Comments Add Comment

किशोर पुस्ता : किन यस्तो हुन्छ १६ वर्षे उमेरमा

किशोरवय एक चञ्चल उमेर । यो उमेर चरणमा उनीहरु शारीरिक र मानसिक परिवर्तनको अवस्थाबाट गुज्रिरहेका हुन्छन् । ९ देखि १५–१६ बर्षको उमेर आफैमा एक संवेदनशिल चरण हो । यसलाई ‘यौवनावस्था’ पनि भनिएको छ ।

जसै उनीहरु किशोर चरणमा प्रवेश गर्छन्, आमाबुवाबाट दुरी बढाउन थाल्छन् । साथीसंगीसँग रमाउन थाल्छन् । घरको परिधीभन्दा बाहिरको संसारमा विचरण गर्न थाल्छन् । बाहिरको कुरा सुन्न र बुझ्न थाल्छन् ।

आमाबुवालाई भन्न नसकेका कुरा साथीभाईसँग साझेदार गर्छन् । उनीहरु आफुलाई हुर्किसकेको अनुभूत गर्छन् । शरीरका अंगहरु परिपक्क हुँदै जाँदा केहि लाज र असहज पनि महसुष गर्छन् । खासगरी यौनाङ्ग, स्तनको विकास, रौ पलाउने, स्वर बद्लिने, मासिक स्राव हुने जस्ता कुरालाई उनीहरु सहज रुपमा ग्रहण गर्न सकिरहेका हुँदैनन् । आफ्नो शरीर बद्लिदै गएको भेउ पाएसँगै उनीहरु अरुको सामुन्ने खुल्न असजिलो मान्छन् ।

यद्यपि यो उमेर चरणमा आफ्नो रुपरंगको बढी नै ख्याल राख्छन् । आफुलाई कसरी आकर्षक देखाउने भन्ने ध्याउन्न हुन्छ । आफ्नो अनुहार, जिउडाल कस्तो छ भनेर ख्याल गर्न थाल्छन् । कस्तो पहिरनले सुहाउँछ, कस्तो कपाल राम्रो देखिन्छ भन्ने कुरामा उनीहरु बढी नै सोच्छन् ।
त्यो त किशोर उमेर भनेको आफैमा प्रयोगको चरण पनि हो । यो उमेरमा उनीहरुले जस्तोसुकै प्रयोग पनि गर्न सक्छन् । जस्तो उनीहरुले पहिरनमा नयाँ नयाँ प्रयोग गर्न सक्छन्, कपालको शैलीमा प्रयोग गर्न सक्छन् । यतिबेला उनीहरुको शरीर आफैमा प्रयोगशाला जस्तै हुन्छ ।
त्यसैले उनीहरु आज जस्तो शैली अपनाउँछन्, केही समयपछि फरक शैलीमा रुपान्तरण गर्छन् । साथीसंगती आदिको प्रभाव पनि यसबेला बढी नै हुन्छ । यतिबेला उनीहरु देखासेखी गर्ने स्वभावका पनि हुन्छन् ।

मनोविज्ञहरुका अनुसार यौवनावस्थामा पुगेका केटीहरु रजस्वला सुरु हुन्छ । केटाहरुको यौनाङ्ग पनि विकसित भइसको हुन्छ । यौवनावस्था शुरु हुने समयमा पुरुष सेक्स हर्माेन एन्ड्रोजिन र महिला सेक्स हर्माेन एन्ट्रोजिनबाट प्रसस्त मात्रामा यौनरसहरु निस्कछन् ।

यो उमेर चरणमा लाज, भय, चञ्चलता, उत्सुकता एकसाथ पैदा हुन्छ ।

यहि बेलादेखि उनीहरुमा यौनप्रति स्वभाविक चासो बढ्छ । विपरित लिंगप्रति आकर्षण बढ्छ । उनीहरु बढि काल्पनिक हुन्छन् । धेरै कुरामा बहकिन्छन् । ठूल–ठूला सपना देख्छन् । आफ्नै संसारमा मनमग्न हुन्छन् ।

यतिबेला उनीहरु एकान्तमा बस्न रुचाउँछन् । आफ्नै कल्पनाको उडान भर्न चाहन्छन् । सानोतिनो कुराले पनि उनीहरुलाई उत्साहित बनाउँछ, विचलित पनि । त्यसैले यतिबेला आमाबुवाको सही मार्गदर्शन जरुरी हुन्छ ।

मनोविज्ञहरु भन्छन्, ‘यो उमेर चरणमा स्वप्नदोष हुनसक्छ, जुन स्वभाविक हो । तर, उनीहरुले यसलाई अस्वभाविक रुपमा पनि बुझ्न सक्छन् । यौन शिक्षा राम्ररी पाएका छैनन् भने यसले उनीहरुलाई भय पैदा गरिदिन्छ ।’ यसैगरी रजस्वला हुँदा पनि उनीहरु लाज र पीडा अनुभव गर्छन् । आफ्नो कुरा खुलेर भन्न सक्दैनन् । यसले उनीहरुमा अनावश्यक तनाव वा चिन्ता पनि पैदा गरिहेको हुन्छ ।

प्रजनन अंगमा हुने परिवर्तनसँगै उनीहरुमा केही भावनात्मक समस्या पनि देखिन्छ । उनीहरु चाडै रिसाउने, झर्किने गर्न सक्छन् । यो अवस्थामा आमाबुवाले उनीहरुको पीडाबोध गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment