Comments Add Comment

कांग्रेसमा कसरी जुट्यो सहमति ?

छैटौं पटक ल्याइयो कार्यतालिका

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसमा नीतिगत रुपमा साढे पाँच वर्षभित्रै अधिवेशन सुरु गर्नेमा नेताहरुबीच सहमति भएपनि क्रियाशील सदस्यता पहिला कि मिति तोकेर सदस्यता टुंगो लगाउने भन्नेमा विवाद कायमै थियो । क्रियाशील सदस्यता टुंग्याएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने अडानमा थियो, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष । भदौ १६-१९ सम्मको निर्धारित कार्यतालिकामा महाधिवेशन हुन नसक्नेमा एकमत नेताहरुबीच कार्यतालिकाका बारेमा पनि विवाद उत्तिकै थियो ।

बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा संस्थापन र पौडेल समूहका नेताहरुबीच महाधिवेशनकै विषयमा आरोपप्रत्यारोप चल्दै आएको थियो । पौडेल समूहका अधिकांश नेताहरुको अडान थियो, क्रियाशील सदस्यता नटुंग्याएसम्म महाधिवेशनको प्रक्रिया बढ्न सक्दैन । तर संस्थापन पक्षका कतिपय नेताहरुले भने क्रियाशील सदस्यतालाई देखाएर पौडेल समूहले महाधिवेशन हुन नदिने बखेडा झिकेको आरोप लगाएका थिए ।

दुई पक्षबीच महाधिवेशन र क्रियाशील सदस्यतालाई लिएर बैठकमा दोहोरी चलिरहेकै बेला शनिबार साँझ महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका पेश गरे । मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी महामन्त्री खड्काले पेश गरेको कार्यतालिका बैठकले सर्वसम्मतिले पारित गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए । ‘नेताहरुबीच सहमतिपछि कार्यतालिका पेश भयो, बैठकले सर्वसम्मत रुपमा त्यसलाई पारित गरेको हो’ उनले भने ।

क्रियाशील सदस्यताकै कारण महाधिवेशन अनिश्चित भइरहेका बेला कांग्रेसमा एकाएक कसरी जुट्यो सहमति ? ‘क्रियाशील सदस्यता तीन दिनभित्र टुंग्याइने भनिएको छ, हामीले यही विश्वासमा कार्यतालिका ल्याएका हौं,’ वरिष्ठ नेता पौडेलले अनलाइनखबरसँग भने, ‘भदौ ३ गते नै निर्वाचन समितिलाई क्रियाशील सदस्यताको अन्तिम सूची बुझाउँछौं । १० गतेसम्म जिल्लामा हार्डकपी पुर्याउने तयारी छ ।’

शनिबार नेताहरुबीच सदस्यता र कार्यतालिका सँगसँगै अगाडि बढाउने सहमति भएपछि महाधिवेशनको मिति तोकिएको हो ।

प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेस विधानको प्रावधान पार गर्दै थप एक वर्षको सुविधा पनि गुजारेको कांग्रेसले संविधानले दिएको ६ महिनाको समयसीमा भदौ २३ गते पूरा गर्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको कार्यसमिति २०७२ साल फागुन २०-२३ गतेको १३ औं महाधिवेशनबाट निर्वाचित भएको हो ।

पार्टीको वैधानिकता जोखिममा पर्ने सम्भावना देखिएकाले क्रियाशीललाई टुंग्याउँदै जाने गरी कार्यतालिकामा सहमति गरेको पौडेल समूहका नेता अर्जुननरसिंह केसीले बताए । ‘पार्टीको वैैधानिताको विषय महत्वपूर्ण रह्यो । भदौ २३ पछि पार्टीको हैसियत के हुने भन्ने प्रश्न हाम्रा सामू गम्भीर रुपमा खडा भएकाले कार्यतालिका ल्याउन सहमत भएका हौं,’ उनले भने, ‘हाम्रो माग त क्रियाशील सदस्यता टुंगो लागेपछि मात्रै कार्यतालिका ल्याउनुपर्ने थियो । हामी यसमा गम्भीर थियौं । तर क्रियाशीलकै कारण कार्यतालिका तत्काल आउने अवस्था नदेखिएपछि हामीले लचकता अपनायौं ।’

कांग्रेसले भदौ २३ गतेको संवैधानिक सीमालाई ख्याल गर्दै भदौ १८ देखि नै अधिवेशनका कार्यक्रम सुरु गर्ने गरी कार्यतालिका ल्याएको छ । पार्टीको वैधानिकता जोगाउनबारे कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग राय मागेका थिए भने कानुनविद्हरुसँग पनि परामर्श गरेका थिए ।

आयोगले भदौ २३ गते अघि नै अधिवेशन प्रक्रिया सुरु भए वैधानिकता माथि प्रश्न नउठ्ने राय दिएको थियो । कांग्रेसभित्र चार महिनाको शून्य समयलाई पनि विकल्पका रुपमा नलिइएको होइन तर अदालतमा मुद्दा परे आउन सक्ने फैसलाबारे कांग्रेस नेताहरु ढुक्क नभएपछि आयोगको सुझाव अनुसार कार्यतालिका ल्याइएको हो ।

‘शून्य समयका बारेमा निकै चर्चा भएको हो, तर कसैले अदालतमा मुद्दा हाल्यो र अदालतले शून्य समयलाई कर तिर्नेसँग मात्रै भएको फैसला गरे पार्टी नै संकटमा पर्न सक्छ भन्ने भय शीर्ष नेताहरुमा देखियो,’ संस्थापन निकट एक नेताले भने, विभिन्न विकल्पमा निर्वाचन आयोगसँग पनि परामर्श भइरहेकै थियो, त्यसमध्ये सबैभन्दा उपयुक्त चाहिं भदौ २३ अगाडि नै अधिवेशन सुरु गरे संवैधानिक प्रश्न नउठ्ने सम्भावना देखिएपछि सोही अनुसार कार्यतालिका ल्याइएको हो ।’

कांग्रेस वरिष्ठ नेता पौडेलले अब महाधिवेशनको कार्यतालिका प्रभावित नहुने दावी गरे । ‘कार्यतालिका अनुसार जानुको विकल्प हामीसँग छैन,’ उनले भने, ‘भदौ २३ गतेभन्दा उता स्थानीय अधिवेशन जानै सक्दैन । हामीसँग अब महाधिवेशन कार्यतालिका सार्ने कुनै विकल्प छैन ।’

कांग्रेसले सार्वजनिक गरेको कार्यतालिका अनुसार वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ भने केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गतेका लागि तय भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको वैधानितामाथि प्रश्न नउठ्ने गरी पार्टीले निर्णय गरेको दावी गरे । ‘कांग्रेसको नेतृत्व पंक्तिले संयमतापूर्वक वस्तुनिष्ठ यथार्थतालाई आत्मसाथ गर्दै सहमति गरेको हो,’ उनले भने, ‘साढे पाँच वर्षको समयावधिमा अविधेशनको प्रक्रिया सुरु गरेपछि सर्वाेच्चमा कतिपय मुद्दा ‘हेर्दाहेर्दै’मा भनेजस्तै पार्टी अधिवेशन पनि ‘चल्दाचल्दै’ अवस्थामा हुन्छ ।’

उनले अधिवेशन सुरु भइसकेपछि वैधानिकताको कुरा नउठ्ने दावी गरे । ‘कोरोना महामारी र हाम्रा केही कमिकमजोरीकाबीच महाधिवेशन अगाडि बढाएका छौं,’ उनले भने, ‘अब निर्धारित कार्यतालिकामै महाधिवेशन हुन्छ ।’

निर्वाचन समितिले क्रियाशील सदस्यता सूची पाएको १९ औं दिनमा वडा अधिवेशन गर्न सकिने कार्यतालिका पार्टीलाई बुझाएको थियो । तर कार्यतालिका अनुसार समितिलाई जम्मा १६ दिनको समय मात्रै दिइएको छ ।

क्रियाशील टुंग्याउन तीन नेतालाई जिम्मेवारी

कांग्रेसले क्रियाशील सदस्यतामा देखिएको विवाद मिलाउन तीन नेतालाई जिम्मेवारी तोकेको छ । कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई विवाद टुंग्याउने जिम्मेवारी दिइएको प्रवक्ता शर्माले बताए । उनीहरुलाई तीन दिनको समय दिइएको छ ।

लेखक संयोजक रहेको सदस्यता छानविन समितिले साउन १२ गते नै पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाएको थियो । समितिले बारा र सप्तरीको सदस्यता फाइल नै खोलेन भने धनुषा-४, सर्लाही-२, सिन्धुपाल्चोक, रसुवा, कैलालीको टिकापुरलगायतमा देखिएको सदस्यता विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई दिइएको थियो ।

यसबीचमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाबीच सदस्यता विवाद सुल्झाउन निरन्तर छलफल भए पनि सहमति जुट्न सकेन । ‘जहाँ सहमति जुटाउन सकिन्छ, राम्रै भयो, नत्र सहमति नभएका ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन प्रक्रिया सुरु हुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने ।

छैटौं पटक कार्यतालिका परिमार्जन

कांग्रेसले महाधिवेशनको भाका सार्दै मंसिरसम्म पुर्याएको छ । पटकपटक मिति तोक्दै सार्दै आएको कांग्रेसले मंसिर ९-१३ गतेसम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेसले महाधिवेशनको मिति तोकेको यो छैटौं पटक हो ।

कांग्रेसको २०७६ फागुन ११ गते बसेको केन्द्रीय समिति बैठकले पार्टीको कार्यकाल एक वर्ष थप गर्दै २०७७ फागुन ७-१० मा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका घोषणा भएको दोस्रो महिनामै कोरोनाका कारण लकडाउन घोषणा भएपछि कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएको थियो । त्यसपछि २०७६ माघ १३ गतेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति यथावत् राख्दै तल्लो तहको अधिवेशनको कार्यतालिका परिमार्जन गरेको थियो ।

दुई पटक तोकिएको कार्यतालिका पनि कोरोनाकै कारण प्रभावित भएपछि २०७७ असार २३ गतेको केन्द्रीय समितिले स्थानीय देखि प्रदेश अविधेशनसम्मको कार्यतालिका संश्ाोधन गरेको थियो भने केन्द्रीय महाधिवेशनको मिति भने २०७७ फागुन ७ देखि १० गतेको कायमै थियो ।

कांग्रेसले २०७७ फागुन ६ गते चौथोपटक कार्यतालिका परिमार्जन गरेको हो । पार्टी विधानले दिएको एक वर्षको समय पनि गुजारेपछि कांग्रेसले संविधानको सुविधा अनुसार थप ६ महिना कार्यकाल थप्दै २०७८ भदौ ७ देखि १० सम्म काठमाडौं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

पटकपटक मिति तोक्दै अनि सार्दै आएको कांग्रेसले २०७८ असार ४ फेरि महाधिवेशन कार्यतालिका परिमार्जन गरेको थियो । उक्त कार्यतालिकाका अनुसार २०७८ भदौ १६-१९ सम्म केन्द्रीय महाधिवेशन गर्ने उल्लेख थियो । कांग्रेसले संविधान अनुसार निर्धारित कार्यतालिका अनुसार महाधिवेशन गर्न नसक्ने भएपछि शनिबार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
खगेन्द्र भण्डारी

ट्रेन्डिङ

Advertisment