Comments Add Comment

भरपेट खाएर पनि कसरी मोटोपनबाट बच्ने ?

मोटोपन बढेको बढ्यै छ । चिकित्सकहरु भन्छन्, ‘मोटोपनले अनेक रोग पैदा गर्छ ।’ मोटोपन कसरी घटाउने त ?

यसका लागि कोही जिम धाइरहेका छन्, कोही दौडिरहेका छन्, कोही खानेकुरामा कटौती गरिरहेका छन् । व्यायामले त शरीरको समूचित विकासमा सहयोग गर्छ । शरीरलाई लचिलो, फुर्तिलो र स्वस्थ राख्छ । तर, खानेकुरा कटौतीले ?

नियमित खानेकुराको मात्रा अचानक घटाउँदा शरीरमा पोषक तत्व पर्याप्त नहुन सक्छ । किनभने हाम्रो शरीरलाई आवश्यक पोषक तत्व धेरैजसो खानेकुराबाट नै प्राप्त हुन्छ । जब मोटोपन घटाउने चक्करमा खानेकुरा खान छाड्छौं, पोषक तत्वको अभाव हुन थाल्छ ।

तर, अहिले मोटोपन नियन्त्रण गर्न धेरैले छाक छाड्ने गरेका छन् । खानपानमा कटौती गरेपछि तौल नियन्त्रण हुन्छ भन्ने बुझाई समाजमा व्याप्त छ ।

जबकि मोटोपन नियन्त्रण गर्नका लागि खानेकुरा नै छाड्ने होइन, बरु खानेकुराको छनौटमा ध्यान दिन जरुरी हुन्छ । भनिन्छ, भरपेट खाएर खाएर पनि शरीरको तौल सन्तुलित राख्न सकिन्छ ।

यसमा एउटा सर्त छ ।

त्यस्तै खानेकुरा खानुपर्छ, जो शरीरले माग्छ । मन र मुखले मागेको कुरा खान थाल्ने हो भने शरीरले धान्न सक्दैन । मनले माग्दैमा जतिपनि खानेकुरा, जे पनि खानेकुरा खाने होइन । खानेकुरा खाइरहँदा सोचौं कि, यो मेरो शरीरका लागि हो ।

खानेकुरा शरीरको लागि हो भने भरपेट खाएर पनि फरक पर्नेवाला छैन ।

खानेकुरा स्वस्थ्यकर, पोषिलो हुनुपर्छ । सागपात, गेडागुडी, झोल आदिको सन्तुलन हुनुपर्छ । हाम्रो थालीमा सलादको मात्रा बढाउनुपर्छ । मौसम अनुसार काक्रा, मुला, गाँजर, चुकन्दर, बन्दा आदिको सलाद बनाउनुपर्छ ।

त्यसो त उसिनेको आलु, अण्डा आदिको पनि सलाद बनाएर खान सकिन्छ । खानेकुरा तारेको, भुटेको भन्दा उसिनेको, बफ्याएको सर्वोत्तम हो । यस्ता खानेकुरा जति खाएपनि मोटोपन बढ्ने भय हुँदैन ।

हरेक विहान नास्तामा सलाद खानुपर्छ । भरपेट सलाद खाएपछि भोक महसुष हुँदैन । भोक महसुष नभएपछि बजारका खानेकुरा, प्याकेटबन्द खानेकुरा आदिको तलतल लाग्दैन ।

गाउँघरतिर गाई–बस्तुले सलाद खान्छ, शहरमा हामी जंकफूडले पेट भर्छौं । गाउँमा कांक्रा, फर्सी, इस्कुस, सागपात गाईलाई दिइन्छ । यता शहरियाहरु वेलामौकामा प्लेटभरी सलाद सजाएर खान्छन् । मुड चल्दा मात्र खाएर हुँदैन । नियमित रुपमा खानुपर्छ ।

खानेकुरा सेवन गर्दा पोषक तत्वमा ध्यान दिन जरुरी छ । कुन खानेकुराबाट के पोषक तत्व मिल्छ भन्ने कुरा थाहा भयो भने  त्यही अनुसारको खानेकुरा मिलाउन सकिन्छ । यसरी शरीरलाई आवश्यक पोषक तत्व मिलाएर खाना खाएमा शरीरमा अतिरिक्त बोसो जम्दैन । बोसो नजमेपछि मोटोपन बढ्ने कुरै हुँदैन ।

ठोस खानेकुरा जति खाइन्छ त्यो भन्दा बढी पेय पदार्थ पिउनुपर्छ । जुस, सर्वत, दही, मोही, लस्सी, पानी पिउने गरौं । बजारमा पाइने तयारी जुस भन्दा ताजा जुस उपयुक्त हुन्छ । घरमै कागती पानी मिसाएर सर्वत पिउन सकिन्छ ।

खानेकुरालाई बिस्तारै चपाएर, हतार नगरी, आनन्दसाथ खानुपर्छ । लामो समय खाली पेट बस्ने र एकसाथ धेरै खानेकुरा खानु हुन्न । थोरै थोरै तर धेरै पटक खानु राम्रो हो । यदि खानेकुराको सन्तुलन र शैली मिलाउने हो भने भरपेट खाएर पनि शरीरको तौल सन्तुलित राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment