Comments Add Comment

एक साताभन्दा कम समयमा अफगानिस्तानको १० प्रान्तीय राजधानीमा तालिबानको कब्जा

२८ साउन, काठमाडौं । अफगानिस्तानमा युद्ध गरिरहेको चरमपन्थी संगठन तालिबानले एक साताभन्दा कम समयमा १० ओटा प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बिहीबार उसले रणनीतिकरुपमा महत्वपूर्ण मानिएको घान्जी सहरलाई आफ्नो कब्जामा लिएको हो । घान्जी राजधानी काबुललाई कन्दाहारसम्म जोड्ने प्रमुख मार्ग हो । घान्जीलाई आफ्नो कब्जामा लिएसँगै तालिबानले अब छिटै नै काबुल पनि कब्जा गर्न सक्ने अनुमान गरिएको छ ।

अफगानिस्तानका ३४ प्रान्तीय राजधानीमध्ये करिब एक तिहाइ अब तालिबानको कब्जामा गएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जानथालेसँगै तालिबानले दैनिकजसो एउटा प्रान्तीय राजधानीमा कब्जा जमाउन थालेको छ ।

बुधबार कन्दाहारको सहरमा पनि ठूलो युद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । तालिबानले सहरको जेल आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । तर, अहिलेसम्म यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

त्यस्तै अफगानिस्तानको दक्षिणी सहर लस्कर गाहमा पनि तालिबानले प्रहरी हेडक्वार्टरलाई आफ्नो नियन्त्रणमा लिएका छन् । संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार पछिल्लो एक महिनामा अफगानिस्तानमा एक हजारभन्दा धेरै आम नागरिक मारिएका छन् । पछिल्लो एक सातामा मात्र अफगानिस्तानको उत्तरी प्रान्तका हजारौं मानिसहरु विस्थापित भएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment