Comments Add Comment

रुग्ण बनेको मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा

'अनुवभीलाई दिए छिटो पुनर्स्थापना सम्भव'

२६ साउन, काठमाडौं । कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठको गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरूवा भएको हो ।

गत जेठ ३ गते समितिमा कार्यकारी प्रमुखका रुपमा आएका श्रेष्ठको अढाई महिनामै सरुवा भएको हो । मन्त्रालय स्रोतकाअनुसार असार १ गते आएको बाढीपछि समस्याग्रस्त भएको आयोजनालाई पुनर्स्थापनाको कार्यायोजना तयार गर्दैगर्दा श्रेष्ठको सरुवा भएको हो । स्रोतका अनुसार सरकारले सरूवाकाे प्रस्ताव गरेपछि श्रेष्ठले आफ्नो असहमति नहुने बताएका थिए ।

मन्त्रालयले आयोजनामा नयाँ प्रमुख पठाउन छलफल थालेको छ । अहिलेसम्म खानेपानी मन्त्रीको जिम्मा प्रधानमन्त्री स्वयमले लिएकाले सचिव प्रमिलादेवी बज्राचार्यले प्रधनमन्त्रीसँग नै मंगलबार छलफल गर्दैछिन् ।

मन्त्रालयका एक अधिकारी अब आयोजनाबारे राम्रो जानकारी राख्ने सहसचिवलाई कार्यकारी प्रमुखका रुपमा खटाउनुपर्ने बताउँछन् । ‘आयोजना अब रुग्ण बन्यो, यसलाई पुनर्स्थापित गर्न यो आयोजनाबारे राम्रो जानकारी राख्ने वा पहिले कार्यकारी निर्देशकका रुपमा काम गरिसकेकालाई नै जिम्मा दिनु उपयुक्त हुन्छ,’ ती अधिकारीले भने,’मन्त्रालय मातहत रहेका १८ जना सहससचिव मध्येबाट सकेसम्म अनुभवी पात्र छानेमा मात्रै आयोजना तुहिन पाउँदैन ।’

यसअघिका कार्यकारी निर्देशक श्रेष्ठ भने आयोजनाका लागि नयाँ थिए । सकिन लागेको आयोजना भएकाले वरिष्ठ सहसचिवहरुले रुची नगरेपछि श्रेष्ठलाई नै मेलम्चीमा पठाइएको थियो ।  ‘आयोजनामा कनिष्ठ सहसचिव पठाउँदा पुनर्निर्माण काम अघि बढाउन फेरि सकस पर्छ,’ ती अधिकारी भन्छन्,’आयोजनाबारे बुझेका व्यक्ति भए भने काठमाडौंमा पानी ल्याउने वातावरण छिटो बन्नसक्छ ।’

अन्योलमा आयोजना

असार १ गते सुरुङको अवस्था बुझ्न र आवश्यक मर्मत गर्न भन्दै दुई महिने कार्यतालिका सार्वजनिक गरेर मेलम्चीको खानेपानी आयोजनाले सुरुङमा पानी भर्न बन्द गरेको थियो । त्यही दिन राति मेलम्ची नदीमा बाढी नआइदिएको भए भदौ १ गतेसम्म काठमाडौंमा पानी ल्याएर फेरि वितरण सुरु हुन्थ्यो । अस्थायी रुपमा बाँध बाँधेर सीधै सुरुङमा हालिँदै आएको पानीलाई छानेर ल्याउने योजना थियो । त्यसका लागि बाँध र पानी छान्ने ‘डिस्यान्डर’ तयार भइसकेको थियो ।

तर, सुरुङको सुपरीवेक्षण गर्न सुरुङ बन्द गरिएकै दिनमा मेलम्ची नदीमा आएको भीषण बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाइदियो । यसले आयोजनामा १ अर्ब ८८ करोड रुपैयाँको क्षति मात्रै भएन, काठमाडौंमा फेरि मेलम्चीको पानी आउँछ कि आउँदैन भन्ने आशंकासमेत बढाइदिएको छ ।

असार १ गतेको बाढीपछि पनि मेलम्ची आयोजना पुर्नस्थापना हुन सक्नेमा सरकारी अधिकारीहरु विश्वस्त थिए ।  बाढीले पुरेको आयोजनाको बाँध र पानी छान्ने संयन्त्रलाई सफा गरेर माघ-फागुनसम्म पानी ल्याउने कार्ययोजना बनेको थियो ।

तर, साउन १५ गते राति फेरि मेलम्चीका लेदोसहतिको ठूलो बाढी आएपछि भने मेलम्ची फेरि काठमाडौं ल्याउने निश्चित भाका तोक्न नसकिने भन्दै सरकारपछि हटेको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले पछिल्लो बाढीले झन् निराश बनाएको बताएकी थिइन् ।

आयोजनाका एक प्राविधिकका अनुसार मेलम्ची आयोजनाको सुरुङमा पानी हाल्न नदीलाई पुरानै सतहमा फर्काउनुपर्छ ।  जुन काम सानोतिनो प्रयासले सम्भव छैन । बाढी, पहिरोको जोखिमका कारण वषर्ायामभरि आयोजनाको हेडवर्क्स क्षेत्रमा जानै नसक्ने अवस्था छ । आयोजनाको हेडवर्क्स क्षेत्रमा पुग्ने पहुँच सडकसमेत बाढीले बगाएको छ ।

पहिलेको नदीको सतहमा आधारित भएर सुरुङ, हेडवर्क्स र बाँध बनाइएको भन्दै ती प्राविधिकले मेलम्ची नदीले बगाएर ल्याएको माटोले नदीको सतह नै १० देखि १५ मिटरसम्म माथि उठेको छ । त्यसैले मेलम्ची आयोजनाको सुरुङ अहिले नदी बगेको ठाउँ भन्दा १५ मिटर गहिरोमा छ । बाढीले पुरिएको भाग सहजै पन्छाउन नसकिने र पन्छाए पनि यसअघि बनेका संरचना काम लाग्छ कि लाग्दैन भन्ने टुंगो छैन ।

जसोतसो मिलाएर पानी हालेपनि मेलम्चीमा जुनसुकै बेला लेदोसहितको बाढी आउनसक्ने भएकाले नदीको पानी सिधै सुरुङमा हाल्दा झन् क्षति हुन सक्ने अनुमान छ ।  अब विगतकै जसरी अस्थायी बाँध बाँधेर पानी सिधै सुरुङमा हाल्दा जुनसुकै बेला बाढी आएर सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम हुन्छ ।

अब हिउँदमै पनि मेलम्चीको किनारमा रहेको हेडवर्क्समा काम गर्न चुनौती छ । माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्था नै आयोजनाको लागि दीर्घकालसम्म चुनौती बन्ने स्पष्ट छ ।

सहज परिस्थिति बनेमा नयाँ ठेक्का लगाएर काम शुरु गर्नुपर्ने हुन्छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले विशेष निर्णय गर्नुपर्ने अवस्था छ ।

त्यसबाहेक मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्मको जाने २२ किलमेमिटरमध्ये क्षतिग्रस्त ८ किलोमिटर सडकमार्गको नयाँ ट्रयाक नै खोल्नुपर्ने छ भने अरु खण्ड स्तरन्नोति गर्नुपर्ने छ । ४ ठाउँमा पुलहरु र ५ वटा अस्थायी कल्भर्ट राख्नुपर्ने अवस्था पनि छ ।

आयोजनाको २१० मिटरको डाइभर्सन टनेलमा भरिएको लेदो हटाउनुपर्ने छ । बाँध र डिस्यान्डरसहितका पुरिएका संरचनाहरुलाई निकाल्नुपर्ने छ । नदी नियन्त्रणसहतिको काम गर्दा १ अर्ब ८५ करोड थप खर्च लाग्ने अनुमान गरिएको छ ।

यदि थप बाढी नआए र नदीको अवस्था अनुकल रहे २०७९ वैशाखसम्म पानी ल्याउने कार्यतालिका छ । तर, यो कार्यतालिकाको कार्यान्वयन मौसम, तटीय क्षेत्रको भूगर्भ, बाढीको अवस्था, नदीको बहाव र सरकारी निकायको समन्वयमा भर पर्ने आयोजनाले बताउँदै आएको छ । माथिल्लो तटमा बाढीबारे पूर्वचेतावनी दिने संयन्त्रहरु पनि राख्नुपर्ने आवश्यकता छ ।

करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले २०७७ चैत १५ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो । सुरुङ सुपरीवेक्षणको प्रोटोकलसमेत मिचेर चैत २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पानी वितरणको शुभारम्भ गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment