+
+
Shares

रुपन्देही-३ उपचुनाव : बालकृष्ण खाँण उम्मेदवार बन्न अनिच्छुक

रुपन्देही-३ को उपचुनावमा कांग्रेसबाट उम्मेदवारको चर्चा हुँदा पूर्वगृहमन्त्री बालकृष्ण नाम स्वतः आउँछ । यद्यपि, उनले कहीँकतै आफू उम्मेदवार हुने इच्छा सार्वजनिक गरेका छैनन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ साउन १२ गते २२:१८

१२ साउन, काठमाडौं । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले १७ कात्तिकमा हुने उपचुनावको छलफल अन्य दलभन्दा ढिलो सुरु गरेको छ ।

गत शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले रूपन्देही-३ मा हुने उपचुनावमा केन्द्रित रहेर छलफल गर्न शीर्ष नेतालाई बुढानीलकण्ठ डाकेका थिए ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र त्यसै क्षेत्रमा अघिल्लो चुनावमा पराजित पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उक्त क्षेत्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए । क्षेत्रको वस्तुगत अवस्था बुझेर फर्केको हुनाले महामन्त्री शर्माले स्थलगत जानकारी गराएका थिए ।

अघिल्लो चुनावमा पराजित खाँण र प्रदेश सभापति भएको हुनाले पुनले ब्रिफिङ गर्नु स्वाभाविक थियो । शीर्ष नेताको बैठकमा कांग्रेसले अघिल्लो चुनावमा स्थानीय तहमा पाएको मत, पराजित हुनुको कारण लगायतमा विश्लेषण भए ।

बैठकमा सहभागी प्रमुख सचेतक श्याम घिमिरे त्यस दिन उम्मेदवारका बारेमा कुनै छलफल नभएको बताउँछन् । चुनावी रणनीति र स्थलगत अवस्थाबारे छलफल भएको सुनाउँदै घिमिरेले भने, ‘रूपन्देही ३ मा समानुपातिकतर्फ पहिलो पार्टी हौं । स्थानीय तहमा त पहिलो पार्टी हौं । प्राविधिक रूपमा मात्र हारेका हौं, भोटको अवस्था हाम्रो मजबुत छ ।’

समानुपातिक र स्थानीय तहमा पहिलो बनेको कांग्रेसले रुपन्देही-३ को उपचुनावमा कसलाई उम्मेदवार बनाउला भन्ने चासो सर्वत्र छ ।

राजनीतिक जीवनमा दाग नलागेको भए त्यस क्षेत्रमा निर्विकल्प उम्मेदवार खाँण नै हुने थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा नमुछिएको भए पूर्व गृहमन्त्री एवं केन्द्रीय सदस्य खाँण अघि सरेपछि कसैले रोक्न सक्ने थिएनन् ।

उनका लागि थप बलिया अरू आधार पनि थिए । दुई भ्रातृ संगठन नेविसंघ र तरुण दलको केन्द्रीय अध्यक्ष बनेका खाँण १४औं महाधिवेशनमा खुलातर्फ तेस्रो सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेका थिए । २०५४ मा तरुण दललाई पुनर्जीवन दिँदा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनैलाई अध्यक्ष बनाएका थिए ।

भुटानी शरणार्थी प्रकरणमा खाँढ ७ महिना थुनामा रहे । उनी २८ मंसिर, २०८० मा उच्च अदालत पाटनको आदेशबाट धरौटीमा थुनामुक्त भएका थिए ।

रुपन्देही-३ मा कांग्रेसबाट चर्चामा रहेका नेतामा खाँणसहित, भरत शाह, प्रमोद यादव, रमेश खनाल, रामचन्द्र ढकाल छन् ।

विस्तारै कांग्रेस राजनीतिमा क्रियाशील हुन लागे पनि खाँणले रूपन्देही-३ मा उम्मेदवार हुने इच्छा कहीँकतै राखेका छैनन् । शुक्रबारको पदाधिकारी बैठकमा आफ्नो क्षेत्रको जानकारी गराउँदा पनि खाँणले उम्मेदवार हुने इच्छा व्यक्त नगरेको बैठकमा सहभागी एक नेताले बताए ।

‘बैठक उम्मेदवारबारे छलफल गर्न डाकिएको थिएन । तर खाँणजीले आफ्नो क्षेत्रबारे बोल्दै गर्दा आफू नउठ्ने आसय व्यक्त गर्नुभएको थियो,’ ती नेताले भने, ‘मुद्दा अदालतमा विचराधीन रहेकाले उहाँको ध्यान त्यतैतिर होला । उम्मेदवार बने विवादमा पर्ने हुँदा इच्छा नराखेको हुनसक्छ ।’

३२ असारमा कोइराला निवास विराटनगर पुगेका खाँणलाई पत्रकारले उम्मेदवार हुने/नहुने विषयमा सोधेको प्रश्नमा उनी खुलेर बोल्न चाहेनन् । हाँसेर यति मात्रै भने, ‘अहिले म मोरङमा छु ।’

रूपन्देहीका नेताहरूका अनुसार उम्मेदवार हुने चाह राखेर खाँणले हालसम्म उनीहरूसँग पनि मुख खोलेका छैनन् । खाँण फाट्टफुट्ट पार्टी संरचनाले गर्ने कार्यक्रममा देखिए पनि सक्रिय भने छैनन् ।

खाँणले रुपन्देही-३ का नेताहरूसँग पनि कुनै संवाद गरेका छैनन् । हाल उनी रूपन्देहीका कांग्रेस नेता प्रमोद यादवलाई लिएर धार्मिक यात्राको क्रममा भारतमा छन् ।

रुपन्देही-३ मा कांग्रेसबाट चर्चामा रहेका नेतामा खाँणसहित, भरत शाह, प्रमोद यादव, रमेश खनाल, रामचन्द्र ढकाल छन् ।

शाह गत चुनावमा रूपन्देही-५ बाट पराजित भएका थिए भने यादव रूपन्देही-४ मा पराजित भएका थिए । खनाल प्रदेश समितिमा छन् । रूपन्देहीका पूर्वसभापति समेत रहेका ढकाल खाँण निकट नेताका रूपमा परिचित छन् ।

जिल्ला तहका एक नेता भन्छन्, ‘बालकृष्ण दाइले आकांक्षा राखे अरूले दाबी गर्ने अवस्था रहँदैन । प्रमोद यादव र भरत शाह अर्को क्षेत्रबाट आएर यहाँ उठ्न खोज्छन् जस्तो मलाई लाग्दैन ।’

स्थानीय नेताहरूका अनुसार खाँणको अदालतमा अन्तिम सुनुवाइको पेसी १८ साउनमा तोकिएकाले फैसलाको पर्खाइमा उनी छन् । रूपन्देही-३ क्षेत्रका एक कांग्रेस नेता भन्छन्, ‘बालकृष्ण दाइ ‘वेट एन्ड सी’ मा हुनुहुन्छ । अदालतबाट उहाँ निर्दोष भएको फैसला आयो भने अरूले उम्मेदवार हुन्छु भन्नु रहर मात्रै हुन्छ ।’

गत चुनावमा रूपन्देही-३ ‘ख’ मा पराजित ढकालले केन्द्रीय नेता खाँण नउठ्ने भए आफ्नो दाबी रहने बताए । खाँणसँग निकट रहेका ढकाल उनीसँग उम्मेदवारको बारेमा हालसम्म कुनै कुराकानी नभएको बताउँछन् ।

चुनाव आउन धेरै समय रहेकाले खाँणसँग छलफल विस्तारै हुने उनी बताउँछन् । ढकालले अनलाइनखबरसँग भने, ‘मैले चुनाव लड्छु भनेको छु । तर उहाँ उठ्नुभयो भने हामी जिताउन लाग्छौं ।’

खाँण निकट लुम्बिनीकी पूर्वप्रदेश सांसद पुष्पा थरुनीले हालसम्म उम्मेदवार हुनेबारे उनीसँग कुनै कुराकानी नभएको बताइन् । ‘हाम्रो चाहना बालकृष्ण दाइ उम्मेदवार भइदिए हुन्थ्यो भन्ने हो । उहाँले उठ्ने/नउठ्ने कुरै गर्नुभएको छैन,’ थरुनीले भनिन्, ‘अहिले चुनावको कुराकानी हुने बेला भएकै छैन ।’

यो क्षेत्रमा रास्वपा, जनमत लगायतका दलले चुनावी प्रचार सुरु गरे पनि कांग्रेसले भने चुनावउन्मुख गतिविधि अघि बढाएको छैन । महामन्त्री शर्मा चार दिन क्षेत्रमा बसेर स्थानीय नेता/कार्यकर्ताको कुरा सुनेर काठमाडौं फर्केका छन् ।

प्रदेश, जिल्ला, क्षेत्रीय कार्यसमिति, पालिका, वडा तहका नेताहरूसँग छलफल गरेको आधारमा शर्माले पार्टी बैठकमा त्यहाँको अवस्था सुनाएका थिए ।

शर्मासँगको छलफलमा सहभागी रमेश खनालले भने, ‘उपचुनाव जित्नेगरी लाग्नुस् भन्ने सकारात्मक भाइब्स दिएर विश्वप्रकाश दाइ फर्कनुभएको छ ।’

कांग्रेसका लागि अहिले चुनौतीपूर्ण समय रहेकाले उम्मेदवार चयन गर्दा पार्टीले विशेष ध्यान दिनुपर्ने खनाल बताउँछन् । ‘कांग्रेस नयाँ शिराबाट उठेको सन्देश क्षेत्रका जनतालाई दिनुपर्ने बेला छ । कांग्रेसको व्यक्ति अर्को दल प्रवेश गर्दा ऊ अब्बल हुने र कांग्रेस भएकै आधारमा अब्बल नहुने भन्ने हुँदैन,’ खनालले अनलाइनखबरसँग भने,‘युवालाई कांग्रेसले उम्मेदवार बनायो भने अरूभन्दा हामी के कम छौं भनेर जाने अवस्था आउँछ ।’

गत चुनावमा राप्रपाका दीपक बोहरासँग कांग्रेस उम्मेदवार खाँण पराजित भएका थिए । बोहराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाँणले ३४ हजार ३६ मत ल्याएका थिए । एमालेसँगको चुनावी तालमेल गरेका राप्रपा उम्मेदवार बोहराले २६८१ मतान्तरले खाँणलाई हराएका थिए ।

गत चुनावमा समानुपातिक र स्थानीय तहमा कांग्रेस यस क्षेत्रमा पहिलो दल बनेको थियो । कांग्रेसले २० हजार २७९, एमालेले १६ हजार ९८६ र समानुपातिकमा तेस्रो स्थानको मत रास्वपाले १४ हजार १५४ मत ल्याएको थियो ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?