Comments Add Comment

लुम्बिनीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि साउन २७ गते छलफल हुने

२१ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी दिएका छन् ।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

यसअघि गत वैशाख ६ गते विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरकेा थिए । उक्त अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर त्यसै दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिए र फेरि नेकपा एमालेको एकल बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिए । प्रदेश प्रमुख धर्मनाथ यादवले पनि पोखरेललाई एकल बहुमतको मुख्यमन्त्रीको रुपमा नियुक्त गरे ।

विपक्षी दलहरुले भने त्यतिबेलादेखि नै मुख्यमन्त्रीलाई प्रदेशसभाको विश्वास नभएको भन्ने जिकिर गर्दै आएका थिए । उनीहरुले वैशाख २६ गते पुन अविश्वास प्रस्ताव दर्ता गरी छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै तत्कालिन प्रदेश प्रमुख यादवसमक्ष निवेदन दिएका थिए । तर यादवले प्रदेशसभाको अधिवेशन बोलाएनन् ।

केन्द्रमा सरकार फेरबदल भई शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि लुम्बिनीका प्रदेश प्रमुखका रुपमा अमिक शेरचन आएपछि विपक्षी दलहरुले पुन: अविश्वास प्रस्ताव दर्ता गरी त्यसमाथि छलफलका लागि विशेष अधिवेशन बोलाउन मंगलबार निवेदन दिएका थिए । त्यही निवेदनअनुसार बिहीबार प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment