Comments Add Comment

जब नकुल सिलवालले आत्महत्या गरे !

कवि नकुल सिलवाल आत्महत्याको खबर अधिकांश साहित्यकारका लागि अप्रत्यासित थियो । मृत्यु यसै पनि अप्रिय समाचार हो, त्यसमाथि आफैंले रोजेको मृत्युले परिवार र आफन्तजनलाई झन् बढी पीडा हुँदोरहेछ । किन आत्महत्या गर्‍यो भन्ने प्रश्नको ठोस जवाफ कसैसँग हुँदैन । र, मानिसहरू अड्कलबाजीको खेती गर्न थाल्छन् । अफवाहका तरङ्गहरू उठ्न थाल्छन् । आ-आˆनो हिसाबले अर्थ लगाउन थाल्छन् ।

यी सबैको पीडा परिवारजनले खेप्नुपर्ने हुन्छ । नजिकका साथीभाइलाई पनि प्रश्नहरू सोधिन्छन्- ‘तपाईं त उहाँको साथी, तपाईंलाई पक्कै थाहा होला, उहाँले आत्महत्या किन गरेको ?’

ती मित्रहरूसँग पनि प्रश्नकर्ताले खोजे जस्तो सरल जवाफ हुँदैन । नकुल सिलवालले आत्महत्या गरेपछि मलाई पनि धेरैले त्यसै गरी प्रश्न गरे- ‘तपाईं त नजिकको साथी, किन गरे होलान् उनले आत्महत्या ?’

तर, दशकभन्दा बढी समयदेखि पाताल प्रदेश अमेरिकामा बसोबास गरेको मैले कसरी उनको पछिल्लो मनोदशा र सोच थाहा पाउनु र भन्न सक्नु । सम्भवतः उनको साहित्यिक जीवनमा अति निकट मित्र म नै थिएँ- कतिपय उतारचढाव र मतभेदका बाबजूद ।

नेपालमा फोन गर्दा सबैभन्दा लामो र घनीभूत कुराकानी मेरा पारिवारिकजन बाहेक उनैसँग हुन्थ्यो । साहित्यिक छलफल हुन्थ्यो, योजना बनाउँथ्यौं हामी । म नेपाल पुगेको बखत हामी पुनः साथै विचरण गथ्र्याैं । साथीहरूको, अग्रजहरूको टिप्पणी हुन्थ्यो- ‘गोविन्दजी, तपाईं नेपाल आएको भएर मात्रै नकुलजीको दर्शन पाइयो !’

यस्तो सुन्दा नकुलजी मौन बस्थे । पछि उनी भन्थे, ‘मलाई सबै स्वार्थी र पापी लाग्छन् । यिनीहरूको मुखै नहेर्नु उत्तम हो भनेर म खासै भेटघाट गर्दिनँ आजकाल !’
यो अलि पछिल्लो समयको प्रतिक्रिया थियो उनको ।

नकुल सिलवाल कवि, कथाकार, उपन्यासकार थिए । निबन्ध, प्रबन्धमा पनि उनको कलम चल्थ्यो, तर पनि कविता उनको प्रथम विधा थियो, पि्रय विधा थियो र विधागत योगदानको हिसाबले कविता विधा अग्रणी थियो । उनको पेशा भने लेखन थिएन । लेखनबाट जीविकोपार्जन गर्न आजपर्यन्त सम्भव छैन भने चालीस, पचासको दशकमा कल्पना गर्ने कुरै थिएन ।

नकुलले ‘बगर’ साहित्यिक पत्रिका प्रकाशन गरिरहेका थिए । पशुपतिशम्शेरले बकसमा दिएको काम गर्नु नपर्ने जागिर पनि खाइरहेका थिए, नेपाल विद्युत् प्राधिकरणको कुनै योजनाको कुनै पदमा । त्यसको अफिस त्रिपुरेश्वर र टेकुको बीचमा त्यतिबेला अवस्थित सिप्रदी ट्रेडिङको छेउछाउमा थियो ।

उनको काम बिहान आएर एकपल्ट हाजिर हुनु मात्र थियो । ढिलो नहुँदा म त्रिपुरेश्वरको त्रिवि केन्द्रीय कार्यालयतिर जाँदा उनी हाजिर गरिसकेर फर्किरहेको भेट्थें, ढिलो हुँदा उनी आइरहेका हुन्थे र म गइरहेको हुन्थें । उनी पनि पैदल, म पनि पैदल, जम्काभेट हुन्थ्यो । उनले त्यो जागिर पनि छोडे वा छुट्यो । उनले साहित्यिक पत्रकारितालाई पूर्णकालीन पेशा बनाउने अठोट गरे । त्यो अठोट अधिकांशको नजरमा दुस्साहस थियो ।

त्यति मात्र होइन, नकुलले त साहित्यिक पत्रकारिता गरेर काठमाडौंमा घर बनाउने सङ्कल्प पनि गरे । यो झन् ठूलो दुस्साहस थियो सबैजसोको नजरमा । तर उनले साहित्यिक पत्रकारिताकै माध्यमले केही समयको अन्तरालमा मोटरसाइकल चढ्ने हैसियतमा पुगे र अन्ततः काठमाडौंमा घर पनि ठड्याए, त्यो पनि तीनतले । उनको आयस्रोत साहित्यिक पत्रकारिता थियो । पत्रिका र पुस्तकको प्रवर्द्धनका लागि उनी मेची-महाकाली दौडाहा गर्थे । कैयौं पटक हामीले सहयात्रा पनि गर्‍यौं ।

बगरसँगै उनले ‘नदी’ प्रकाशन पनि शुरू गरे । तर बगर उनको पहिलो रोजाइ थियो । उनले लेखनलाई पनि निरन्तरता दिइरहे । उनको एकमात्र उपन्यास ‘तेस्रो पाइला’ले पाउनुपर्ने जति चर्चा पाएन । उनले नयाँ युगको यौटा प्रवृत्तिलाई महिला पात्र मार्फत प्रस्तुत गरेका थिए । उनी कृषि विकास बैंकको साहित्यिक पत्रिका ‘समष्टि’ मा प्रकाशित धारावाहिक सहयोगी उपन्यास ‘अवतार विघटन’ मा पनि सहभागी थिए ।

नकुल निःसन्देह महत्वाकांक्षी थिए । उनको स्वाभिमान अहङ्कारको सीमा छिचोल्नेसम्मको कडा थियो । मित्रतामा पनि उनी त्यति सहज थिएनन् । त्यसैले उनको मित्रमण्डलीमा घटबढ भइरहन्थ्यो । हामी पनि झण्डै टार्न नसकिने विग्रहको सीमासम्म पुगेपछि सम्हालिएका थियौं ।

उनले बगर प्रकाशनलाई फाउण्डेसन बनाए । त्यसलाई संस्थागत रूप दिए पनि, अरूका हल्का सुझाव सुने पनि, केही सुझाव माने पनि उनको आत्मनिर्णय नै अन्तिम हुन्थ्यो, धेरैजसो । बगरलाई आˆनो निजी चाहनाभन्दा टाढा राख्ने कुरा उनलाई सहृय थिएन ।

उनले बगर मार्फत हरेक साल सर्वश्रेष्ठ रचना चयनको आरम्भ गरे । यसमा साथीभाइको सुझाव लिन्थे, रचना चयनको लागि खानपानसहित साहित्यिक बैठकको आयोजना घरमा गर्थे । त्यो चयनलाई लिएर तारिफ र आलोचना दुवै हुनेगथ्र्यो । १० वर्षसम्म उनले यसलाई निरन्तरता दिए ।

नकुल सिलवाल सहितबाट नेपाल साहित्य गुठी स्थापना भएको थियो । त्यस संस्थाले सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार स्थापना गर्‍यो र पहिलो पटक पारिजातलाई दिने निर्णय भयो । तर नेपाल साहित्य गुठी लामो समय निरन्तर भएन । नकुलले बगर फाउण्डेसनको तर्फबाट सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कारलाई निरन्तरता दिए ।

उनले ‘गोपालप्रसाद रिमाल सम्मान’ पनि स्थापना गरेर बगर फाउण्डेसनको वाषिर्कोत्सव समारोहमा एक साहित्यकारलाई सम्मान गर्न थाले । साहित्यकार र साहित्यलाई माया गर्ने साहित्यइतरका व्यक्तिहरूलाई पनि बगर सम्मानले सम्मानित गरे ।

जापानी साहित्यकार यासुनारी कावाबाता, अमेरिकी उपन्यासकार अर्नेष्ट हेमिङ्ग्वे, नेपाली साहित्यका प्रख्यात हास्यव्यङ्ग्यकार भैरव अर्याल यी सबैले आफैं मृत्यु रोजेका हुन् । त्यसको अर्को कडी नकुल सिलवाल भए

एकपल्ट लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको बेला उनी साझा प्रकाशनको अध्यक्ष र म महाप्रबन्धक बन्ने दौडमा सामेल भयौं । तर क्षेत्रप्रताप अधिकारी अध्यक्षमा नियुक्त भएपछि उनी महाप्रबन्धकको दौडमा लागे । त्यो प्रकरणमा हाम्रो सम्बन्ध चिसियो । उनी महाप्रबन्धक पनि बन्न सकेनन् । त्यसले उनलाई घाइते बनायो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको पुनर्गठनमा सदस्यसचिव हुने मनसुवा पालेका उनलाई प्रज्ञा सभा सदस्य दिइयो । सहोदर भाई राजनीतिक कार्यकर्ता भएकाले उनलाई ठूलै आशा-भरोसा भएको हुनुपर्छ, तर उनको नाम प्रज्ञा परिषदमा पनि आएन । प्रज्ञा सभा सदस्यमा सीमित हुन उनलाई स्वीकार्य भएन ।

उनले पुनः साझा प्रकाशनको नेतृत्वमा जान निकै जोडबल गरे, तर सफल हुन सकेनन् । बरू एकपछि अर्को असफलताले घाइते भए, निराश भए । उनको महत्वाकांक्षा सफलीभूत हुन सकेन ।

नकुल आˆनो कमाइको रकमलाई सुनमा परिणत गर्थे । अर्थात्, बचत रकमबाट सुन किन्थे । त्यसरी जोडेको सुन एकदिन पूरै चोरी भयो । चोरले सुन मात्र चोरेको थियो । त्यसमा उनको अनुमान थियो- त्यो कृत्य परिचित राजनीतिक व्यक्तिबाट भएको हो । तर जोबाट भए पनि त्यो सुन चोरिएको चोरिएकै भयो । यसले उनलाई निकै ठूलो मानसिक धक्का दियो ।

अनि एकाएक उनीसँग मेरो संवाद टुट्यो । म अमेरिकाबाट निरन्तर फोन गर्थें, तर उनी ढोका बन्द गरेर ध्यानमा बसेको जवाफ पाउँथें । धेरैपछि मैले पत्तो पाएँ- उनी डिप्रेसनमा गएका रहेछन् । त्यसको उपचार थालिएको पनि सुनें ।

नकुल एकपछि अर्को महत्वाकांक्षाको स्तम्भ ढल्दै गएर टुट्दै गएका थिए । उनीसँगको मेरो अन्तिम भेट सिङ्गै दिनभरिजसो भएको थियो । हामी लाँकुरीभञ्ज्याङ गएका थियौं । मलाई लाँकुरीभञ्ज्याङ लैजाने योजना उनैको थियो । भारतले नाकाबन्दी गरेको त्यो समयमा एकाध लिटर पेट्रोलको जोगाड गरेर मलाई उनले त्यहाँ लगेका थिए ।

उनले मद्यमांस त्याग गरिसकेका रहेछन् । मैले लाँकुरीभञ्ज्याङको चिसो हावामा रमाउँदै मद्यमांस लिएँ, उनले शाकाहारी भोजन गरे । अनि उनले मलाई मित्रपार्क चोकमा अवस्थित आर.बी.होम कन्सर्न छेउसम्म पुर्‍याए । मलाई ज्योति भण्डारी प्याकुरेलको छोरा क्षितिजको विवाह भोजमा सामेल हुनुथियो । त्यो दिन थियो २०७२ साल मंसीर २५ गते शुक्रबार ।

त्यसपछि उनीसँग मेरो भेट, कुराकानी र सम्पर्क केही पनि भएन । एक्कासी उनले मृत्यु रोजेको दुखद र विशादपूर्ण समाचारले मलाई कठोर धक्का दियो ।

मैले ‘नकुल सिलवालका कविताहरू’को सम्पादन गरेर साझा प्रकाशनलाई बुझाएको थिएँ । साझा प्रकाशनको नेतृत्वसँगको मतभिन्नताका कारण प्रकाशित नहुने देखिंदा त्यहाँबाट फिर्ता ल्याइएको थियो । पछि उनले तीसँगै अरू कविता पनि आफैं प्रकाशित गरे ।

नकुलले आत्महत्या जस्तो अपि्रय निर्णय लेलान् भन्ने कसैले अनुमानसम्म गरेका थिएनन् । पछिल्लो समय उनमा देखा परेको उदासीनता, मित्र मिलनमा कमी आदि चाहिं महसुस नगरेका होइनन् ।

कतिपय मानिसलाई मृत्युको पूर्वाभास हुन्छ । कतिपय मानिसको आˆनो अन्तस्करणमा रहेको गुप्त इच्छा वा अभिलाषा कुनै न कुनै रूपमा प्रकट हुने गरेको दृष्टान्त पाइन्छ ।
नकुलले ‘सालिक’ शीर्षक कवितामा आत्महत्याको सन्दर्भलाई उजागर गरेका थिए । उनको त्यो कविताको अर्थ कसैले बुझेनन् । उनको आत्महत्यापछि पनि त्यसलाई सन्दर्भमा लिएनन् । सालिक कविताको पंक्ति :

गरौं त गरौं
आत्महत्या नै गरौं !
आनन्द हुन्छ तिमीलाई भने
किन बाँचिरहौं त व्यर्थ !
झट्ट समाचार सुन्दा
आश्चर्य लाग्ला !
०००
आफूलाई समाप्त गरेपछि मैले
तिमीसँग कति दौंतरीहरू
भोजमा सामेल हुनेछन् ?
मलाई राम्ररी चिन्ने र जान्नेहरू
अरू कति हषिर्त हुनेछन् ?
होइन भने, चिउँडोसम्म
सङ्घर्ष र दुःखको दलदलमा
भास्सिएको छु
र छ छट्पटी,
कुनै न्याउली चरीले नगाएको पीडा
पत्रपत्र सुरक्षित छ ।

यति हुँदाहुँदै पनि
म बाँचिरहेछु
गाँसमा, निद्रामा, सपनामा
वा आत्मीय वार्तालापमा
जहाँकहीं म
रेट्टएिर, चेप्टिएर पनि
हाँसिरहेछु दिल खुलाएर
र यो तिमीलाई खपिनसक्नु हुन्छ
डाह, ईष्र्या फैलिन्छ विषझैं भने
ल भैगो मरिनै दिउँला म,
आखिर मर्नु जति गाह्रो छ
त्यत्तिकै सजिलो पनि त छ ।

मृत्यु उनलाई कति सजिलो वा गाह्रो थियो, त्यसको अनुभव कसरी थाहा पाउन सकिन्थ्यो उनी नै गइसकेपछि ! तर कुन अन्तरचेतनाले उनले यो कविता लेख ? सोचनीय छ । के उनले आगामी अतीतको झल्को पाएका थिए ? के उनले आत्महत्याका लागि मानसिक रूपले पूर्वाभ्यास गरेका थिए ?

नकुललाई महत्वाकांक्षा र स्वाभिमानले जीवनदेखि परपर लग्दै गएको थियो, जुन कमैले महसूस गर्न सके । उनी समाज र सामाजिक क्रियाकलापबाट टाढिंदै गए, जसप्रति कसैको चासो रहेन । निकटतम मित्रहरूको सान्निध्य पनि साँघुरिंदै गयो । यसप्रति ती निकटतम मित्रहरूले पनि त्यति वास्ता गरेनन् ।

उनले आत्महत्या गर्नु केही दिनअघि केही जरूरी कुरा गर्नु छ भनी मातृका पोखरेललाई शान्तिनगर गेट अगाडिको चिया पसलमा भेटेका थिए । तर त्यसदिन कम बोलेका थिए र के भन्न बोलाएको हो सो नभनिकनै छुट्टएिका थिए । मातृका पोखरेललाई अचम्म लागेको थियो । तर त्यसको केही दिनमै उनले मृत्यु रोजेको खबरले झस्केका थिए ।
संसारमा धेरै लेखक साहित्यकारले स्वमृत्युवरण गरेका छन् । प्रथम नोवेल पुरस्कार विजेता जापानी साहित्यकार यासुनारी कावाबाता, अमेरिकी उपन्यासकार अर्नेष्ट हेमिङ्ग्वे, नेपाली साहित्यका प्रख्यात हास्यव्यङ्ग्यकार भैरव अर्याल यी सबैले आफैं मृत्यु रोजेका हुन् । त्यसको अर्को कडी नकुल भए ।

उनले आफ्नो जीवनकालमा लेखन र साहित्यिक पत्रकारिताका माध्यमबाट पुर्‍याएको योगदान नेपाली साहित्यमा युगान्तर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment