Comments Add Comment

विर्तामोडका एम्बुलेन्स चालकले नै लगाउन पाएनन् कोरोना खोप

फाइल तस्वीर

२९ साउन, झापा । कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पुर्‍याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् ।

बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र शनिश्चरे क्षेत्रका २८ चालकले खोप लगाउन नपाएको बताए । ‘कोरोनाका बिरामीसमेत बोकेर हिँड्नुपरेको छ, हामीलाई खोपको व्यवस्था मिलाइदिनुपर्‍यो भनेर बिर्तामोडका नगरप्रमुखलाई भनेका थियौँ’, उनले भने, ‘उहाँले हाम्रा कुरा सुन्नुभयो र व्यवस्था मिलाउँला भन्ने आश्वासन दिनुभयो ।’

बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीबाट आश्वासन पाए तापनि अहिलेसम्म खोप लगाउन नपाउँदा दुःख लागेको राईले बताए । राजनीतिक दलका नेता र मजदुर युनियनका नेताहरुसँग समेत खोपको व्यवस्था गरिदिन हारगुहार गरिएको उनले सुनाए ।

बिर्तामोड पूर्वी नेपालको स्वास्थ्योपचार केन्द्रको थलो बन्दै गएको छ । यहाँ बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको २५ शय्याको सरकारी अस्पतालदेखि ९०० शय्याको प्रस्तावित मेडिकल कलेज बिएण्डसी अस्पतालसमेत रहेको छ ।

बिर्तामोडका अस्पताल परिसरमा बिरामी कुरेर एम्बुलेन्स चालक बस्ने गरेका छन् । बिर्तामोडको बिएण्डसी र बिर्तासिटी अस्पतालमा कोभिड उपचार केन्द्र सञ्चालित छ । यहाँबाट बिरामी पूर्वी पहाडका जिल्ला, विराटनगर, धरान र भद्रपुर ओहोरदोहोर गर्दै आएका छन् ।

‘राज्यले एम्बुलेन्स चालकलाई कोभिडविरुद्ध अभियानको फ्रन्टलाइनर घोषणा गरेको छ’, खोप लगाउन नपाउनु भएका चालक राईले भने, ‘हाम्रा पनि घरमा बालबच्चा र परिवार छन् । कोरोनाका बिरामीसमेत बोक्नुपर्ने अवस्था छ । खोप लगाउन पाए ढुक्क हुन सकिने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment