Comments Add Comment

कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ दिनयताकै उच्च

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या डेढ महिनायताकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

यसअघि गत असार ९ गते एकैदिन ८१ जना संक्रमितको मृत्यु भएको थियो । त्यसयता कोरोना संक्रमणबाट हुने मृत्यु संख्या लगातार घटेर असार २९ गते १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

त्यसपछि भने संक्रमितको मृत्यु पुनः बढ्दै गएको छ । साउन १ गते एकैदिन ४३ जनाको मृत्यु भएको थियो । त्यसयता दैनिक मृत्यु हुने संक्रमित संख्या १६ देखि ३७ को बीचमा रहेको थियो । तर आइतबार एकैदिन ५५ जना संक्रमितको मृत्यु भएपछि दैनिक मृत्यु हुनेको संख्या पनि बढ्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । शनिबार भने कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमणको दोस्रो लहर उत्कर्षमा रहेका बेला जेठ ५ गते एकैदिन सबैभन्दा बढी २४६ जना संक्रमितको मृत्यु भएको थियो ।

किन बढ्यो मृतक संख्या ?

पछिल्लो समय कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा बिरामीको चाप पनि बढ्दै गएको छ । अस्पतालमा जटिल अवस्थाका संक्रमितको संख्या बढेकाले मृत्यु पनि बढेको संक्रामक रोग विशेष डा. शेरबहादुर पुनले बताए ।

‘यो भेरियन्ट धेरै संक्रामक छ । सामान्य हो भन्दै घर बसेकाहरु धेरै जटिल बनेपछि मात्रै अस्पताल आउने गरेको पाइएको छ । यसले गर्दा संक्रमितलाई बचाउन गाह्रो भएको छ । त्यसैको कारण मृत्युको संख्या बढेको हुन सक्छ’ डा. पुन भन्छन् ।

पहिलो र दोस्रो लहरमा अपनाइएको उपचार पद्धतिको समीक्षा गर्दै उपचार पद्धतिलाई नै परिमार्जन गर्न तर्फ सोच्नुपर्ने हो कि भन्ने अवस्था आएको उनको बुझाइ छ ।

लामो समयसम्म उपचार पाउँदा पनि केही संक्रमितहरुलाई बचाउन नसक्नुले चिकित्सकहरुलाई यसतर्फ सोच्न बाध्य बनाएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment