+
+
Shares

रुपन्देही उपचुनावमा खाँणको चासो, छैन उठ्ने टुंगो

मानव तस्करी जस्तो गम्भीर मुद्दा विचाराधीन रहेका कारण खाँणलाई पार्टीले टिकट दिने सम्भावना पनि कम छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ असार ३२ गते २०:५२

३२ असार, विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कांग्रेस नेता बालकृष्ण खाँण कारागारबाट छुटेपछि पार्टी राजनीतिमा सक्रिय छन् ।

१ असार २०८० मा जिल्ला अदालत काठमाडौंको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका खाँण २८ मंसिरमा उच्च अदालत पाटनको आदेशपछि ३० लाख धरौटीमा छुटे । शरणार्थी प्रकरणसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन छ ।

आफूमाथि राजनीतिक प्रतिशोध साँधेको दाबी गर्दै आएका खाँण नेपाली कांग्रेसको राजनीतिमा छन् तर विगतको भन्दा फरक गुटमा । विगतमा उनी सभापति शेरबहादुर देउवा निकट थिए । पछिल्लो समय डा. शेखर कोइराला नजिक पुगेका छन् ।

खाँणको सक्रियता रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनावमा पनि देखिने निश्चित छ । जसको संकेत उनले विराटनगरमा कांग्रेस नेताहरूसँग गरेका छन् ।

उनीसँग भेटघाट गरेका नेताहरूका अनुसार रुपन्देही उपचुनावको विषयमा उनले खुलेर केही बोलेनन् । तर चासो रहेको संकेत भने गरे । आफ्नै क्षेत्र भएका कारण रुपन्देही- ३ मा खाँणको चासो स्वाभाविक रहेको उनीसँग भेट गरेका नेताहरू बताउँछन् । तर उम्मेदवार बन्ने टुङ्गो छैन ।

मानव तस्करी जस्तो गम्भीर मुद्दा विचाराधीन रहेका कारण खाँणलाई पार्टीले टिकट दिने सम्भावना पनि कम छ । ‘आफ्नै क्षेत्र भएका कारण दाइले चासो दिनुभएको छ, तर स्पष्ट केही कुरा राख्नु भएन,’ खाणसँगको भेटपछि एक नेताले भने, ‘दाइको इच्छा फेरि संसद्‌मा जाने छ भन्ने चाहिँ हामीले बुझ्यौं ।’

राजनीतिका चतुर खेलाडी मानिने खाँण पहिलो पटक २०४८ सालमा रुपन्देही-३ बाट निर्वाचित भएका थिए । त्यसयता पटकपटक चुनाव जितेका उनी सत्ताको वरिपरि रहे ।

२०७९ सालमा पराजित भएपछि उनको राजनीति संकटमा पर्‍यो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि उनको राजनीति संकटमा छ ।

बुधबार बिहान कोइराला निवासमा पत्रकार सम्मेलनमा भने उनले उम्मेदवार बन्ने विषयमा केही बोलेनन् । रुपन्देहीमा तपाईंको उम्मेदवारीको चर्चा छ नि भन्ने प्रश्नमा उनले ठट्यौली जवाफ दिए,‘अहिले म मोरङमा छु ।’

रुपन्देही- ३ मा ४ मंसिर २०७९ को चुनावमा राप्रपा उम्मेदवार दीपक बोहरासँग कांग्रेस उम्मेदवार खाँण पराजित भएका थिए । ३६ हजार ७१७ मतसहित बोहरा निर्वाचित हुँदा तत्कालीन गृहमन्त्रीसमेत रहेका खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । गत १९ चैतमा बोहराको निधन भएपछि रिक्त रहेको स्थानमा १७ कात्तिकमा उपनिर्वाचन हुँदैछ ।

शरणार्थी प्रकरणमा कारागारमा हुँदा उनलाई सभापति देउवाले भन्दा बढी चासो र प्रथमिकता कोइरालाले दिएका थिए । यद्यपि, खाँणले टिममा परिवर्तनको औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

‘हिजो उहाँलाई गिरिजाबाबुले तरुण दलको अध्यक्ष बनाउनुभयो, केन्द्रीय सदस्य पनि उहाँले नै बनाउनुभएको थियो, सुशील कोइरालासँग कुरा नमिलेपछि देउवा क्याम्पसा जानुभएको थियो,’ कोइराला निकट अर्का नेताले भने, ‘लिगेसी जोडिएका कारण १५औं महाधिवेशनमा डा. शेखरलाई सघाउनुहुन्छ ।’

कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै खाँणले पनि सोही संकेत गरे । ‘पार्टी नेता शेखर कोइराला यहाँ बस्नुहुन्छ, तर यहाँ पहिले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, बुवा कृष्णप्रसाद कोइराला पनि बस्नुहुन्थ्यो,’ उनले भने, ‘यहाँ सबै कोइरालालाई सम्झनुपर्छ, उहाँहरूसँग भावनात्मक सम्बन्ध छ, उहाँहरू हाम्रो लागि महामानव हो, निवासलाई पार्टीको गुटको रूपमा हेर्नु हुँदैन, यो हाम्रो लागि धार्मिकस्थलझैं पवित्र हो ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?