Comments Add Comment
जयसिंह धामी प्रकरण :

सरकारमाथि डगमगाएको विश्वास

१९ साउन, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएको पाँच दिन बित्यो । अहिलेसम्म न जयसिंहको सास भेटिएको छ, न लास !

सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको ज्यादतीबारे चौतर्फी विरोध भएपछि सरकारले पनि छानविन समिति बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार राष्ट्रियसभा र मंगलबार प्रतिनिधिसभामा त्यही जानकारी गराएका छन् ।

तर दुबै सदनमा गृहमन्त्री खाँण जसरी प्रस्तुत भएका छन्, यसले प्रमुख विपक्षी नेकपा एमाले मात्र होइन, सत्तारुढ नेपाली कांग्रेसकै सांसदहरुलाई सरकारले एसएसबीको ज्यादतीबारे भारतसँग जमेर विरोध गर्छ भन्नेमा आशंका लागेको छ ।

किन उठ्यो गृहमन्त्रीमाथि प्रश्न ?

दुबै सदनमा १५ साउनमा भएको घटनाबारे जानकारी दिँदै गृहमन्त्री खाँणले छानविन समिति गठन गरेको जानकारी दिएका छन् । तर ‘जयसिंह धामी महाकालीको तुइन तर्ने क्रममा नदीमा खसी बेपत्ता भएको’ बताएका उनले भारतीय सीमा सुरक्षा बलले तुइनको तार काटेको प्रत्यक्षदर्शीले बताएका छन् समेत भनेनन् ।

उनको भनाइ जस्ताको तस्तै :

मिति २०७८ साल साउन १५ गते बिहान ब्यास गाउँपालिका वडा नम्बर २ खाङदाङमाल बस्ने जयसिंह धामीसहितका व्यक्तिहरु ब्यास गाउँपालिका वडा नम्बर २ मालघाटबाट भारतको गस्कु हुँदै सदरमुकाम खलंगा आउन ब्यास गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ३३ को निज जयसिंह धामी महाकाली नदीको तुइन तर्ने क्रममा नदीमा खसी बेपत्ता भएको भनी नरेन्द्रसिंह धामीसहित ३ जनाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका छन् ।

मालघाटबाट दार्चुला जान नै उहाँहरु हिँड्नुभएको थियो । मालघाटबाट दार्चुला सदरमुकाम पुग्नको लागि झण्डै दिनभरि नै हिँड्नुपर्ने छ । तर पारी त्यहाँ तुइन तरेर गइसकेपछि गस्कोमा उहाँहरुले सवारी साधन पाउनुहुन्छ । सवारीसाधन चढेपछि भारतको धार्चुला हुँदै धार्चुलाको पुल तरेर दार्चुला झण्डै डेढ घण्टामा पुग्न सकिन्छ । त्यसकारणले त्यो मालघाट सदरमुकाम खलंगासम्म पुरयाउनका लागि बाटो छिटो भन्दा छिटो निर्माणका लागि पनि सरकार प्रतिवद्ध रहेको छ भन्ने कुरा पनि म विश्वास दिलाउन चाहन्छु ।

सोही दिन गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविकता छानविन गर्न सशस्त्र प्रहरी बल नेपाल गण नम्बर ४४ बाट सहस्त्र प्रहरी बल नायब निरीक्षक बृजेशसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्द, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका बिक्रमसिंह ढाडसहित ३ जनाको टोली स्थलगत छानविनको लागि घटनास्थलतर्फ खटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्ला अधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको छ । निज जयसिंह धामीभन्दा अगाडि उक्त स्थानको तुइन तरी भारततर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरासिंह धामी र मणिरामसिंह धामीसँग जानकारी लिने काम भइरहेको छ । उहाँहरुसँग नै जयसिंह धामी पनि त्यही टोलीमा नै हुनुहुन्थ्यो र उहाँहरु पारी तरिसक्नुभएको थियो र जयसिंह धामी तर्ने क्रममै हुनुहुन्थ्यो ।

तुइन तर्न बाँकी अनिता धामी, विक्रम धामी, रंकोली र कल्याण धामीलाई बुझ्नको लागि जिल्ला सदरमुकाम बोलाइ जानकारी लिने काम भइरहेको छ । उक्त विषयमा जिल्ला सदरमुकाम दार्चुलामा सर्वदलीय बैठक भएको छ । उक्त घटनाको सम्बन्धमा खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय दार्चुला मातहत रहेका प्रहरी चौकी (लालीदेखि दुम्लिङसम्मका ९ वटा प्रहरी इकाइ) तथा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षाका पाँच वटा बेशबाट खोजतलासको काम भइरहेको छ । जयसिंह धामीजी भेटिनुभएको छैन र उहाँको डेथबडी पनि भेटिएको छैन । खोजी काम जारी छ । सो क्रममा सीमावर्ती जिल्ला बैतडी र कञ्चनपुर जिल्लासंग समेत खोजतलासको लागि स्थानीय तहबाट समन्वय गर्ने काम भइरहेको छ ।

भारततर्फ महाकाली नदीको पूर्वी किनारामा नेपाली सुरक्षाकर्मीहरुले खोजिरहेका छन् । पश्चिमी किनारामा नेशनल डिजास्टर रोस्पोन्स फोर्स (एनडिआरएफ) र एसएसबीका सुरक्षाकर्मीहरुबाट पनि खोजी कार्य भइरहेको छ । मिति २०७८ साल साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कंडेल, शसस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक शुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अनुसन्धान निर्देशक हुतराज थापा, र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट समेत पाँच जना सदस्य रहने गरी स्थलगत रुपमा सत्यतथ्य छानविन गरी दश दिन भित्र प्रतिवेदन दिने गरी घटनास्थलतर्फबाट पठाउने निर्णय भएको छ । मन्त्रालयबाट गठित छानविन टोली मिति २०७८ साउन १८ गते राति डडेलधुरामा बास बसी दार्चुलाको खलंगाको लागि प्रस्थान गरिसक्नुभएको छ ।

जबकी जयसिंह धामीभन्दा अगाडि तुइन तरेर पारी पुगेका र पारी जान पर्खिरहेकाहरुले एसएसबीले तुइनको तार काटिदिएका कारण जयसिंह धामी नदीमा खसेको बताएका छन् । सरकारी छानविन समितिले अध्ययन गर्ने भनेको प्रत्यक्षदर्शीले बताएअनुसार नै एसएसबीले तुइनको तार काटेका कारण जयसिंह महाकाली नदीमा खसेको हो कि होइन भन्ने छानविन गरेर प्रतिवेदन दिने हो ।

तर गृहमन्त्रीले ‘प्रत्यक्षदर्शीले यसो भनेका छन्’ समेत नभनेपछि विपक्षीसँगै सत्तारुढ सांसदले नै प्रश्न उठाएका छन् ।

सन् २०१२ मा केरलामा इटालीका मानिसहरूको गोलीबाट दुई जना भारतीय मछुवाको हत्या भएको थियो । उक्त घटनामा आफ्ना नागरिक मारिएपछि भारतीय सरकारले तीन चार वर्षसम्म लगातार कानुनी लडाईं लडेको थियो । भारतको यही इतिहास सुनाउँदै कांग्रेस सांसद गगनकुमार थापाले प्रश्न गरे, ‘जयसिंह धामीको सम्बन्धमा सत्यतथ्य बाहिर आइसके पछाडि जसरी भारत सरकार इटालीसँग लड्यो, हाम्रो सरकार भारतसँग त्यसैगरी डटेर लड्छ भन्ने विश्वास माननीय गृहमन्त्रीज्यूले हामीलाई कसरी दिलाउनु हुन्छ ?’

उनले अघि सोधे, जयसिंह धामीको घटनामा भातरीय पक्षले भारतीय सीमा सुरक्षा बलको संलग्नता नरहेको भन्ने जिकिर गर्‍यो भन्ने मिडियामा आएको छ, सत्य के हो ? नेपालको छानबिन समितिलाई भारतले कस्तो सहयोग गर्ला ?’

पूर्वगृहराज्यमन्त्री समेत रहेका कांग्रेस सांसद देवेन्द्रराज कँडेलले पनि दार्चुला घटनामा नेपाल र भारतका संयुक्त खोजबिन टोली किन बनाइएन भनी प्रश्न गरेका छन् ।

‘बोर्डरमा समस्या हुँदा दुबै पक्ष बसेर समझदारी गर्छ । सुरक्षा निकायको बैठक बस्छ । संयुक्त छानविन गर्ने कुरा हुन्छ । तर, त्यहाँ त्यो भएन किन ? त्यस्तो संयुक्त टोली बनाइएन किन ? कँडेलले प्रश्न गरे । उनले भारतस्थित नेपाली दूतावासका अधिकारीहरुले यो घटनाबारे उच्चस्तरीय वार्ता र संवादका लागि के कस्तो पहल गरिरहेको छ भनेर पनि प्रश्न गरेका छन् ।

कांग्रेसका अर्का सांसद दिलेन्द्र बडूले दार्चुला घटनाबारे नेपाल र भारत दुवै तर्फबाट छानबिन गर्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले दार्चुला घटनामा सरकार निमुखो तरिकाले प्रस्तुत भएको बतएका छन् । पूर्वगृहमन्त्री समेत रहेका एमाले सांसद खगराज अधिकारीले भने, ‘यो निमुखो तरिकाले बोलेर हुँदैन । नेपाल कहिले पनि कसैको उपनिवेश भएर हामी बसेको होइन । भारतसँग यो घटनाबारे गम्भीर भएर कुरा उठाउनुपर्छ । सरकारले यो कुराको पनि जवाफ पनि दिनुपर्छ ।’

नेकपा एमालेका अर्का सांसद पदम गिरीले सरकारले भारत सरकारसँग कुरा गर्न नसकेको टिप्पणी गरे । ‘सबैले भनिरहेका छन् एसएसबीले तुइनको डोरी काटिदियो, तर सरकार बोल्दैन । नाकाबन्दी हुँदा नाकाबन्दी हो भन्न नसक्नेको नेतृत्व सरकारमा छ’ उनले भने, ‘जयसिंह धामीको हत्या हो, हत्या भन्नसक्नुपर्छ ।’

एमाले सांसद शान्ता चौधरीले दार्चुला घटनामा गृहमन्त्रीको हलुका र गैरजिम्मेवार अभिव्यक्ति आएको बताइन् । ‘प्रत्यक्षदर्शीले भनेपछि त्यही प्रमाण होइन र ? उनको प्रश्न छ । एमालेका अर्का सांसद गणेश ठगुन्नाले प्रत्यक्षदर्शीको भनाइलाई सरकारले प्रमाणका रुपमा लिएर भारतसँग विरोध गर्नुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुला घटनाबारे प्रधानमन्त्रीस्तरमा वार्ता हुन आवश्यक रहेको बताए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीसंग प्रधानमन्त्री शेरबहादुर देउवाले कुरा गर्नुभयो ? किन गर्नुभएन ?’ उनले भने, यो घटनाबारे उच्चस्तरमा राजनीतिक वार्ता र कूटनीतिक पहल आवश्यक छ ।’

गृहमन्त्रीको उही चाल

सांसदहरुले जेजस्ता प्रश्न गरेपनि गृहमन्त्री खाँणले भने फेरि फितलो जवाफ दिएका छन् । छानविन समितिले तथ्य र सत्य पत्ता लगाउने भन्दै उनले भने, ‘त्यो तथ्यका लागि सरकारले पूर्ण रुपमा अडान लिन्छ र, जुनसुकै कदम चाल्न पनि नेपाल सरकार तयार छ भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

छानविन समितिले जयसिंह धामी भन्दा अगाडि तुइन तरेका र जयसिंह धामीभन्दा पछाडि तुइन तर्न बसेकाहरुसँग सोधपुछ गर्ने र त्यसलाई नै प्रतिवेदनको मूल आधार बनाउने बताएका छन् । तर भारतीय सीमा सुरक्षा बलले तुइनको तार काटेको भनेर पनि विषय पनि आएको छ समेत भनेनन् ।

खाँणको जवाफ उनकै शब्दमा :

दार्चुला महाकाली नदीमा जुन घटना घटेको छ त्यसमा माननीयजीहरुको जुन संवेदनशीलता रहेको छ त्यसमा म सम्मान गर्छु । र अहिले यसका सम्बन्धमा सरकारले छानविन समिति बनाएको छ । छानविन समिति दार्चुला जिल्ला र घटना घटेको मालघाट र गस्कु घटनास्थलमै पुगेरै छानविन गर्नेछ । र तुइन तर्न सफल भएका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरासिंह धामी र मणिरामसिंह धामीसंग पनि उहाँहरुले भेटघाट गर्नुहुनेछ र उहाँहरुको जानकारीलाई पनि छानविन समितिले मुल आधारै बनाउनेछ ।

त्यसरी नै तुइन तर्न बाँकी अनिता धामी, विक्रम, रंकोली र कल्याण धामीसंग बुझनको लागि जिल्ला सदरमुकाममा उहाँहरु आउनुभएको छ । र घाटको दुबैतर्फ जाने, त्यहाँका आम नागरिकहरुसंग पनि बुझ्ने, र सत्यतथ्य संकलन गरेरै प्रतिवेदन बनाइने हो । र प्रतिवेदनले ठहर गरेको निष्कर्षलाई सरकारले दृढताका साथ अगाडि बढाउनेछ । नागरिकको जीवन रक्षा गर्नु सरकारको मुल दायित्व हो । नागरिकहरुको जीवन रक्षाका लागि नै राज्य बनेको हो, राष्ट्र बनेको हो, सरकार बनेको हो ।

त्यसकारणले नागरिकको जीवनरक्षाका लागि हामी गम्भीर छौं । र अघि मैले प्रस्तुत गर्दा खेरि जयसिंहधामी जी वेपत्ता हुनुभएको छ । उहाँ भेटिनुभएको छैन । र प्रतिवेदन पनि छानविन समितिको आएको छैन । त्यसकारणले उहाँलाई हामीले मृतक भन्न मिलेन । किनकी छानविन समितिको प्रतिवेदन आइसकेपछि छानविन समितिले त्यसमा आफ्नो प्रतिवेदन बुझाएपछि नै अन्तिम निष्कर्ष निक्लिनेछ । सरकारले छानविन समिति बनाएर पठाएको छ ।

त्यहाँको स्थानीय सरकार, प्रदेश सरकार या आदरणीय जनप्रतिनिधि सबैसंग पनि त्यहाँ भेटघाट हुनेछ । सबैसंग भेटघाट गरेर तथ्य र सत्य पत्ता लगाएर, तथ्य र सत्यको आधारसिलामै प्रतिवेदन बन्ने हो । नेपाल सरकारले जे तथ्य हो त्यही नै सार्वजनिक गर्नेछ । र त्यो तथ्यका लागि नेपाल सरकारले पूर्ण रुपमा अडान लिनेछ । र जुनसुकै कदम चाल्नका लागि पनि नेपाल सरकार तयार छ भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । र त्यसका लागि छानविन समितिले मेहनत गरेरै काम गर्नेछ । हामीले सुरुमा सात दिनको समय दिने हो कि भन्या थियौं । तर, फेरि काठमाडौंबाट धनगढी जानुपर्‍यो, धनगढीबाट डडेलधुरा जानपर्यो, डडेलधुराबाट दार्चुला जानुपर्यो ।

सुदूरपश्चिमका माननीयज्युहरुलाई थाहा छ त्यहाँ जान आउन पनि केही विकटताहरु छन्, समस्याहरु छन, समय लाग्छ । त्यसकारणले नै हामीले दश दिनको समय दियौं । र उहाँहरुले त्यहाँ जाँचबुझ गरिसकेपछि, खाली त्यहाँ जिल्ला सदरमुकाममा गएर त्यहाँका अधिकारीहरुसंग, त्यहाँका पदाधिकारीहरु, जनप्रतिनिधिहरुसंग मात्र होइन कि घटनास्थलमै गएर मालघाट र गस्कुमै पुगेर त्यहाँका आम नागरिकहरुसंग नै उहाँहरुले भेटेर नै सत्यतथ्यको छानविन गरेर प्रतिवेदन बुझाउनुहुनेछ । र त्यसले सत्यलाई प्रकट गर्नेछ । र त्यसलाई सरकारले दृढताका साथ अगाडि बढाउनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

प्रतिनिधिसभामा गृहमन्त्री खाँणको प्रस्तुतिप्रति असन्तुष्ट सत्तारुढ कांग्रेसका एक सांसद भन्छन्, ‘प्रथम दृष्टिमा यस्तो देखिएको छ वा प्रत्यक्षदर्शीहरुले भारतीय एसएसबीले तुइनको तार काट्दा दुर्घटना भएको भनेका छन् । छानविनका क्रममा त्यस्तो देखिए सरकारले अडान लिन्छ भन्न सक्नुपर्थ्यो।’

भारतसँग सम्बन्ध बिग्रिन्छ भन्ने भयले काम गरेको त होइन भन्ने सत्तारुढ गठबन्धनकै सांसदहरुको प्रश्न छ । उनीहरु भन्छन्, ‘छानविन भइरहँदा सरकारले भारतीय एसएसबीले नै घटना घटाएको हो भनेर आरोपित गर्न मिल्दैन । तर प्रत्यक्षदर्शीको भनाइलाई आधारमा मानेर राजनीतिक र कूटनीतिक रुपमा प्रतिवाद गर्नुपर्छ । आफ्नो अडान प्रष्ट रुपमा लिनुपर्छ, त्यो भएन ।’

हुन पनि यो घटनाबारे अहिलेसम्म नेपाल र भारत सरकारबीच उच्चस्तरमा सम्वाद भएको छैन । घटनाको विरोध गर्दै न कूटनीतिक नोट पठाएको छ, न नयाँ दिल्लीस्थित नेपाली दूताबासले भारतीय अधिकारीहरुसँग सम्वाद गरेको छ । ‘दार्जुलाका प्रमुख जिल्ला अधिकारीले भारतीय समकक्षीसँग कुराकानी गरेका छन्, यसबाहेक थप कुराकानी भएको छैन’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली पनि सरकारले पाँच दिनसम्म भारतको औपचारिक धारणा नमाग्दा प्रश्न उठेको बताउँछन् । ‘घटना भएको पाँच दिन भयो, यो बीचमा भारत सरकारसँग औपचारिक जानकारी लिइसक्नुपथ्यो । भारतीय पक्षलाई जानकारी माग गरिनुपथ्यो । कुनै पत्राचार भएको छैन’ उनले अनलाइनखबरसँग भने, ‘आकस्मिक ढंगले भएको घटनामा आकस्मिक ढंगले काम हुनुपथ्र्यो, तर सरकार नियमिततातिर गएको देखिन्छ ।’

जुन रुपमा ध्यानाकर्षण गराउनुपर्ने हो, त्यो भएन

कूटनीतिक मामिलाका जानकारहरुले पनि दार्चुला घटनामा सरकारको भूमिका सन्तोषजनक नभएको बताएका छन् । घटनाबारे नेपाल सरकारले जुन रुपमा भारत सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने हो त्यो नभएको परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई बताउँछन् ।  ‘सिडिओको स्थलगत रिपोर्ट के आएको त्यस आधारमा नेपाल सरकारले जुन रुपमा भारत सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने हो त्यो भएको छैन’ भट्टराईले अनलाइनखबरसँग भने ।

भट्टराईको भनाइ उनकै शब्दमा :

दार्चुलामा एक नेपाली नागरिकले अनाहकमा ज्यान गुमाएका छन् । जयसिंह धामी अवैधानिक रुपमा भारतमा जान खोजेका थिएनन् । वारपार भइरहेकै छ । त्यसैलै यो अमावनीय छ, मुलुककै लागि दुःखद पनि हो । यो अमानवीय घटनाबारे प्रधानमन्त्रीजीले गम्भीर छु भनेको समाचारमा पढेको छु । गृहमन्त्रीले घटनाबारे संसदलाई जानकारी गराउनु पनि गम्भीर भएरै हो ।

तर प्रधानमन्त्री र गृहमन्त्रीले देखाएको वा भनेको जस्तो गम्भीरताअनुसार हाम्रो संयन्त्रले के गरेको छ ? त्यो लाई थाहा छैन । सीमामा भएका समस्याका सम्बन्धमा दुई देशका संयन्त्रका बीचमा कुरा हुनुपर्छ । नेपाल र भारतका बीचमा तीन दर्जन बढी संयन्त्र छन् । सीमा समस्या समाधान गर्नका लागि गठित संयन्त्रहरु छन । त्यस्ता संयन्त्रमा के कस्तो कुरा भएका छन्, त्यो पनि सार्वजनिक जानकारीमा छैन । यो घटनालाई लिएर नेपाल सरकारले कूटनीतिक पहलमा के गरेको छ, त्यो पनि सार्वजनिक जानकारीमा छैन । दूताबासलाई निर्देशन गरे–नगरेको पनि मलाई जानकारी छैन ।

यति भन्न सकिन्छ– यो अमानवीय घटना हो । यो घटनाका सम्बन्धमा सरकारले प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट रिपोर्ट लिएकै होला । त्यही रिपोर्टका आधारमा सरकारले आफ्ना काम कारबाहीलाई अगाडि बढाउनुपर्ने हुन्छ । सिडिओबाट के रिपोर्ट आएको छ, त्यो त सार्वजनिक जानकारीमा छैन । तर सिडिओको स्थलगत रिपोर्छ के आएको छ, त्यस आधारमा भारत सरकारलाई ध्यानाकर्षण गराएको थाहा छैन ।

कूटनीतिमा जे लेखापढी गरिन्छ, त्यो सबै सार्वजनिक गरिहाल्ने भन्ने हुन्न । तर यो विषय आम नेपालीलाई दुःखी बनाउने विषय भएकोतर्फ पनि ख्याल गरिनुपर्छ । जतिसक्दो छिटो स्थलगत प्रतिवेदन तयार हुनुपर्छ र त्यसका आधारमा अगाडि बढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

Advertisment