Comments Add Comment

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

२८ साउन, काठमाडौं । फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १६८ औं स्थानमा छ ।

मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९६८ थियो । अहिलेको नयाँ वरियतामा नेपालले ४ अंक थप्दै ९७२ बनाएको छ ।

यो बीचमा नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । यस्तै इराकसंग मैत्रीपूर्ण खेल पनि खेलेको थियो । चाइनिज ताइपेईलाई नेपालले हराएको थियो भने अरु संग पराजित भएको थियो ।

आफू भन्दा माथिल्लो वरियतामा रहेको टिमलाई हराएकोले नेपालले यस पटक अंक जोड्न सफल भयो । दक्षिण एसियामा भारत सबैभन्दा अघि १०५ औं स्थानमा छ । यस्तै माल्दिभ्स १५८ औं स्थानमा झरेको छ ।

नेपाल भन्दा पछि रहेकामध्ये भुटान १८७ औं, बंगलादेश १८८ औं, पाकिस्तान १९८ औं र श्रींलका २०५ औं स्थानमा छ । पाकिस्तान अहिले फिफाको प्रतिबन्धमा रहेकाले अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैन ।

यसैगरी विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा शीर्ष दशमा भने केही फेरबदल भएको छ ।

मेक्सिको र अमेरिका शीर्ष दशमा प्रवेश गर्दा डेनमार्क र उरुग्वे बाहिरिएका छन् । यस्तै युरो विजेता इटली र कोपा अमेरिका विजेताले अर्जेन्टिनाले वरियता सुधार गरेको छ ।

कोपाको उपविजेता ब्राजिल एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लँदा फ्रान्स तेस्रोमा झरेको छ । युरो फाइनल पुगेको इंग्ल्याण्ड चौथो स्थानमा यथावत छ ।

इटली र अर्जेन्टिना क्रमश: पाँचौं र छैटौं स्थानमा उक्लेको छ भने स्पेन सातौं र पोर्चुगल आठौं स्थानमा झरेका छन् । मेक्सिको नवौं र अमेरिका दशौँ स्थानमा उक्लेको छ ।

एसियाली राष्ट्रहरुमध्ये सबैभन्दा अघि रहेको जापान २४ औं र इरान २६ औं स्थानमा छ । यस्तै अष्ट्रेलिया ३५ औं र  दक्षिण कोरिया ३६ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment