+

चेल्सीले लुकाकुलाई फेरि किन क्लबमा ल्यायो ?

२०७८ साउन  २९ गते १७:४४ २०७८ साउन २९ गते १७:४४
चेल्सीले लुकाकुलाई फेरि किन क्लबमा ल्यायो ?

२९ साउन, काठमाडौं । अन्तिमपटक सन् २०१३ मा चेल्सीको जर्सी लगाएर खेलेको रोमेलु लुकाकुमा धेरै परिवर्तन आइसकेको छ ।

उनले दुई देशका तीन क्लबबाट खेले, करिब ३० करोड पाउण्ड आम्दानी गरे, क्लबका लागि १९३ गोल गरे । अनि बेल्जियमका लागि अहिलेसम्मकै सर्वाधिक गोलकर्ता बने ।

गत सिजन उनले गरेको २४ गोल र ११ एसिस्टकै मदतमा एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको इन्टरमिलानले ११ वर्षमा पहिलोपटक इटालियन लिग सिरि ए को उपाधि दिलाए ।

तर, चेल्सीले आफ्नो ट्रान्सफरको रेकर्ड तोड्दै किन २८ वर्षीय लुकाकुलाई क्लबमा भित्र्याउने निर्णय गर्‍यो त ? अनि उनले चेल्सीलाई २०१७ पछि पहिलोपटक प्रिमियर लिगको उपाधि दिलाउन सक्लान् ?

विश्वस्तरीय स्ट्राइकर ?

२०११ को अगष्टमा लुकाकु चेल्सीमा आबद्ध भएका थिए । चेल्सीले उनलाई एन्डरलेचबाट एक करोड ८० लाख पाउण्डमा खरिद गरेको थियो । तर उनले केवल १५ खेल खेले । वेस्ट ब्रोम र इभटर्नमा लोनमा गए । त्यसपछि २ करोड ८० लाख पाउण्डमा एभर्टन गए । यो रकम एभर्टनले त्यतिबेला कुनै पनि खेलाडीका लागि खर्चिएको सबभन्दा ठूलो धनराशी थियो ।

एभर्टनपछि ७ करोड ४० लाख पाउण्डमा म्यानचेस्टर युनाइटेडमा गए । त्यहाँबाट ७ करोड ४० लाख पाउण्डमा इन्टर मिलान पुगे । उनको गोल त नियमितरुपमा आफ्नो हिसाबले भइरहेको छ तर इन्टर मिलानमा गत सिजन जितेको सिरि ए को उपाधि नै लुकाकुको २०१० यताको पहिलो उपाधि हो ।

त्यसअघि उनले एन्डरलेचमा रहँदा बेल्जियन लिगको उपाधि जितेका थिए । त्यसबेला उनी मात्र १६ वर्षका थिए र उनले उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट पनि जितेका थिए ।

२०१२–१३ यता केवल ६ खेलाडीले मात्र युरोपका प्रमुख पाँच लिगको प्रत्येक सिजनमा १० वा सोभन्दा धेरै गोल गरेका छन् । यो सूचीमा क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, रोबर्ट लेवानडोस्की, लुइस स्वारेज, पिर्रे–एमेरिक औबामेयाङ र लुकाकु छन् ।

युरो २०२० चलिरहँदा लुकाकुले भनेका थिए, ‘मानिसहरुले लेवानडोस्की, (करिम) बेन्जेमा वा (ह्यारी) केनको कुरा गर्दा उनीहरुलाई विश्वस्तरीय बताउँथे । तर, मेरो कुरा गर्दाचाहिँ केवल राम्रो फर्म रहेको मानिथ्यो । यसले मलाई थप मेहनत गर्न र बलियो बन्न प्रेरित ग¥यो ।’

‘म उक्त विश्व स्तरीय खेलाडीहरुको सूचीमा सामेल छु ।’

पृथक लुकाकु

दुई वर्षअघि म्यानचेस्टर युनाइटेड छाड्दाको तुलनामा फरक खेलाडीको रुपमा लुकाकु प्रिमियर लिगमा फर्किएका छन् ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज भने लुकाकुको मूल्यांकनका लागि छुट्टै राखेर हेर्नुपर्ने बताउँछन् । एभर्टनमा रहँदा अग्रपंक्तिको खेलाडीका रुपमा लगेका मार्टिनेज लुकाकुले पछिल्लो पाँच वर्षमा आफूलाई अन्तर्राष्ट्रिय स्तरमा पनि साबित गरेको बताउँछन् ।

गत जुनमा मार्टिनेजले भनेका थिए, ‘गोल गर्ने क्षमतासहित उनको जन्म भएको थियो ।’

‘हामी अहिले यस्तो खेलाडीको कुरा गरिरहेका छौं, जो आफ्नो व्यक्तिगत क्षमताको उच्च विन्दुमा छ र वास्तविकरुपमा परिपक्क बनेका छन्’, मार्टिनेज थप्छन्, ‘पछिल्लो समय उनी पूर्णरुपमा फरक मानव र फरक फुटबलर बनेका छन् । उनी अरुलाई पनि प्रभावित पार्न सक्छन् ।’

गत सिजनमा युरोपका प्रमुख पाँच लिगमा केवल तीन खेलाडीले २० वा सोभन्दा धेरै गोल र १० वा सोभन्दा धेरै एसिस्ट गरे । उनीहरु हुन्– ह्यारी केन, रोमेलु लुकाकु र मेम्फिस डिपेइ ।

लुकाकुले गरेको ११ एसिस्ट उनको यसअघि म्यानचेस्टर युनाइडेटमा गरेको उत्कृष्ट प्रदर्शनभन्दा चारले बढी हो । इन्टर मिलानलाई सिरि ए को उपाधि जिताएपछि क्लब छाडेका कोन्टे भन्छन्, ‘रोमेलु विश्वका उत्कृष्ट स्ट्राइकर मध्ये एक हुन् ।’

उनीमा राम्रो क्षमता रहेको र पछिल्लो दुई वर्षमा उनको क्षमतामा थप सुधार आइरहेको उनको भनाइ छ ।

इंगल्याण्डको प्रदर्शन

लुकाकु २४ वर्ष पुग्नु अगाडि नै प्रिमियर लिगमा ८० गोल गर्ने चौथो खेलाडी हुन् । उनले यी सबै गोल वेस्ट ब्रोम र एभर्टनबाट गरेका हुन् । यद्यपि उनले चेल्सीबाट भने कुनै गोल गर्न सकेनन् ।

लुकाकु प्रिमियर लिगमा सबभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा २० औं स्थानमा छन् । उनले प्रिमियर लिगमा ११३ गोल गरेका छन् । जबकी उनले इंग्ल्याण्डमा सात सिजन मात्र नियमित फुटबल खेलेका छन् ।

चेल्सीका पूर्व स्ट्राइकर क्रिस सटोन भन्छन्, ‘उनले आफूलाई प्रिमियर लिगको गोलकर्ताको रुपमा प्रमाणित गरेका छन् । जुन चेल्सीले चाहन्छ, त्यो विश्वसनीयता लुकाकुले क्लबलाई दिन सक्छन् । उनले क्लबका लागि धेरै गोल गर्न सक्छन् ।’

इटालीका फुटबल लेखक जेम्स हर्नकास्टल भन्छन्, ‘उनले सिरि ए लिग रोनाल्डोबाट खोसेर आफ्नो नाम गराए । सामान्य स्ट्राइकरले त्यस्तो गर्न सक्दैन । यो असामान्य खेल थियो । उनी अहिले मिलानको ‘किङ’ हुन्, यो सहर कुनै समय जाल्टन इब्राहिमोभिक सँग जोडिन्थ्यो । अब उनले के साबित गर्न बाँकी छ ?’

चेल्सीलाई लुकाकु किन चाहिएको छ ?

चेल्सी प्रिमियर लिगको पछिल्लो सिजनमा दोस्रो सबभन्दा बलियो रक्षापंक्ति भएको टोली हो । उक्त सिजनमा चेल्सीले ३६ गोल मात्र खाएको थियो । तर गोल गर्न नसक्नु चेल्सीको समस्या रह्यो । पछिल्लो सिजनमा टोलीमा सबभन्दा धेरै गोल गर्ने खेलाडी जोर्गिन्हो बनेका थिए । उनले जम्मा सात गोल गरेका थिए र उनको सबै गोल पेनाल्टीमार्फत भएको थियो ।

सटन भन्छन्, ‘ह्यारी केन म्यान सिटी गए भने उनीहरुले उपाधि जित्न सक्छन्, गएनन् भने चेल्सीमा ठूलो अन्तर देखिन सक्छ ।’

बीबीसीबाट अनुवादित

 

चेल्सी रोमेलु लुकाकु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय