 
																						१८ साउन, दमौली । कोरोना संक्रमणको जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि त्यसको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् ।
तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन् । निजी विद्यालयले विद्यालय पोशाक विना विद्यार्थी विद्यालयमा बोलाएका छन् भने सामुदायिक विद्यालयले विद्यालय पोशाकमै विद्यार्थी बोलाएर पठनपाठन शुरु गरेका हुन् ।
यद्यपि कतिपय विद्यालयका प्रधानाध्यापकले भने विद्यार्थीलाई विद्यालयमै बोलाइएपछि पठनपाठन शुरु नगरिएको दाबी गरेका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित न्यू मनकामना बोर्डिङ स्कुलका प्रिन्सिपल दीपेन्द्र चौहानले गृहकार्य दिनका लागि विद्यार्थी बोलाएर विद्यालय सञ्चालन गरिएको जानकारी दिए । ‘विद्यालय खोलेको तीन चार दिन भयो, पठनपाठनभन्दा पनि विद्यार्थीलाई गृहकार्य दिने काम भएको छ,’ उनले भने, ‘पूर्णरुपमा विद्यालय नै खुलेको होइन ।’
लामो समयदेखि विद्यालय बन्द भएर विद्यार्थी घर बस्दा पढ्ने बानी हराउँदै जान थालेको भन्दै अभिभावकको गुनासो आएकाले विद्यार्थीलाई विद्यालयमै बोलाइएको चौहानले बताए । ‘अभिभावकले पनि विद्यालय खोलिदिए हुन्थ्यो भनेर गुनासो गर्न थाल्नुभयो, दुई/तीन घण्टा विद्यार्थीलाई विद्यालयमा राखेर घर पठाउँछौं,’ उनले भने ।
व्यास नगरपालिका–५ साँगेस्थित व्यास मनकामना बोर्डिङका प्रिन्सिपल रामकृष्ण विकले औपचारिक रुपमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीलाई बोलाएर एक/दुई घण्टा पठनपाठन गराइएको बताए ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमै दुई घण्टा कक्षा सञ्चालन गरिएको उनले बताए । एन प्याब्सन तनहुँका अध्यक्षसमेत रहेका विकले कतिपय विद्यालयले बससमेत सञ्चालन गरेको आफूले जानकारी पाएको बताए ।
व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयले आइतबारदेखि विद्यालयमै पठनपाठन शुरु गरेको छ । ‘अहिलेसम्म त हामीले पनि अनलाइनबाटै कक्षा चलाइरहेका थियौं, तर केही दिनयता बोर्डिङ खुल्न थाले, बस पनि चल्न थालेपछि विद्यालयले कक्षा सञ्चालन गर्ने निर्णय गर्यो,’ विद्यालयका शिक्षक कृष्णचन्द्र पाण्डेले भने ।
उनका अनुसार जोर बार जोर कक्षा र विजोर बार विजोर कक्षा सञ्चालनको तयारी गरिएको छ । ‘पहिलो दिन स्वअध्ययन सामग्री पनि बाँडेका छौं, अहिलेसम्म त अनलाइनबाटै पठनपाठन भइरहेको थियो,’ उनले भने ।
दमौलस्थित वाराही बोर्डिङका प्रिन्सिपल विष्णु खड्काले परीक्षा सञ्चालनका लागि विद्यालय खोलिएको र बस सञ्चालन गरिए पनि पठनपाठन भने नभएको बताए । ‘परीक्षा सञ्चालनका लागि दुई घण्टा विद्यालय खोलेका छौं,’ उनले भने ।
व्यास नगरपालिका–१ का अभिभावक विष्णु थापाले विद्यालयले विद्यालय खोलेर बच्चा पठाउन भनेपछि आफूले छोराछोरीलाई विद्यालय पठाउन थालेको एक हप्ता भएको बताए । ‘कोभिडको जोखिम झनै बढेको छ तर विद्यालयले बच्चा पठाउनु भनेपछि पठाउनै पर्यो,’ उनले भने ।
व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको जानकारी पाएको बताए । ‘विद्यालय खोल्यौं भनेर कतिपय विद्यालय सञ्चालकले जानकारी गराउनुभएको छ, तर हामीले खोल्ने अनुमति दिएका छैनौं,’ उनले भने, ‘कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका छौं ।’ उहाँले केही भए त्यसको जवाफदेही स्वयं विद्यालय हुनुपर्ने समेत बताए ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पनि साउन २० गतेसम्म निषेधाज्ञा कायमै रहेको र पठनपाठनका लागि विद्यालय खोल्ने अनुमति नभएको बताए । ‘केही दिन अगाडि एक/दुई वटा विद्यालय खुलेको जानकारी आएको थियो, लगत्तै विद्यालय बन्द गर्न निर्देशन दियौं,’ उनले भने । तर परीक्षा सञ्चालनका लागि भने आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न दिइएको प्रजिअ आचार्यले बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4