Comments Add Comment

साताको सेयर बजार : आत्तिएका लगानीकर्ता उत्साहित

१७ साउन, काठमाडौं । पछिल्लो साता सेयर बजारमा ‘चमक’ देखिएको छ । साताको एक दिन झिनो अंकले सेयर कारोबार मापनमा नेप्से परिसूचक घटे पनिअधिकांश दिन बढ्यो । पछिल्लो २ सातायता नेप्से परिसूचक बढेर सेयर बजारमा पटक-पटक नयाँ रेकर्ड कायम भएको छ ।

साताको पहिलो दिन आइतबार नै नेप्से परिसूचक तीन हजार ५९ अंकमा पुगेर उच्च विन्दु क्रस गर्‍यो । त्यसको भोलिपल्ट झिनो अंकले घटेको नेप्से परिसूचक मंगलबार तीन हजार ८० पुगेर नयाँ रेकर्ड बन्यो । नयाँ रेकर्ड बन्ने क्रम बुधबार पनि जारी नै रहृयो ।

सक्रिय लगानीकर्ता नयन बास्तोला पछिल्लो समय सेयर लगानीकर्ताहरुका लागि उत्साह थपिएको बताउँछन् । बजारको घटबढलाई सामान्य रुपमा लिनु पर्ने भए पनि केही समयअघि बजार धेरै घट्दा लगानीकर्ताहरु आत्तिएका थिए । तर अहिले लगानीकर्ताहरुमा पुनःउत्साह देखिएको उनी बताउँछिन् ।

०००

बुधबार नेप्से परिसूचक तीन हजार ९५ अंकमा पुगेर ऐतिहासिक उचाइ कायम गर्‍यो । यो हालसम्मकै उच्चविन्दु हो । बिहीबार भने नेप्से परिसूचक घटेर तीन हजार ८० अंकमा झरेर बन्द भएको छ । गत जेठ मसान्तसम्म पनि सेयर बजारमा उत्साह देखिएको थियो । समग्रमा बजार बढ्नु राम्रै भए पनि केही कम्पनीहरुको अस्वभाविक मूल्य बढेको भन्दै बोर्डले बजारको विषयमा विशेष अध्ययन नै गर्‍यो ।

बोर्डले अध्ययनको प्रारम्भिक रिपोर्ट भन्दै ५१ कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेको भन्दै कम्पनीको नामै तोकेर लगानीकर्ताहरुले सचेत भएर लगानी गर्न आग्रह गर्‍यो । जेठ अन्तिम साता सेयर कारोबार मापन नेप्से परिसूचकले तीन हजार माथि पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । नेप्से परिसूचकसँगै दैनिक २० अर्ब रुपैयाँको कारोबार भएर सेयर कारोबार रकमका साथै कारोबार संख्याले समेत रेकर्ड राखेको थियो ।

बोर्डले ५१ वटा कम्पनीको नाम नै तोकेर लगानीका लागि जोखिमयुक्त भने पछि भने बजारको अवस्था फरक रहृयो । बोर्डले १ असारमा यस्तो विज्ञप्ति जारी गरेको थियो, त्यसको भोलि पल्ट सोमबार नेप्से परिसूचक ५१ अंकले घट्यो ।

जोखिमयुक्त भनिएका मात्रै होइन राम्रा मानिएका कम्पनीहरुको पनि सेयर मूल्य त्यपछि लगातार घट्यो । बोर्डको विज्ञप्तिको असर निकै लामो समयसम्म टिक्न भने सकेन । नीति निर्माण तहमा राजनीतिक परिवर्तनले ठूलो असर गर्छ । असार अन्तिम साता नेकपा एमाले नेतृत्वको सरकार परिवर्तन भएर नेपाली कांग्रेस नेतृत्वको सरकार बनेको छ । पुुँजी बजारको तालुक मन्त्रालय अर्थको जिम्मा माओवादी नेता जनार्दन शर्माले पाएका छन् ।

असार अन्तिममा भएको सरकार परिवर्तनपछि भने सेयर बजारमा पुनः चकम देखिन सुरु गर्‍यो । नेप्से परिसूचक घटेर दुई हजार ८ सय नजिक झरे पनि अहिले पुनः तीन हजार एक सय नजिक पुग्न लागेको छ । कारोबार रकममा खासै उत्साह नदेखिए पनि औसतमा राम्रै देखिएको छ । गत बिहीबार करीब ११ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो ।

बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै हरियाली

पछिल्लो सातामा नेप्से परिसूचक २.०६ प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने १२ वटा समूहृगत सबइन्डेक्समध्ये दुई वटा झिनो अंकले घटेका छन् । दुईवटा सबइन्डेक्सहरु बैंकिङ १.१६ प्रतिशत र म्युचुअल फण्ड २.८२ प्रतिशतले घट्दा बाँकी सबै समूहगत सबइन्डेक्सहरु बढेका छन् ।

सबैभन्दा धेरै बढ्नेमा होटल तथापर्यटन समूह देखिएको छ । यो समूहको सबइन्डेक्स ७.८६ प्रतिशतले बढेको छ । ६.६२ प्रतिशतले बढेर दोस्रोमा जलविद्युत् समूह देखिएको छ भने धेरै बढ्ने तेस्रोमा देखिएको फाइनान्स समूह ५.८९ प्रतिशतले बढेको छ ।

यसैगरी उत्पादनमूलक समूह ५६.८८ प्रतिशत, लगानी ४.५१ प्रतिशत, जीवन बिमा ४.१०, निर्जीवन बिमा ४ प्रतिशत, अन्य ३.०१, विकास बैंक २.३२, माइक्रोफाइनान्स १.८० र व्यापार समूह १.७७ प्रतिशतले बढेको छ ।

युनाइट मोदी कारोबारमा पहिलो

साताभरमा धेरै सेयर कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ । यस कम्पनीको एक अर्ब ४६ करोड ८९ लाख ८६ हजार ४७० रुपैयाँको सेयर कारोबार भएको छ । सेयर कारोबार रकमका आधारमा दोस्रो नम्बरमा नेसनल हाइड्रो र तेस्रो नम्बरमा एनआईसी एशिया बैंक देखिएको छ ।

नेशनल हाइड्रोको सातामा एक अर्ब ४६ करोड ७४ लाख ६८ हजार १८ रुपैयाँको सेयर कारोबार भएको छ भने एनआईसी एसियाको एक अर्ब ३९ करोड ७९ लाख २० हजार १७५ रुपैयाँको सेयर कारोबार भएको छ ।

३० प्रतिशतभन्दा धेरैले मूल्य बढ्यो

यस साता रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले ३० प्रतिशतभन्दा धेरै कमाएका छन् । धेरै कमाउने कम्पनीको सूचीहरुमा पहिलो नम्बरमा देखिएको रिडीको सेयर मूल्यप्रतिकित्ता ५६० रुपैयाँबाट सुरु भएर साताको अन्तिमसम्म यस कम्पनीको सेयर मूल्य ७२९ रुपैयाँ पुगेको छ । सातामा रिडीको ३०.१८ प्रतिशतले सेयर मूल्य बढेको हो ।

दोस्रो नम्बरमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४९४ बाट करिब २७ प्रतिशतले बढेर सातामा ६२७ रुपैयाँ पुगेको छ । तेस्रोमा नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य धेरै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment