Comments Add Comment

सांसदलाई बन्धक बनाउनु लज्जास्पद र आपराधिक : माओवादी केन्द्र

फाइल तस्वीर

२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमण भएको बताएको छ ।

माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो । हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं घोर निन्दा गर्दछ ।’

राजनीतिको यो हदको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई अपील गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।

साविकको नेकपाबाट निर्वाचित खत्रीले १९ वैशाखमा माओवादी केन्द्र रोज्ने निर्णय गरेकी थिइन् । तर १५ साउनमा आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ल्याएर बन्धक बनाएको, एमालेमा फर्किएको भनेर वक्तव्य जारी गर्न लगाएको र २० गते आफू त्यहाँबाट भाग्न सफल भएको भन्दै वलीले बिहीबार पत्रकार सम्मेलन गरेकी थिइन् । एमाले र प्रदेश सरकारले भने त्यसको खण्डन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment