर्षअघिको जस्तो चम्किलो, आशा भरोसा गर्न सक्ने पार्टीको परिचय बोकेको होस् भन्न चाहन्छु  । प्रश्न गर्ने होइन, समाधान दिन सक्ने होस् । नेपालको हरेक सामाजिक आन्दोलनको अगुवा बनोस् । दलको नेता होइन, समाजको नेता बन्न सकोस् भन्ने चाहन्छु । संविधानले गरेका वाचा पूरा गर्ने मिसन होस् भन्न चाहन्छु ।

मिसन भएर मात्र पनि पुग्दैन, क्षमता चाहिन्छ । विधान हेर्नुस् त, प्रतिवेदन लैजाने, प्रस्ताव तयार पर्ने, बैठकको निर्णय कार्यान्वयन गर्ने, व्यवस्थापन गर्ने काम महामन्त्रीको हो । प्रस्ताव लैजाने भनेको विचार निर्माणसँग जोडिएको छ, बैठकको निर्णय कार्यान्वयन गर्ने भनेको पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने हो ।

पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्नु यसकारण पनि महत्वपूर्ण छ कि नेकपाको झगडा हेर्नुस्, २०४८ को बहुमत थेग्न नसक्नुको कारण हेर्नुस्, यससँगै जोडिएको छ । जिम्मेवारीमा बसेकाहरुले अन्तरपार्टी लोकतन्त्रको अभ्यास गर्ने, न्याय गर्ने, विवेक नपुर्‍याउने हो भने पार्टीले बहुमत थेग्न नसक्ने रहेछ ।

देशभर जाँदा पनि साथीहरुले यसपटक पार्टीको महामन्त्रीका रुपमा काम गर भनेर सुझाव दिनुभएको छ । कसैले पनि ‘तेरो बेला भएको छैन, हामी सहयोग गर्दैनौं’ भन्नुभएको छैन । त्यसैले यो पटक कम दबाबमा छु र, साथीहरुसँगको भेटघाटले निकै ‘कन्फिडेन्ट’ पनि दिएको छ ।

हाम्रो पार्टी जनताले विश्वास गरेर सरकारमा पुर्‍याएको छ, तर कार्य सम्पादनका आधारमा पुन: निर्वाचित हुने अवस्था बनेको छैन । यसको चुरो पार्टी सञ्चालनमै जोडिन्छ ।

पार्टीको महामन्त्रीले लाखौं कार्यकर्तालाई सामाजिक अभियानसँग जोड्ने र जिम्मेवारी पाउँदा उच्च नैतिकताका साथ कार्य सम्पादन गर्ने बनाइराख्नुपर्छ । कोही वडाध्यक्ष होला, कोही मेयर होला, कोही सांसद होला, कोही मन्त्री होला, कोही प्रधानमन्त्री होला । तर वडाध्यक्षदेखि प्रधानमन्त्री हुनेले काम गर्न सक्दैन । किनभने पार्टीमा २०/२५/३० वर्ष लाग्यो, तर जिम्मेवारीका लागि तयार गरिएन । मलाई यसमा काम गर्ने इच्छा छ, वर्षौंदेखि सोचेको छु र योजना बनाएको छु ।

यसको अर्थ चाहिं अहिलेसम्म जो–जो महामन्त्री भए, उनीहरुले त्यसअनुसार काम गर्न सकेनन् भन्ने हो ?

महामन्त्री भनेको संगठन परिचालक पनि हो । म पार्टीमा नयाँ सदस्यहरु थप्न चाहन्छु, नवजवान साथीहरु थप्न चाहन्छु । अहिले पनि कोशिश गरिरहेको छु, तर यसको प्रभाव सीमान्तकृत मात्रै छ । किनभने उसले मलाई गनगन गरिरहेको मात्र देख्छ । भोलि महामन्त्री भएँ भने पार्टीको जिम्मा लिएर भन्न सक्छु ।

अर्को, विधानमै पार्टी महामन्त्रीका तोकिएका जिम्मेवारीहरु छन्, म त्यो भूमिकालाई न्याय गर्न चाहन्छु । चार–पाँच वर्षपछि महामन्त्रीको जिम्मेवारी सकेर आउँदा हिजो आन्दोलनमा के गरेको थिएँ, हिजो सरकारमा बस्दा के गरें होइन, महामन्त्रीका रुपमा मैले यो यो काम गरें, यसका आधारमा मेरो मूल्यांकन गर्नुस् भनेर साथीहरुको बीचमा उभिन चाहन्छु । र, यो मेरा लागि ठूलो परीक्षा हो ।

तर कांग्रेसको विगतको अभ्यास हेर्ने हो भने नेतृत्व फरक समूहबाट आयो भने महामन्त्रीले चाहेर मात्रै पनि काम गर्न कठिन देखिन्न ?

यो पटक कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित हुन्छन् र सबैको जिम्मेवारी विधानमै तोकिएको छ । सभापति मुख्य नेतृत्व हो, तर सभापतिको पनि सीमा हुन्छ । उपसभापति पनि निर्वाचित हो, महामन्त्री पनि निर्वाचित हो, सहमहामन्त्री पनि निर्वाचित हो । त्यसैले हामी सामूहिक नेतृत्वमा गइसक्यौं ।

म त फेरि पनि विधान समात्ने हो । हाम्रो पार्टी यस्तो भएको विधान नमानेर नै हो, सभापतिले पनि नमान्नु भएको हो, मैले पनि नमानेको हो, अरुले पनि नमानेको हो । हामी सबैलाई के लाग्यो भने पार्टी भनेको आफैंमा राजनीतिक संगठन हो, यो राजनीतिले चल्छ । विधान त अप्ठ्यारो परेको बेला पढ्ने हो । देशको राजनीति चाहिं संविधानले निर्दिष्ट गरेअनुसार हुनुपर्ने, पार्टी चाहिं विधान अनुसार चल्न नपर्ने ! यसले गर्दा समस्या आएको हो ।

म पार्टीको महामन्त्री भएँ भने विधानलाई मन्त्र जस्तै समाउँछु । त्यसका लागि सभापति भन्दा महत्वपूर्ण भूमिका महामन्त्रीको हुन्छ । किनकि सभापति भनेको राजनीतिक नेता पनि हो, उसले बारम्बार विधान उल्लंघन गर्न खोज्छ ।  सभापतिलाई सहयोग पनि गर्ने, विधानभन्दा बाहिर पनि जान नदिने महामन्त्रीको धर्म हो । म त्यो काममा खरो रुपमा उत्रिन चाहन्छु ।

अघिल्लो पटक महामन्त्री लड्दा ससुराबुवा र बीपी पुत्र प्रतिस्पर्धामा हुनुहुन्थ्यो । यो पटक चाहिं मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, विश्वप्रकाश शर्माहरुसँग प्रतिस्पर्धा हुने सम्भावना छ । पहिले कि अहिले बढी दबाब महसूस भएको छ ?

अघिल्लो पटक चाहिं वैयक्तिक, तर मेरा लागि धेरै ठूलो दबाब थियो । मेरो आफ्नो ससुराबुवासँग प्रतिस्पर्धा थियो, जुन पारिवारिक रुपमा मलाई निकै अप्ठ्यारो थियो । अर्कोतिर बीपी कोइरालाको पुत्र, शालीन व्यक्तित्व हुनुहुन्थ्यो । बीपीको छोरा, आफ्नै बुवासँग चुनाव लडेको भन्ने दबाब थियो । मलाई अहिले पनि याद छ, मतदानका लागि लाइनमा बसेका धेरैले गालामा मुसार्दै बाबु पार्टीलाई चाहिने मान्छे हो, तर यो पटक धेरै हतार गर्‍यौ भन्नुभएको छ ।

अहिले सबैप्रति मेरो सम्मान छ, तर मैले कोहीसँग प्रतिस्पर्धा भन्दा पनि आफूले आफैंलाई प्रस्तुत गर्ने हो । देशभर जाँदा पनि साथीहरुले यसपटक पार्टीको महामन्त्रीका रुपमा काम गर भनेर सुझाव दिनुभएको छ । कसैले पनि ‘तेरो बेला भएको छैन, हामी सहयोग गर्दैनौं’ भन्नुभएको छैन । त्यसैले यो पटक कम दबाबमा छु र, साथीहरुसँगको भेटघाटले निकै ‘कन्फिडेन्ट’ पनि दिएको छ ।

महाधिवेशनमा जित्न चाहिं लोकप्रियता भन्दा बलियो गुट चाहिन्छ भन्छन् नि ?

दुईवटै कुरा महत्वपूर्ण हो । १३औं महाधिवेशनको परिणाम हेर्दा सभापति एउटा समूहबाट चुनिनुभएको छ, महामन्त्री र कोषाध्यक्ष अर्को समूहबाट । केन्द्रीय सदस्यहरु विभिन्न समूहबाट आउनुभएको छ । त्यसैले व्यक्ति, व्यक्तित्वको अर्थ रहन्छ । तर हाम्रो पार्टीमा वडा तहबाटै प्रतिस्पर्धा मार्फत छानिने भएकाले समूहहरु बन्ने र समूहबाट आधार खोज्नु स्वाभाविक हुने रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?