
१८ साउन, काठमाडौं । २०४१ सालमा प्रारम्भिक अध्ययन हुँदा मेलम्चीको पानी काठमाडौं आउने कुरा काठमाडौंवासीको लागि सपनाजस्तै थियो । ३६ वर्षको प्रतीक्षापछि गत चैतमा सपना साकार त भयो, तर त्यसले ल्याएको खुसी दुई महीना पनि टिक्न सकेन ।
गत असार १ को बाढीले क्षतिग्रस्त आयोजनालाई शनिबार फेरि आएको बाढीले अनिश्चयतर्फ धकेलिदिएको छ । यो दुर्दशाले काठमाडौंमा मेलम्चीको पानी चाखिसकेका उपभोक्तालाई थप निराश बनाइदिएको छ ।
०४८ को चुनाव प्रचारमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मेलम्चीको पानीले काठमाडौंको सडक पखाल्ने’ सुनाएपछि चर्चामा आएको आयोजनाको निर्माण शुरु गर्न नै १६ वर्ष लाग्यो । २०६४ सालमा निर्माण शुरु भएको आयोजना ठेकेदारहरूले काममा गरेको पटक-पटकको ढिलाइका बीच सम्पन्न नहुँदै गत चैतमा काठमाडौंमा पानी खसालियो ।
करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले २०७७ चैत १५ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो । सुरुङ सुपरीवेक्षणको प्रोटोकलसमेत मिचेर चैत २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पानी वितरणको शुभारम्भ गरेकी थिइन् ।
क्रमैसँग उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी पुगेपछि जेठसम्ममा काठमाडौंमा पानीको हाहाकार कम भइसकेको थियो । काठमाडौंका धेरै ठाउँमा मेलम्चीको पानीले ट्यांकरको पानी किन्नुपर्ने, राति-राति उठेर पानी भर्नुपर्ने, बोरिङ, पम्प, इनार र ट्युबेलको भर पर्नुपर्ने, ढुंगेधारामा लाइन लाग्नुपर्ने अवस्थाबाट मुक्त गरिदिएको थियो ।
तर, असार १ गते सुरुङको अवस्था बुझ्न र आवश्यक मर्मत गर्न भन्दै दुई महिने कार्यतालिका सार्वजनिक गरेर मेलम्चीको खानेपानी आयोजनाले सुरुङमा पानी भर्न बन्द गरेको थियो ।
बाढीले तुहायो सपना
असार १ गते राति मेलम्ची नदीमा बाढी नआइदिएको भए मेलम्चीको सुरुङमा गत शुक्रबारदेखि फेरि पानी भर्न शुरु हुन्थ्यो । भदौ १ गतेसम्म काठमाडौंमा पानी ल्याएर फेरि वितरण सुरु हुन्थ्यो । अस्थायी रुपमा बाँध बाँधेर सीधै सुरुङमा हालिँदै आएको पानीलाई छानेर ल्याउने योजना थियो । त्यसका लागि बाँध र पानी छान्ने ‘डिस्यान्डर’ तयार भइसकेको थियो ।
तर, सुरुङको सुपरीवेक्षण गर्न सुरुङ बन्द गरिएकै दिनमा मेलम्ची नदीमा आएको भीषण बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाइदियो । यसले आयोजनामा १ अर्ब ८८ करोड रुपैयाँको क्षति मात्रै भएन, काठमाडौंमा फेरि मेलम्चीको पानी आउँछ कि आउँदैन भन्ने आशंकासमेत बढाइदिएको छ ।
असार १ गतेको बाढीपछि पनि मेलम्ची आयोजना पुनर्स्थापना हुन सक्नेमा सरकारी अधिकारीहरु विश्वस्त थिए । आयोजनाको पुनर्स्थापनाको लागि योजना पनि बन्दै थियो । अघिल्लो हप्तासम्म पनि मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख रामकुमार श्रेष्ठ बाढीले पुरेको आयोजनाको बाँध र पानी छान्ने संयन्त्रलाई सफा गरेर माघ-फागुनसम्म पानी ल्याउने कार्ययोजना बनेको बताइरहेका थिए ।
तर, शनिबार राति फेरि मेलम्चीका लेदोसहतिको ठूलो बाढी आएपछि भने मेलम्ची फेरि काठमाडौं ल्याउने निश्चित भाका तोक्न नसकिने भन्दै सरकारपछि हटेको छ ।
सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको भविष्यबारे स्पष्ट जवाफ दिन सकिनन् । उनले हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताइन् ।
बाढीबाट आयोजनाको सुरुङ जोगिए पनि बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएर त्यसैमाथिबाट खोला बगिरहेको छ । पछिल्लो पटकको बाढीले तत्काल आयोजना स्थलमा श्रमिक लगेर काम गर्न नसकिने देखिएपछि आयोजनाको भविष्यबारे सरकार नै अन्योलमा परेको हो ।
‘अस्तिको बाढीले झन् निराश बनायो । अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भए पनि पानी ल्याउन सकिन्छ भन्ने थियो’ सचिव बज्राचार्यले भनिन्, ‘अब त्यो समयसम्म काम गर्न सक्छौं कि सक्दैनौं भन्ने भएको छ ।’
उनका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थामा आधारमा विज्ञ टोलीले मेलम्ची आयोजनामा पनि समस्या पर्न सक्ने बताएका छन् ।
‘२१ वर्षदेखिको प्रयास गरिएको मेलम्ची खानेपानी आयोजना के हुने भन्ने यकिन छैन’ सचिव बज्राचार्यले भनिन्, ‘आयोजनाभन्दा माथिको तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे एसियाली विकास बैंक (एडिबी)लाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनुस् भनेका छौं ।’ सचिव बज्राचार्यले मेलम्ची आयोजना अनिश्चित भए पनि जसरी पनि बचाउनुपर्ने बताइन् ।
अहिलेसम्म आयोजनाले सुरुङमा यसअघि भरिएको पानी समेत खाली गर्न सकेको छैन । सुरुङ खाली गर्न अडिट सुरुङका फ्लसिङ गेट खोल्नुपर्नेमा अम्बाथान र ग्याल्थुमका अडिट टनेलको मुख नै बाढीले पुरिएको छ ।
आयोजनाका एक अधिकारी मेलम्ची खानेपानी आयोजना अध्याँरो सुरुङभित्र फस्न पुगेको बताउँछन् । ‘अहिले सबै कुरा अनुमान मात्रै लगाउन सकिन्छ, अँध्यारो सुरुङभित्रबाट लगाएको अनुमान मिल्यो र योजना सफल भयो भने आयोजना ब्युँतिन्छ’ उनले भने, ‘होइन भने के हुन्छ भन्न सकिन्न ।’
अब आयोजनालाई दिगो रुपमा जोखिमबाट मुक्त राख्ने ग्यारेन्टी गरेर मात्रै काम गर्नुपर्ने उनी बताउँछन् । हतारमा काम गरेर काठमाडौंमा पानी ल्याउन सकिने भएपनि त्यसले थप समस्या र जोखिम बढाउने उनको विश्लेषण छ ।
‘हिजो काठमाडौंमा पानी झर्दा जस लिने होडबाजी चल्यो,’ ती अधिकारी भन्छन्,’अहिले आयोजना समस्यामा पर्दा कोही पनि अपजस स्वीकार्न कोही चाहँदैनन्, यो बाढीले सिकाएको पाठलाई नकारेर हामी पनि हिजोको जस्तै जबरजस्ती काठमाडौंमा पानी झारेर जस लिने विसंगत होडबाजीमा लाग्दैनौं ।’
उनका अनुसार काठमाडौंमा पानी ल्याउनुअघि मेलम्ची आयोजना भन्दा माथिल्लो क्षेत्रमा मेलम्ची नदीमा थुपि्रएको माटोको रोकथाम, व्यवस्थापन वा नियन्त्रणको व्यवस्था अपरिहार्य छ । आयोजना जोगाउने गरी काम नगरी पानी ल्याउन मात्रै जोडबल गरेमा भविष्यमा थप ठूलो संकट बेहोर्नुपर्ने ती अधिकारीको चेतावनी छ ।
नदीलाई पुरानै सतहमा फर्काउन चुनौती
बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब १ अर्ब ८८ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । तर, त्योभन्दा ठूलो धक्का भने मुहान क्षेत्र पुरिँदा लागेको छ ।
आयोजनाका एक प्राविधिकका अनुसार मेलम्ची आयोजनाको सुरुङमा पानी हाल्न नदीलाई पुरानै सतहमा फर्काउनुपर्छ । जुन काम सानोतिनो प्रयासले सम्भव छैन । बाढी, पहिरोको जोखिमका कारण वर्षायामभरि आयोजनाको हेडवर्क्स क्षेत्रमा जानै नसक्ने अवस्था छ । आयोजनाको हेडवर्क्स क्षेत्रमा पुग्ने पहुँच सडकसमेत बाढीले बगाएको छ ।
पहिलेको नदीको सतहमा आधारित भएर सुरुङ, हेडवर्क्स र बाँध बनाइएको भन्दै ती प्राविधिकले मेलम्ची नदीले बगाएर ल्याएको माटोले नदीको सतह नै १० देखि १५ मिटरसम्म माथि उठेको छ । त्यसैले मेलम्ची आयोजनाको सुरुङ अहिले नदी बगेको ठाउँ भन्दा १५ मिटर गहिरोमा छ । बाढीले पुरिएको भाग सहजै पन्छाउन नसकिने र पन्छाए पनि यसअघि बनेका संरचना काम लाग्छ कि लाग्दैन भन्ने टुंगो छैन ।
‘नदीको सतह धेरै अग्लो र सुरुङसहितका अन्य संरचना होचो हुँदा प्राविधिक समस्या आउनसक्छ,’ उनले भने, ‘जसोतसो मिलाएर पानी हालेपनि मेलम्चीमा जुनसुकै बेला लेदोसहितको बाढी आउनसक्ने भएकाले नदीको पानी सिधै सुरुङमा हाल्दा झन् क्षति हुन सक्छ ।’
अब विगतकै जसरी अस्थायी बाँध बाँधेर पानी सिधै सुरुङमा हाल्दा जुनसुकै बेला बाढी आएर सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम छ ।
‘अब हिउँदमै पनि मेलम्चीको किनारमा रहेको हेडवर्क्समा काम गर्न चुनौती छ । वर्षायामभरि त काम सुरु गर्ने कल्पना नै गर्न नसकिने भयो,’ ती प्राविधिकले भन्छन्, ‘माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्था नै आयोजनाको लागि दीर्घकालसम्म चुनौती बन्ने देखियो ।’
आयोजनाका प्रमुख रामकुमार श्रेष्ठका अनुसार सहज परिस्थिति बनेमा नयाँ ठेक्का लगाएर काम शुरु गर्नुपर्ने हुन्छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले विशेष निर्णय गर्नुपर्ने अवस्था छ ।
त्यसबाहेक मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्मको जाने २२ किलमेमिटरमध्ये क्षतिग्रस्त ८ किलोमिटर सडकमार्गको नयाँ ट्रयाक नै खोल्नुपर्ने छ भने अरु खण्ड स्तरन्नोति गर्नुपर्ने छ । ४ ठाउँमा पुलहरु र ५ वटा अस्थायी कल्भर्ट राख्नुपर्ने अवस्था पनि छ ।
आयोजनाको २१० मिटरको डाइभर्सन टनेलमा भरिएको लेदो हटाउनुपर्ने छ । बाँध र डिस्यान्डरसहितका पुरिएका संरचनाहरुलाई निकाल्नुपर्ने छ । नदी नियन्त्रणसहतिको काम गर्दा १ अर्ब ८५ करोड थप खर्च लाग्ने अनुमान गरिएको श्रेष्ठले बताए ।
यदि थप बाढी नआए र नदीको अवस्था अनुकल रहे २०७९ वैशाखसम्म पानी ल्याउने कार्यतालिका छ । तर, यो कार्यतालिकाको कार्यान्वयन मौसम, तटीय क्षेत्रको भूगर्भ, बाढीको अवस्था, नदीको बहाव र सरकारी निकायको समन्वयमा भर पर्ने श्रेष्ठ बताउँछन् । माथिल्लो तटमा बाढीबारे पूर्वचेतावनी दिने संयन्त्रहरु पनि राख्नुपर्ने आवश्यकता छ ।
खानेपानी वितरणदेखि मेलम्ची-२ सम्म प्रभाव
मेलम्ची खानेपानी आयोजनाका पूर्व कार्यकारी निर्देशक घनश्याम उपाध्याय उपाध्यायका अनुसार पछिल्लो संकटले मेलम्ची आयोजनाको आर्थिक लागत मात्रै नभई काठमाडौंवासीले पानीका लागि गर्नुपर्ने खर्च र दुःख पनि बढाउने छ । तर, आम जनताको आशालाई मर्न नदिने गरी काम हुनुपर्ने उनको भनाइ छ ।
मेलम्चीको पानी नियमित रुपमा काठमाडौं आएपछि दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि काठमाडौं ल्याउने सरकारको तयारी थियो । आयोजनाका एक अधिकारीका अनुसार अब याङ्ग्री लार्केको डिजाइन नै परिवर्तन गर्नुपर्ने अवस्था छ । हालको डिजाइनमा दुवै खोलाको पानी सुरुङबाट ल्याएर मेलम्चीमा खसाल्ने योजना थियो ।
तर, अब मेलम्चीका पानी खसाल्न नहुने अवस्था आएकाले सुरुङहरु सिधै जोड्ने, हेडवर्क्सको संरचनाको डिजाइन बदल्नेसहितका काम गर्नुपर्ने देखिएको छ । यी काम गर्दा मेलम्चीको दोस्रो चरणको काम थाल्न पनि ढिलाइ हुने पक्का छ ।
पूर्व आयोजना प्रमुख उपाध्याय मेलम्ची नदीको पानी तत्काल ल्याउन नसकिने भए पनि यसको सुरुङ जोगाउनुपर्ने र याङ्ग्री र लार्केको पानी ल्याउने विकल्प जीवितै राख्नुपर्ने बताउँछन् ।
‘मेलम्ची आयोजना बनाउँदा हामीले माथिल्लो तटमा तीन किलोमिटरभन्दा माथि गएर भौगर्भिक अवस्था हेरेनौं,’ उनले भने, ‘अब याङ्ग्री लार्केमा हामीले माथिल्लो तटीय क्षेत्रको पनि गहन अध्ययन गरेर मात्रै काम गर्नुपर्छ ।’
अध्ययनमा जोड
उनी मेलम्चीमा पिन विज्ञहरुको टोलीले तटीय क्षेत्रको अध्ययनपछि मात्रै आयोजनाको भविष्यबारे निष्कर्षमा पुग्नु उचित हुने बताउँछन् ।
अहिलेसम्म मेलम्ची नदीको मुहान क्षेत्रको गहन भौगर्भिक अध्ययन नगरी सामाजिक सञ्जालमा उपलब्ध र हवाई अवलोकनबाट खिचिएका दृश्यका भरमा आयोजनाबारे व्याख्या भइरहेको भन्दै उनले त्यो तथ्यपूर्ण नहुने उनले बताए ।
‘हो जति उपलब्ध दृश्यहरु छन्, त्यसलाई हेर्दा मेलमची खानेपानी आयोजनाबाट पुनः काठमाडौंमा पानी ल्याउन चुनौतीपूर्ण छ,’ उपाध्यायाले भने, ‘माथिल्लो तटमा बग्ने अवस्थामा कति ढुंगामाटो छन् भनेर अनुमान लगाउन पनि गाह्रो छ, तर, एउटा अध्ययनमार्फत यसबारे एउटा निचोडमा पुग्न ढिलाइ भने गर्नुहुँदैन ।’
असार १ गते र शनिबार रातिको बाढीपछि मेलम्ची नदीको बहावको प्रकृति नै बदलिएको उनी बताउँछन् । अब नदी पहिलेभन्दा बढी वेगका साथ बग्ने र संग्लिन पनि समय लाग्ने उनको भनाइ छ ।
‘कहिलेसम्म यस्तो लेदो मिसिएर नदी बग्छ भन्ने अनिश्चित छ,’ पूर्व आयोजना प्रमुख उपाध्यायले भने, ‘माथिल्लो भेगको भौगर्भिक अवस्थाले कति समयसम्म जोखिम रहन्छ भन्ने पनि यकिन छैन ।’
प्रतिक्रिया 4