Comments Add Comment

अमरगढी र पाख्रीबास नगरपालिकासँग काठमाडौंले जोड्यो भगिनी सम्वन्ध

२७ साउन, काठमाडौं । काठमाडौं  महानगरपालिकाले थप दुई नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी-पत्रमा हस्ताक्षर गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर-१को पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको अमरगढी नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी-पत्रमा हस्ताक्षर गरेको हो ।

ती दुई नगरबिच गरेको समझदारी पत्रमा काठमाडौं महानगरपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरे । त्यसैगरी अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरे ।

सात प्रदेशका सात स्थानीय तहसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने योजनाअनुसार यसअघि नै काठमाडौं महानगरपालिकाले कणर्ालीको चन्दननाथ, बागमतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।

हितैषी तथा मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरहरुकाबीच भगिनी सम्वन्ध स्थापनाको अभियान अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

‘मुलुकभित्रकै स्थानीय तह, स्थानीय तहबिच भगिनी सम्बन्ध स्थापनाले पर्या-पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुगोस् भन्ने हेतूले यस्ता सम्वन्ध स्थापना गरेका हौं,’ सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रमपछि सम्बोधन गर्दै प्रमुख शाक्यले भने,’आज हामीले पाख्रीवास र अमरगढी नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेका छौँ । यी दुई नगर र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौं ।’

आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरको बीचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलीकरणका लागि थप प्रयास हुने अपेक्षा लिएको पनि उनले बताए ।

‘यस्ता सम्वन्धले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न, मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्न लगायतमा पनि सहयोग पुग्ने छ,’ उनले भने ।

एकैपटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्ने भन्दै पहिलो चरणमा सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेको र त्यहि अनुरुप थप दुई नगरसँग सम्बन्ध स्थापना गरेको जानकारी दिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड -ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको महानगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले काठमाडौैं र पाख्रीबासको भूगोल एउटै भए पनि सपना अलग-अलग रहेको भन्दै दुई स्थानीय तहबिचको सम्वन्धले आफू उत्साहित भएको बताए ।

‘काठमाडौँ महानगरले मोनोरेल र मेट्रोरेलको सपना देखेको छ । यहाँको महानगरको सपना ठूलो छ,’ प्रमुख राईले भने, ‘हाम्रो सपना सबै वडामा सबै मौसममा यातातात आजत-जावत गर्न सक्ने सडक बनोस् भन्ने सपना छ ।’

कार्यक्रममा सम्वोधन गर्दै अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बडाकाजी अमरसिंह थापाले पश्चिमी क्षेत्रको एकीकरणका बेला निर्माण गरेको ऐतिहासिक अमरगढी किल्ला र त्यहि किल्लाको नामबाट स्थापित ननगरपालिका र साँस्कृतिक सहर काठमाडौँ महानगरबिच भगिनी सम्वन्ध स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उनले सहिद भिमदत्त पन्तको जन्मूभि, प्रसिद्ध धार्मिक स्थल उग्रतारा रहेको अमरगढी धार्मिक तथा पर्यटकीय स्थल पनि रहेको जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विकास निर्माणका काममा हातालेमालो गर्दै काठमाडौं महानगरपालिका अघि बढेको बताइन् ।

समझदारी पत्रमा हस्ताक्षसँगै काठमाडौं महानगरपालिकाले नगर-नगर साझेदारी कार्यक्रम अन्तरगत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ पार्क निर्माण गर्न १ करोड ५० लाख सहयोग सम्झौता गरेको छ ।

अमरगढी नगरपालिकाको वडा नम्बर-२ र ५ मा अवस्थित अमरगढी पार्क निर्माणका लागि पनि १ करोड ५० लाख सहयोग गरेको छ । ४ सय ५० रोपी क्षेत्रफल रहेको सो पार्क निर्माणका लागि सहयोग गरेको महानगरपालिकाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment