Comments Add Comment

जिल्ला र उच्च अदालतमा मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने

काठमाडौं जिल्ला अदालत

१७ साउन, काठमाडौं । जिल्ला र उच्च अदालतमा आगामी मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने भएको छ । न्यायालयमा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको सुझाव अनुसार जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न पत्राचार गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएको प्रतिवेदनमा न्यायालयमा विकृति, विसंगति, अनियमिता र विचौलिया रोकथामका लागि अदालतमा पेशी तोक्ने प्रणाली संशोधन गर्नुपर्ने सुझाव दिइएको थियो ।

समितिले जिल्ला अदालतमा एउटै न्यायाधीशले शुरुदेखि अन्तसम्म मुद्दा तोक्ने प्रणाली तथा उच्च अदालतमा मुख्य न्यायाधीश र सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन गर्ने प्रणाली संशोधन गरी स्वचालित पेशी सूची प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो ।

स्वचालित पेशी सूची प्रणाली शुरु नहुँदासम्म पारदर्शी ढंगले गोलाप्रथाबाट पेशी तोक्न समितिले सुझाव दिएको थियो । सोही अनुसार जिल्ला र उच्च अदालतलाई मंसिरदेखि सुझाव कार्यान्वयनका लागि पत्र पठाएको सर्वोच्चका प्रवक्ता दाहालले बताए ।

उक्त प्रतिवेदनले दिएको न्याय परिषद्सम्बन्धी सुझाव कार्यान्वयनका लागि आइतबार न्याय परिषद् सचिवालयमा पठाएको पनि सर्वोच्च अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment