Comments Add Comment

ओलीमाथि एमाले र कांग्रेस सांसदको जुहारी

२६ साउन, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफ्नो पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई ‘राजनेता’ भनेपछि राष्ट्रियसभामा मंगलबार जुहारी नै चल्यो ।

विशेष समयमा बोल्दै उनले सत्तारुढ दलको तिखो आलोचना गर्दै राजनीति ओलीकै वरिपरि घुमिरहेको टिप्पणी गरेका थिए । तर नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भट्टराईको अभिव्यक्तिको खण्डन गरे र ओलीको आलोचना गरे ।

बैठकमा पहिले बोलेका एमाले सांसद भट्टराईले ‘देशले एउटा राजनेता जन्माएको र त्यो राजनेतालाई पराजित गर्न सम्भव नभएको भन्दै फेरि राजनेता फर्केर आउने’ बताए ।

‘केपी ओली सिंहदरबार, बालुवाटार छाडेर बालकोट जानुभएको छ, तर राजनीति उहाँकै वरिपरि घुमेको जस्तो हामी देख्छौं, सदनमा आउँदा उहाँकै चर्चा हुन्छ । सत्तापक्षका माननीयहरुले उहाँको विरोधमा चर्चा गर्नुहुन्छ’ उनले भने, ‘आज सरकार बनिराखेको छैन । मलाई के लाग्छ भने यो सरकार नबन्नुमा पनि केपी ओलीकै फोबिया छ ।’

एमाले सांसद भट्टराईले सडकमा समेत केपी ओलीकै चर्चा भएको बताए । ‘सडकमा पनि आश लागेको नेतालाई गुटबन्दीबाट हटाउने काम भयो भन्ने छ, राजनेता भनेको के होला भन्ने लाग्थ्यो । राजनेता भएपछि राजनीति उसकै वरिपरि घुम्दोरहेछ । सडक, सदन र सरकार सबै उसको गाइडेन्समा हिँड्नुपर्ने हुँदोरहेछ’ ओलीले भने ।

भ्रष्टाचारको राजनेता !

कांग्रेस सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी ओलीलाई ‘भ्रष्टाचारको राजनेता’को संज्ञा दिए ।

‘संसद विघटन गरेर संसद समाप्त गर्ने महानायक, भ्रष्टाचारका महानायकले त्यो कदम चालेपछि सांसदहरु बाध्य हुनुभयो नयाँ सरकार बनाउन । यो अवस्था कसले ल्यायो ? हामीले ल्याएको हो ?’ उनले भने, ‘अर्बौं रुपैयाँको भ्रष्टाचारमा संलग्न सरकारका प्रधानमन्त्री, अनि राजनेता र भ्रष्टाचारी राजनेता भन्नुस् स्वीकार्न तयार छु । भ्रष्टाचारको नाइके भन्नुस्, स्वीकार्न तयार हुन्छु । भ्रष्टाचारीलाई राजनेता भन्ने ?’

ओलीको राष्ट्रवादी छविमाथि प्रश्न ?

एमाले नेता भट्टराईले केपी ओलीको निष्ठा र राष्ट्रवादी छविमाथि प्रश्न नरहेको तर, उठाउने गरिएको दुखेसो गरे । खासगरी ओली गणतन्त्रविरोधी हो भनी गर्ने गरिएको आलोचनामा उनले असन्तुष्टि जनाएका थिए ।

एमाले सांसद भट्टराईले वर्तमान सरकार अदालतको परमादेशबाट बनेको दोहोर्‍याए । यसको खण्डन गर्दै कांग्रेस सांसद रायमाझीले कांग्रेसले नचाहँदा नचाहँदै केपी ओलीका कारण सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

०६२/०६३ सालको जनआन्दोलन वरिपरि केपी ओलीले गणतन्त्रबारे टिप्पणी गर्दै ‘बयलगाढा चढेर अमेरिका नपुगिने’ बताएका थिए । तर, त्यसबेलाको परिस्थितिको विश्लेषण नगरी केपी ओलीको निष्ठामाथि प्रश्न उठाउने गरिएको सांसद भट्टराईले दुखेसो गरे ।

‘गणतन्त्रको विषयमा कुरा गर्दा केपी ओलीको निष्ठामाथि प्रहार भयो’ सांसद भट्टराईले भने । उनले त्यसबेलाको परिस्थितिको व्याख्या गरे ।

‘त्यसबेला अवस्था थियो– गणतन्त्रमा जाने कि नजाने ? कांग्रेसले गणतन्त्र स्वीकारेको थिएन । माओवादी राजालाई सिंहासनमा राखेर शासन गर्ने मनसायमा थियो । एमालेको पनि त्यो खालको तत्कालिक कार्यनीति थिएन । त्यसबेला ओलीले एउटा राजनीतिक वक्तव्य दिँदाको अभिव्यक्तिको चर्चा हुन्छ’ सांसद भट्टराईले भने, ‘तर, राजाले माओवादी र व्यवस्थामाथि प्रहार गरेपछि दलहरु गणतन्त्रमा जान तयार भएका हुन् ।’

केपी ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेको नेपाली भूमि फिर्ता ल्याउने प्रयास गरिरहेका बेला सरकारबाट बाहिरिनु परेको उल्लेख गर्दै सांसद भट्टराईले अहिलेको सरकार (दार्चुलामा तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका) जयसिंह धामीको सम्बन्धमा बोल्न नसकेको भनी आलोचना गरे ।

यस विषयमा जवाफ दिँदै कांग्रेस सांसद रायमाझीले केपी ओलीको निष्ठा र राष्ट्रवादी छविमाथि कसरी र किन प्रश्न उठ्यो भनी सांसद भट्टराईको भनाइको खण्डन गरे । उनले सांसद भट्टराईलाई ओली राष्ट्रवादी र राजनेता कसरी पुष्टि हुन्छ ? भनी प्रश्न गरे ।

‘सामन्त गोयललाई रातारात बालुवाटार छिराएको कसले ? अहिलेको सरकारले गर्‍यो ? होइन केपी ओलीले गरे । अनि उनी राष्ट्रवादी ?’ सांसद रायमाझीले थपे, ‘कांग्रेस हिङ नभएको पार्टी होइन । ओलीका कारण कांग्रेसलाई हरेकले भन्नुपर्‍यो कि सरकारको नेतृत्व गरिदिनुपर्‍यो ।’

कांग्रेसमाथि प्रश्न

एमाले सांसद भट्टराईले कांग्रेसको वैचारिक धरातलमाथि प्रश्न गरे । साथै माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको भनी टिप्पणी गरे ।

‘कांग्रेस असाध्यै दयनीय स्थितिमा छ । सरकारमा छँदा बलियो भएको हो कि भन्ने लाग्न सक्छ । विचारधाराको हिसाबले कांग्रेस मृतप्रायः भइसकेको छ । बिपी सँगसँगै उसको नीति सकिएको छ’ भट्टराईले भने । उनले कांग्रेस कुहिराको काग भएको भन्दै माओवादीको वैशाखी खोजिरहेको टिप्पणी गरे ।

सांसद रायमाझीले एमाले सांसदले कांग्रेसको चिन्ता गरेको भन्दै ब्यंग्यात्मक टिप्पणी गरे । ‘नेपाली कांग्रेसको चिन्ता अन्य पार्टीले गर्दै गरेको देख्दा नेपाली कांग्रेसमा प्रवेश गर्ने जमर्को गर्दै हुनुहन्छ कि जस्तो लागिरहेको छ । होइन भने हाम्रो पार्टी, हाम्रो नेताको चिन्ता हामी गर्छौं । तपाईंहरु आफ्नै पार्टीको चिन्ता गर्नुस्,’ उनले भने ।

आफू आफैंमा बलियो रहन नसक्ने अनि अरुलाई आदर्श सिकाउने विषय अमिल्दो रहेको भन्दै सांसद रायमाझीले प्रश्न गरे, ‘रातारात माओवादीसँग एकता गरेर सरकारमा पुग्छ । कुनै नेतालाई थाहा नदिएर केपी ओलीले प्रचण्डलाई बोलाएर एकता गरेको स्मरण गर्न चाहन्छु । त्यो एकतालाई कायम राख्न नसक्ने अनि अहिले आएर कांग्रेसलाई उपदेश दिने ?’

कांग्रेसले मुलुकलाई महत्वपूर्ण समयमा नेतृत्व गरेको र कम्युनिस्टहरुलाई एक बनाउनसमेत भूमिका खेलेको रायमाझीले दावी गरे । ‘२०४६ सालमा वाम गठबन्धन टुक्रा–टुक्रामा भएर बसेको बेलामा गणेशमानले घरमा बोलाएर घटक बनाइदिने काम गरेको स्मरण होस्,’ उनले भने ।

सरकार जनादेशको र परमादेशको ?

एमाले सांसद भट्टराईले वर्तमान सरकार अदालतको परमादेशबाट बनेको दोहोर्‍याए । यसको खण्डन गर्दै कांग्रेस सांसद रायमाझीले कांग्रेसले नचाहँदा नचाहँदै केपी ओलीका कारण सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

ओली नेतृत्वको सरकार भ्रष्टाचार गर्नमा लागेको र असंवैधानिक शासन चलाउन उद्धत भएपछि बाध्य भएर कांग्रेस सरकारको नेतृत्व गर्न जानुपरेको उनले जिकिर गरे ।

‘अहिले पनि हाम्रो चाहना थिएन सरकार बनाउने । सभापतिले पटक–पटक भन्नुभएको थियो सरकारमा जाने चाहना थिएन भनेर । तर, ओली सरकार भ्रष्टाचारमा लिप्त र असंवैधानिक रुपमा चल्न थालेपछि संसदको बहुमत सांसदहरु प्रधानमन्त्री बनाउन तयार भएपछि के गर्ने ?’ उनले प्रश्न गरे ।

सांसद रायमाझीले अघि भने, ‘संसद विघटन गरेर संसद समाप्त गर्ने महानायक, भ्रष्टाचारका महानायकले त्यो कदम चालेपछि सांसदहरु बाध्य हुनुभयो नयाँ सरकार बनाउन । यो अवस्था कसले ल्यायो ? हामीले ल्याएको हो ?’

ओली नेतृत्वको सरकारले कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीमा पनि भ्रष्टाचार गरेको भन्दै उनले भने ‘…भ्रष्टाचारका महानायक केपी ओलीलाई तह लगाउन अहिलेको गठबन्धन बनेको हो ।’

औषधि खरिदबारे संसदीय छानबिनको माग

कांग्रेस सांसद रायमाझीले केपी ओली नेतृत्वको सरकारले कोरोना महामारीका बेला गरेको स्वास्थ्य सामग्री खरिदको छानबिन माग गरेका छन् ।

‘कोभिड– १९ को महामारीमा स्वास्थ्य सामग्री खरिद गर्दा अर्बाैँ रुपैयाँ भ्रष्टाचार गरेको छ । सरकारको साझा कार्यक्रममा त्यो कुराको संकेत गरिएको छ । त्यसमा संलग्न हुने भ्रष्टाचारी सबैलाई कारबाही गर्नका लागि संसदीय समिति बनोस्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment