Comments Add Comment

जूम र गुगल मिट : तपाईंका लागि कुन उपयुक्त ?

कोरोना भाइरस (कोभिड-१९) को महामारी शुरु भएसँगै विश्वभर नै भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरुको प्रयोग ह्वात्तै बढ्यो । जूम, गुगल मिट तथा माइक्रोसफ्ट टिम लगायतका भिडियो कन्फ्रेन्सिङ प्लाटर्फमका प्रयोगकर्ताको संख्या नाटकीय रुपमा आकाशियो । महामारीका कारण विश्वका अधिकांस कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्ने अर्थात् वर्क फ्रमहोमको व्यवस्था लागू गर्दा भर्चुअल मिटिङहरुका लागि यी प्लाटर्फमहरु अनिवार्य नै बनेका छन् ।

हाल ३० करोड दैनिक प्रयोगकर्ता रहेको जूम सबैभन्दा लोकप्रिय भिडियो कन्फ्रेन्सिङ प्लाटर्फम हो जसको बजार हिस्सा ४८ प्रतिशत भन्दा धेरै छ । त्यस्तै दोश्रो लोकपि्रय भिडियो कन्फ्रेन्सिङ प्लाटर्फमाको रुपमा गुगल मिट रहेकेा छ । यसको बजा हिस्सा २१.८ प्रतिशत रहेको छ । फिचर र प्रयोगका हिसाबले चाहीँ प्रमुख प्रतिस्पर्धी यी  दुई एपहरु करिब-करिब उस्तै छन् ।

विद्यालय तथा कार्यक्षेत्रहरुमा जूम र गुगल मिटमध्ये कुन प्लाटर्फम प्रयोग गर्ने भन्ने द्धिविधामा हुनुहुन्छ भने दुबै प्लाटर्फमका विशेषताहरुको बारेमा थाहा पाउनु आवश्यक हुन्छ ।

सानो र छोटो मिटिङको लागि गुगल मिट

वास्तवमा गुगल मिट र जुम दुवैले एक सय जना सहभागी सम्मको भिडियो कन्फ्रेन्सिङ सिमित समयका लागि निःशुल्क प्रदान गर्छन् । जूममा निशुल्क रुपमै अधिकतम १ सय जनाले एक पटकमा ४० मिनेटसम्म भिडियो कन्फ्रेन्सिङ गर्न सक्दछन् भने गुगल मिटमा यस्तो निशुल्क समयावधि ६० मिनेटको रहेको छ ।

तर यस्तो निशुल्क संस्करणमा तपाइँले जूम र गुगल मिटका सबै फिचरहरु प्रयोग गर्न पाउनु हुँदैन जस्तै मिटिङ रेकर्ड गर्ने इत्यादि । त्यसका लागि यी प्लाटर्फमको पूर्ण प्याकेज खरीद गर्नुपर्ने हुन्छ । गुगल मिटको सशुल्क भर्सनमा एकसाथ २ सय ५० जना जोडिन सक्दछन् भने जूममा ५ सय जनासम्म जोडिन सक्दछन्, जसलाई थप शुल्क तिरेर १ हजार जनासम्म पूराउन सकिन्छ ।

वास्तवमा गुगल मिटले दिएको सुविधा छोटो मिटिङको लागि उपयुक्त हुन्छ । यसको प्रयोगको लागि कुनै एप इन्स्टल गरिराख्नु पर्दैन । गुगल मिट वेबसाइटमा जानुहोस् र गुगल एकाउन्टमा साइन इन गर्नुहोस् । त्यसपछि एक क्लिकमा तपाइँले भिडियो कल गर्न सक्नुहुन्छ । त्यसपछि तपाइँले उक्त मिटिङमा जोडिने सहभागीहरुलाई लिंक पठाउनुहोस् । यो लिंकबाट उनीहरुले पनि गुगल एकाउन्टमा लग इन गरेर मिटिङमा जोडिन सक्छन् ।

तपाईँले आफ्नो स्क्रिन शेयर गर्ने, ले आउट चेन्ज गर्ने, सहभागीहरुलाई म्युट गराउने र च्याट एरियामा टेक्स्ट वा डकुमेन्ट्स शेयर गर्नेजस्ता काम गर्न सक्नुहुन्छ ।

यदि तपाईँ मासिक न्यूनतम डलर शुल्क बुझाउने गरी जी सुट सस्क्राइबर बन्नु भएको हो भने यसमा थप केही सुविधा पाउन सकिन्छ । जसमा मिटिङ रेकर्डिङ, एक लाखसम्मका भ्युअर्सको लागि लाइभ स्टि्रमिङ र २५० जनासम्म सहभागी हुन पाउँछन् ।

यदि तपाईँलाई छरितो, १०।१५ जनासम्मको सानो समूहभित्र गोप्य रुपमा र छोटो समयको छलफलका लागि भर्चुअल प्लाटर्फम चाहिएको हो  भने गुगल मिटको प्रयोग राम्रो हुन्छ । सहभागीको संख्या केही बढि हुनेवाला छ र छलफल पनि अलिक खुल्ला हुनेवाला छ भने जूम सहज हुनसक्दछ ।

ठूलो मिटिङको लागि जूम उपयुक्त

कुनै पनि सेवा लोकप्रिय बन्दै गएपछि यसको नामैले ठूलो अर्थ दिन थाल्छ अर्थात् समग्र सर्भिसका लागि एउटा नाम नै पर्यावाची बन्न थाल्दछ । उदाहरणको लागि मानिसहरुले अचेल ‘सर्च गर्ने’ भन्नुको सट्टा ‘गुगल गर्ने’ पनि भन्छन् । त्यस्तै मानक जूमले पनि स्थापित गरिसकेको छ । अहिले वास्तवमा अनलाइन मिटिङ भन्ने बित्तिकै जूम गर्ने भन्ने बुझ्न थालिएको छ ।

जुमले कोरोना भाइरसको महामारीमा हाम्रो व्यावसायिक र व्यक्तिगत जीवनमा निकै महत्वपूर्ण भूमिका खेलेकोमा दुईमत नहोला । धेरै जनाको मिटिङको लागि उपयुक्त हुने जुममा धेरै फिचरहरु पनि छन् र यसको निःशुल्क प्लान पनि छ । यसको निःशुल्क प्लानमा एक सयजना मानिस सहभागी हुन पाउँछन् । यद्यपि मिटिङ ४० मिनेटभन्दा धेरै समयको भने हुँदैन ।

निःशुल्क प्लानमा सहभागीलाई म्युट गर्न सक्ने, च्याट गर्ने, डकुमेन्ट वा आफ्नो स्क्रिन शेयर गर्ने, एचडी भिडियो कल गर्ने भर्चुअल ब्याकग्राउण्डको प्रयोग गर्ने, इमोजी पठाउनेजस्ता धेरै काम गर्न सकिन्छ ।

जुमको विशिष्ट प्लानको लागि भने १५ देखि २० डलर मासिक बुझाउनुपर्छ । शुल्कका हिसाबले जूम गुगल मिटभन्दा केही महंगो नै देखिन्छ । यो प्लानमा मिटिङको टाइम लिमिट ३० घण्टाको हुन्छ र मिटिङ कन्ट्रोलको विशिष्ट सुविधाहरु हुन्छ । जूम तथा वेब दुबै भर्सनमा चलाउन सकिन्छ । यद्यपि गुगल मिटमा यस्तो अधिकतम समयसीमा २४ घण्टासम्मको रहेको छ । जूम र गुगल मिट विन्डोज, म्याक, एन्ड्रोइड तथा आइओएस सबै प्लाटर्फममा उपलब्ध छन् ।

यद्यपि जुमको बारेमा सुरक्षासम्बन्धी प्रश्नहरु उठ्ने गरेका छन् र जूम मिटिंगमा अनधिकृत व्यक्ति छिर्ने जूम बम्बार्डिंगका घटना पनि हुने गरेका छन् । तरपनि जूमले प्लाटर्फममा सुरक्षित र भरपर्दो बनाउनका लागि मेहेनत गरिरहेको बताउने गरेको छ । मानिसहरु पनि जूमको प्रयोग अन्य प्लाटर्फम भन्दा सहज रुपमा गरिरहेका छन् ।

उत्कृष्ट फिचरका लागि जूम

गुगल मिटमा नभएका कतिपय फिचरहरु जूममा छन् । कतिपय फिचरहरु गुगल मिटमै भएपनि जूममा उत्कृष्ट छन् ।  जूममा उपलब्ध उत्कृष्ट फिचरहरुमध्ये केही यस्ता छन्ः

    • रेकर्डिङः तपाईँले आफ्नो मिटिङ कम्प्युटरमा रेकर्ड गर्न सक्नुहुन्छ । सशुल्क जूम लिनुभएको छ भने क्लाउडमा रेकर्ड गर्ने सुविधा पनि यसमा छ । गुगल मिटमा जी सुट सस्क्राइबरका लागि मात्र मिटिङ रेकर्ड गर्ने सुविधा छ ।
    • भर्चुअल ब्याकग्राउण्डः जुममा ब्याकग्राउण्ड ब्लर गर्नेदेखि फोटो वा भिडियो ब्याकग्राउण्डको रुपमा राख्ने सुविधा छ । गुगल मिटमा यो सुविधा छैन ।
    • ह्वाइटबोर्डः जुममा भर्चुअल ह्वाइटबोर्ड पनि प्रयोग गर्न सकिन्छ । गुगल मिटमा गुगल जामबोर्ड भन्ने यस्तै किसिमको फिचर उपलब्ध छ ।
    • ग्यालरी भ्युः तपाइँले जुममा ४९ सहभागीलाई हेर्न सक्नुहुन्छ । गुगल मिटमा भने केवल १६ जना सहभागीलाई मात्र हेर्न सकिन्छ ।
    • अन्तक्रिर्याः जुममा हात उठाउने र इमोजी पठाउनेजस्ता फिचरहरु हुन्छ जबकि गुगल मिटमा हात उठाउने फिचर थपिएको भएपनि इमोजी पठाउने फिचरउपलब्ध छैन ।

गुगल मिट सस्तो र सुरक्षित

जूमको निशुल्क संस्करणमा रहेको ४० मिनेटको समयसीमा कतिपय मिटिङका लागि निकै कम हुन सक्दछ । यस्तोमा १ घण्टे निशुल्क सेवाका लागि गुगल मिट रोजाइमा पर्दछ ।  सशुल्क खरीदका लागि पनि गुगल मिटभन्दा जूम महंगो छ । गुगल मिटको शुल्क प्रति प्रयोगकर्ता ६ देखि १८ डलरसम्म छ भने जूमको शुल्क प्रति लाइसेन्स १५ देखि २० डलरसम्म पर्दछ ।

तपाईँलाई सजिलो किसिमको सेवा चाहिएको छ भने पनि गुगल मिट राम्रो हुन्छ । गुगल मिटमा गुगलका अन्य सर्भिसहरु पनि इन्टिग्रेट गर्न सकिने भएकोले नितान्त भिडियो मिटिंग बाहेकको कार्यात्मक भिडियो कन्फ्रेन्सिङका लागि गुगल मिट उपयुक्त हुन्छ । गुगल मिटमा गुगल क्यालेन्डरलाई जोड्न सकिनुका साथै गुगल डक्स, स्लाइड तथा सिट स्किनमा शेयर गर्न सकिन्छ । साथै जूमको तुलनामा प्रयोगकर्ताका डाटा सुरक्षाको हिसाबले पनि गुगल मिटलाई नै उपयुक्त मानिन्छ ।

अतः वास्तवमा यदि भिडियो कन्फ्रेन्सिङको फिचरहरु मात्रैको तुलना गर्नेहो भने गुगल मिटभन्दा जूम नै केही अगाडि देखिन्छ । तर समग्र कार्यदक्षता र शुल्कको अनुपातमा तुलना गर्दा दुईबीच खासै अन्तर देखिँदैन । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment