Comments Add Comment

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अख्तियारको विस्तृत छानबिनमा

फाइल तस्वीर

२८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततामाथि विस्तृत अनुसन्धान गर्ने भएको छ ।

त्यसैको तयारीस्वरुप विहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयबाट गएको टोलीले आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै स्थलगत छानबिन पनि गरेको हो । अख्तियार स्रोतले भन्यो, ‘त्यो टोलीले प्रारम्भिक प्रतिवेदन बुझाउनासाथ निर्णय गरेर विस्तृत अनुसन्धान गर्ने योजना छ ।’

अख्तियारको टोलीले प्रतिष्ठानबाट बिहीबार स्वास्थ्य उपकरण खरिदसँग सम्बन्धित कागजात, उपकरण खरिदका विवरण, उपकरणहरुको अवस्था लगायतका विषयमा प्रमाण संकलन गरेको छ । निर्माणाधीन भवन अलपत्र परेको, बनेका भवनहरु पनि गुणस्तरहीन भएको भन्ने उजुरीका आधारमा अख्तियारले भवनसम्बन्धी विवरण पनि संकलन गरेको थियो । अनि महंगा उपकरण खरिद गरेर अलपत्र पारेकोबारे पनि अनुसन्धान गरेको थियो ।

‘भ्रष्टाचार भएको हो भनेर सहमत हुने कयौं सूचना र उजुरी त पर्याप्त आइसकेका छन्’ अख्तियार स्रोतले भन्यो, ‘त्यसको पुष्टि हुने कागजात र प्रमाण संकलन गरिरहेका छौं, अब अनुसन्धानलाई गति दिन्छौं ।’

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले टोली स्थलगत रुपमा अध्ययनका लागि गएको र सबै प्रमाण संकलन गर्ने बताए । अनुसन्धान भर्खरै शुरु भएकाले थप जानकारी दिन नसक्ने उनले बताए ।

यो पनि पढ्नुहोस वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

के के छन् अनियमितता ?

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपकरण खरिदमा धेरै अनियमितता फेला परेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गरेको छानबिनका क्रममा कोभिड–१९ का बिरामी उपचारका लागि एचडीयू बेड खरिदमा अनियमितता भएको पाइएको थियो । एकैपटक खरिद गरे हुने सामग्रीलाई पनि टुक्र्याएर १२ वटासम्म प्याकेज बनाइएको थियो । त्यससम्बन्धी अडियो रेकर्डको उजुरीसमेत अख्तियारमा पुगेको स्रोतले बतायो ।

खरिदसम्बन्धी कोटेसन र टेण्डरका क्रममा अन्य कयौं अनियमितता भएका छन् । भ्रष्टाचारमा संलग्न भएको आरोप लागेको खरिदकर्ता बायोमेड इन्टनेसनललाई कारवाहीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्राचार नगरी प्रतिष्ठानले उससँग थप एक करोड ६० लाख रुपैयाँको सामान खरिद गरेको भेटिएको थियो । त्यो बाहेक करिव साढे तीन करोड रुपैयाँको अन्य उपकरण पनि खरिद भएको थियो ।

विभिन्न स्वार्थका कारण अस्पतालको सेवा गुणस्तरहीन बनाउने र बिरामी बाहिर पठाउने प्रवृत्ति मौलाएको भनी अख्तियारमा पनि उजुरी परेको थियो । अस्पतालमा महंगो मूल्यमा खरिद गरिएका उपकरण बिगारेर राखिएको छ । अक्सिजन प्लाण्टको क्षमता अस्पतालका लागि पर्याप्त भनिए पनि बजारबाट सिलिण्डर खरिद गरी उपचारमा प्रयोग गरिरहेका छन् ।

नेपाल सरकारका सचिव बैकुण्ठ अर्याल नेतृत्वको अध्ययन टोलीले अस्पतालमा कार्यरत केही चिकित्सकहरुले कार्यालय समयमै बाहिरका निजी क्लिनिकमा काम गरेको भनी प्रतिवेदन दिएको छ । केहीले स्वीकृति विना नै अन्य स्वास्थ्य सेवामा काम गरेका छन् । अस्पतालमै उपलब्ध हुने सेवाका लागि पनि रेफर गरेर क्लिनिकमा पठाउने गरिएको अध्ययन टोलीले फेला पारेको थियो ।

यो पनि पढ्नुहोस वीपी प्रतिष्ठानमा आर्थिक अनियमितता बढ्दै गएको सरकारी कार्यदलको निष्कर्ष

प्रतिष्ठानले उक्त उपकरण खरिदका लागि एउटा कम्पनीका लागि मात्रै अनुकुल हुने गरी मापदण्ड तयार गरेको गुनासो थियो । एचडीयु खरिदका क्रममा उपकुलपति ज्ञानेन्द्र गिरी प्रत्यक्ष संलग्न रहेको स्रोतले बतायो । त्यो निर्णयका क्रममा मूल्याङ्कन समितिले आफ्नो जिम्मेवारी पूरा गरेको थिएन भने निर्णयकर्ता गिरीले पनि पर्याप्त आधार र विश्लेषणबिना निर्णय गरेका थिए । अर्को सप्लायर्ससँग मनोगत रुपमा १४ करोड ६० लाख बराबरको खरिद गरेको अध्ययन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

ठूला भवन, महँगा स्वास्थ्य उपकरण, औषधी, सेवा परामर्श तथा स्टेशनरी खरिदका विषयमा पनि अख्तियारमा उजुरी परेको छ । सबै पदाधिकारीको ध्यान खरिदमा केन्द्रित भएको छानविनले औल्याएको थियो ।

खरिदका कतिपय काम कारवाहीहरु मनोमानी रुपमा अघि बढेको भन्दै कार्यदलले छानविन गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउन सिफारिस गरेको छ । खरिदका काममा पदाधिकारी, कर्मचारी तथा व्यवसायीबीचको मिलोमतो देखिएको प्रतिवेदनमा उल्लेख छ । कानुनविपरीत आफ्नो व्यक्तिगत सुविधाका लागि प्रतिष्ठानको स्रोत साधन खर्च र उपयोग गरेका विषयमा पनि छानबिन भएको हो ।

तीस हजार रुपैयाँ पर्ने सामग्री सोझै खरिदको नाममा पाँच लाख रुपैयाँसम्ममा खरिद भएको भनी उजुरी परेको छ । सिटीस्क्यान, एमआरआई, एचडीयु तथा फार्मेसीसम्बन्धी खरिदमा ठूलो अनियमितता यसअघिको छानविन प्रतिवेदनले औंल्याएको थियो । प्रतिवेदनमा भनिएको थियो, ‘खरिद कार्यमा संलग्न कर्मचारी र व्यापारीको ठूलो र्‍याकेटले काम गरिरहेको ।’

उपकुलपति ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, रेष्टर प्रा. डा. गुरुप्रसाद खनाल, अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह अनियमिततामा संलग्न हुनसक्ने आशंकासहित कार्यदलले प्रतिवेदन दिएको छ ।

यसमा पनि उपकुलपति गिरी र अस्पताल निर्देशक साहले हरेक खरिदमा हस्तक्षेप गरी अनियमितता गरिरहेका थिए भने रजिष्ट्रार रेग्मी खरिदको अधिकार नपाएका कारण आक्रोशित रहेको स्रोतको दावी छ ।

बेथिती मौलाएको प्रतिष्ठानमा एकै वर्षमा ४८ करोड रुपैयाँसम्म बेरुजु निस्किएकोे थियो । २ अर्ब २० करोड रुपैयाँको बजेटमा ७० प्रतिशत रकम चालु प्रकृतिका काममा खर्च भएको थियो ।

यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानका पदाधिकारीहरुको ध्यान आर्थिक लाभ र कमिसनमा मात्रै : छानविन प्रतिवेदन यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानका उपकुलपतिको योग्यतामा अध्ययन समितिले उठायो प्रश्न यो पनि पढ्नुहोस अध्ययन समितिको निष्कर्ष : बीपी प्रतिष्ठानमा ३० हजारको सामान ५ लाखमा खरिद  यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानमा उपकरण दुरुस्त नहुँदा कैयौंले अकालमा ज्यान गुमाए : प्रतिवेदन यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानमा शैक्षिक गुणस्तर पनि खस्कियो : कार्यदल प्रतिवेदन यो पनि पढ्नुहोस बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : स्वास्थ्य सेवा पनि उस्तै भद्रगोल यो पनि पढ्नुहोस जहाँ हेर्‍यो, त्यहीं अनियमितता यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानको आन्दोलन आंशिक फिर्ता, सरकारसँग ६ बुँदे सहमति यो पनि पढ्नुहोस भ्रष्टाचारको अखडा, सबै पदाधिकारी विवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment