Comments Add Comment

कांग्रेस अधिवेशन : भदौ २३ देखि कि कोजाग्रत पूर्णिमापछि ?

२८ साउन, काठमाडौं । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका बनाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । पार्टी कार्यालय, सानेपामा क्रियाशील सदस्यता विवादलाई लिएर धर्ना भइरहेकाले केन्द्रीय सदस्यहरुको सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा बोलाइएको छ ।

पछिल्लो पटक संशोधित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन भदौ १६-१९ सम्म हुनुपर्ने हो । तर क्रियाशील सदस्यता विवादका कारण वडा, स्थानीय तह लगायतका तल्लो कमिटीको कुनै पनि अधिवेशन सुरु नै हुन सकेको छैन । नेताहरुका अनुसार अहिले दुई विकल्पमा छलफल भइरहेको छ ।

पहिलो : भदौ २३ बाट निरन्तर अधिवेशन

दोस्रो : कोजाग्रत पूर्णमापछि अधिवेशन

संविधानको धारा २६९ (४) अनुसार हरेक राजनीतिक पार्टीले ५ वर्षमा एक संघीय र प्रदेश तहका पदाधिकारीको निर्वाचन गर्नुपर्छ । विशेष परिस्थिति उत्पन्न भएर ५ वर्षमा अधिवेशन गर्न नसके र ६ महिनाभित्र गर्नुपर्छ । कांग्रेसको महाधिवेशन नभएको यही भदौ २३ मा ५ वर्ष ६ महिना पूरा हुन्छ ।

कांग्रेस नेताहरुका अनुसार अब २३ भदौभित्र केन्द्रीय महाधिवेशन गर्न सम्भव छैन । त्यसैले पार्टीको वैधानिकता जोगाउन २३ भदौबाट अधिवेशन प्रक्रिया सुरु गर्ने विकल्पमा छलफल भइरहेको छ । ‘वरिष्ठ नेता रामचन्द्र पौडेल त तत्काल अधिवेशन गर्नुपर्छ भन्दै आउनु भएको छ । २३ भदौबाट अधिवेशन सुरु गर्न सभापति पनि तयार हुनु भएको छ’ छलफलहरुमा सहभागी एक नेता भन्छन् । यसो भएमा असोजसम्म केन्द्रीय अधिवेशन हुनसक्छ ।

तर अधिवेशन सुरु गर्नुअघि क्रियाशील सदस्यताको विवाद टुंग्याउनुपर्ने हुन्छ, जुन सहज छैन । एक केन्द्रीय सदस्यका अनुसार प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यको विवाद भोलि को सभापति हुने भन्नेसँग पनि जोडिएकाले पेचिलो छ ।

क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी लगायतका १३ वटा निर्वाचन क्षेत्रको विवाद टुंगो लगाएको छैन । समितिले टुंग्याएका कतिपय क्षेत्रमा पनि रामचन्द्र पौडेल समूहको आपत्ति छ । पौडेल समूहका जिल्ला सभापतिहरुको भेलाले छानविन समितिले टुंगो लगाएको क्रियाशील सदस्य केन्द्रीय कमिटीले पास गर्नुअघि विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

बिहीबारको केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता पौडेलले क्रियाशील टुंगो लगाएर कार्यतालिका बनाउन माग गर्नसक्ने उनी निकट एक नेता बताउँछन् ।

क्रियाशील टुंगो नगरी कार्यतालिका बनाउँदा कार्यान्वयन नहुने मात्र होइन, समयको चाप देखाएर क्रियाशील विवादलाई आफ्नो अनुकूल बनाउन सक्ने यो समूहको आशंका छ । तर क्रियाशील टुंगो लगाएर मात्र कार्यतालिका बनाउँदा भदौ २३ देखि अधिवेशन सुरु गर्न कठिन हुने नेताहरु स्वीकार गर्छन् ।

त्यसैले क्रियाशील विवाद टुंगो लगाउने र कोजाग्रत पूणिर्मापछि अधिवेशन सुरु गर्ने दोस्रो विकल्पमा पनि नेताहरुबीच छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment