Comments Add Comment

केपी ओली भ्रष्टाचारीका राजनेता : रमेशजंग रायमाझी

औषधि खरीदको अनियमितताबारे छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग

फाइल तस्वीर

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारीका राजनेता भएको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभामा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्रबारे टिप्पणी गरेका थिए ।

भट्टराईले कांग्रेस कुइराको काग भएको, विचारका दृष्टिले मृतप्रायः रहेको र माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको भनी टिप्पणी गरेका थिए । भट्टराईको भनाइको खण्डन गर्दै कांग्रेस सांसद रायमाझीले केपी ओली भ्रष्टाचारीका राजनेता, भ्रष्टाचारका महानायक भएको भनिएको खण्डमा स्वीकार्न सकिने बताए ।

‘संसद विघटन गरेर संसद समाप्त गर्ने महानायक, भ्रष्टाचारका महानायकले त्यो कदम चालेपछि सांसदहरु बाध्य हुनुभयो नयाँ सरकार बनाउन । यो अवस्था कसले ल्यायो ? हामीले ल्याएको हो ?’ उनले थपे, ‘भ्रष्टाचारका महानायक, भ्रष्टाचारी राजनेता भन्नुस् म स्वीकार्न तयार हुन्छु । भ्रष्टाचारीलाई राजनेता भन्ने ?’

ओली नेतृत्वको सरकार भ्रष्टाचार गर्नमा लागेको र असंवैधानिक शासन चलाउन उद्धत भएपछि बाध्य भएर कांग्रेस सरकारको नेतृत्व गर्न जानु परेको उनले बताए ।

‘अहिले पनि हाम्रो चाहना थिएन सरकार बनाउने । सभापतिले पटक–पटक भन्नुभएको थियो सरकारमा जाने चाहना थिएन भनेर । तर, ओली सरकार भ्रष्टाचारमा लिप्त र असंवैधानिक रुपमा चल्न थालेपछि संसदको बहुमत सांसदहरु प्रधानमन्त्री बनाउन तयार भएपछि के गर्ने ?’

‘ओली सरकार भ्रष्टाचारमा डुब्यो । कोरोना औषधिमा समेत भ्रष्टाचारमा लागेपछि भ्रष्टाचारका महानायक केपी ओलीलाई तह लगाउन अहिलेको गठबन्धन बनेको हो,’ सांसद रायमाझीले थपे ।

उनले केपी ओली नेतृत्वको सरकारका पालामा भएको औषधि खरिदको अनियमितताबारे छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग समेत गरेका छन् । ‘ओली सरकारले औषधि खरिद गर्दा अरबौं भ्रष्टाचार भएको छ । यसबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गरियोस्,’ उनले भने ।

सांसद रायमाझीले ओलीलाई राष्ट्रवादी र राजनेता कसरी पुष्टि हुन्छ ? भनी प्रश्न गरे । ‘सामन्त गोयललाई रातारात बालुवाटार छिराएको कल्ले ? अहिलेको सरकारले गर्‍यो ? होइन केपी ओलीले गरे । अनि उनी राष्ट्रवादी ?’ उनले थपे, ‘कांग्रेस हिङ नभएको पार्टी होइन । ओलीका कारण कांग्रेसलाई हरेकले भन्नुपर्‍यो कि सरकारको नेतृत्व गरिदिनुपर्‍यो ।’

कांग्रेस सांसद रायमाझीले कांग्रेसको चिन्ता नगरी आफ्नै पार्टीको चिन्ता गर्न पनि एमाले सांसद भट्टराईलाई सुझाएका छन् ।

‘नेपाली कांग्रेसको चिन्ता अन्य पार्टीले गर्दै गरेको देख्दा नेपाली कांग्रेसमा प्रवेश गर्ने जमर्को गर्दै हुनुहन्छ कि जस्तो लागिरहेको छ । हैन भने हाम्रो पार्टी, हाम्रो नेताको चिन्ता हामी गर्छौं । तपाईंहरु आफ्नै पार्टीको चिन्ता गर्नुस्,’ उनले भने ।

आफू आफैंमा बलियो रहन नसक्ने अनि अरुलाई आदर्श सिकाउने विषय अमिल्दो रहेको उनले बताए । ‘दुई तिहाईको नजिकमा पुगेर रातारात माओवादीसँग एकता गरेर सरकारमा पुग्छ । कुनै नेतालाई थाहा नदिएर केपी ओलीले प्रचण्डलाई बोलाएर एकता गरेको स्मरण गर्न चाहन्छु । त्यो एकतालाई कायम राख्न नसक्ने अनि अहिले आएर कांग्रेसलाई उपदेश दिने ?’ उनले प्रश्न गरे ।

कांग्रेसले मुलुकलाई महत्वपूर्ण समयमा नेतृत्व गरेको र कम्युनिस्टहरुलाई एक बनाउन समेत भूमिका खेलेको स्मरण गर्न र आफैंमा बलियो हुन सांसद रायमाझीको सुझाव छ । ‘२०४६ सालमा वाम गठबन्धन टुक्रा–टुक्रामा भएर बसेको बेलामा गणेशमानले घरमा बोलाएर घटक बनाइदिने काम गरेको स्मरण होस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment