Comments Add Comment

काठमाडौंमा खोप लगाउनेको लामो लाइन

२३ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्ध चिनियाँ भेरोसेल खोपको दोस्रो डोज लगाउन हाल काठमाडौंसहित देशभर खोप अभियान सञ्चालन भइरहेको छ । काठमाडौं उपत्यकाको खोपकेन्द्रहरुमा सर्वसाधारणको लामो लाइन छ ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकी रहेको भन्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबारदेखि शुरु भएको खोप काठमाडौं महानगरपालिका ३२ वटै वडाको १/१ स्थानबाट दिने व्यवस्था गरिएको छ । तर दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धेरै भएकाले वडामा ३ वटा स्थान तोकी सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीय ताराबहादुर खड्काले माग गरे ।

‘धेरै बाँकी छन्–भेरोसेल खोपको दोस्रो डोज लगाउनेहरु । एउटा वडामा ३ वटा ठाउँ तोकी सबैले खोप लगाउने पाउने व्यवस्था सरकारले गरिदिए अझै राम्रो हुने थियो । खोप सहज ढंगले लगाउन पाएकोमा सरकारलाई धन्यवाद ।’

काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरुले राम्रो व्यवस्था गरेको बताए ।

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको उनको भनाइ छ । वडाध्यक्ष केसीले भने, ‘राम्रोसँग दोस्रो डोजको खोप लगाउने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको छ ।’

काठमाडौं महानगरपालिकाले आइतबारसम्म यो खोप लगाउने व्यवस्था गरेको छ । तोकिएका सबै खोप केन्द्रहरुका बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि वडाध्यक्ष केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment