
२५ साउन, गुल्मी । गुल्मी जिल्लाको नयाँ गाउँमा सहकारीमार्फत चक्लाबन्दी गरेर खेती शुरू गरिएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिकाको वडानम्बर– १ नयाँगाँउमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत चक्लाबन्दी गरेर सामूहिक रूपमा सुन्तला खेतीको सुरुवात गरेको हो ।
यस मार्फत कृषकहरुको आम्दानी वृद्धि हुनुका साथै रोजगारीका अवसर सृजना हुने अपेक्षा गरिएको छ । जिल्लामा आर्थिक वर्ष ०७७-०७८ देखि चक्लाबन्दी खेती अगाडी बढाइएको छ ।
जिल्लाका ५ वटा स्थानमा खाद्यन्न बालीको चक्लाबन्दी खेती र २ स्थानमा फलफूल बालीको चक्लाबन्दी खेती सुरु गरिएको हो । नयाँ गाउँमा ५ हजार सुन्तलाका बिरुवा रोपेर चक्लाबन्दी खेती सुरु गरिएको छ ।
सुर्यदय बहुउदेश्य कृषि शहकारी संस्था मार्फत व्यवसायिक सुन्तला बगैँचाको सुरुवात भएको हो । कुल १९ लाख ११ हजार ३८० रुपैँयाको लागतमा चक्लाबन्दी मार्फत व्यवसायिक सुन्तला बगैँचा तयार गरिएको हो ।
बाँझो जग्गा र जंगललाई फडानी गरेर गर्हाहरु बनाएर एकै ठाउँमा विभिन्न ५ जातका फलफूलका बिरुवा लगाइएको छ । करिव १८० रोपनी क्षेत्रफलमा सुन्तला तथा फलफूलको व्यवसायिक बगैंचा स्थापन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ गुल्मीले जनाएको छ ।
यो बगैंचा लुम्बिनी प्रदेशकै ठूलो बगैचा हुनेछ । बाँझो गज्जामा सरकारको सहयोगबाट चक्लाबन्दी मार्फत खेती सुरु गर्न पाउदा स्थानीय खुसी भएका छन् । चक्लाबन्दी मार्फत गरिएको सुन्तला बगैचालाई नमूना बनाउने स्थानीयले भनाई छ । सुन्तला तथा फलफूल बगैचालाई नमूना बगैचा स्थापना गर्न सकियो भने भोलिका दिनमा कृषि पर्यापर्यटन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
भूगोलका हिसाबले पनि उपयुक्त स्थानमा रहेको ठाउँहरुमा स्थानीय तहले पनि व्यवसायिक बगैचा स्थपना गर्नु पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन इकाइ गुल्मीले जनाएको छ । यसमार्फत कृषकहरुको आम्दानी वृद्धि हुनुका साथै ग्रामीण क्षेत्रबाट आम्दानी नभएकै कारण सहरी क्षेत्रतर्फ बसाइँसराई रोक्न मद्दत गर्नेछ ।
प्रतिक्रिया 4