+
+

मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुबै तयार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते २०:३३

१६ भदौ, काठमाडौं । नेपाल र भारतबीच बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ । दक्षिण एसियाका यी दुई छिमेकी राष्ट्र पछिल्लो पटक सन् २०१७ मा मुम्बईमा खेलेका थिए । त्यसपछि पहिलो पटक खेल दशरथ रंगशालामा खेल्न लागेका हुन् ।

मैत्रीपूर्ण दुई खेलमध्ये पहिलो खेल बिहीबार साँझ साढे पाँच बजे हुनेछ । कोभिड–१९ को महामारीका बेला लामो समयको अन्तरालमा खेल हुन लागेकाले नेपाल र भारत दुवै उत्साहित छन् ।

बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपाल र भारतका प्रशिक्षक र कप्तानले खेलका लागि तयार भएको बताएका छन् ।

नेपाली टिमका कुवेती प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए । यस्तै उनले दशरथ रंगशालमा पहिलो खेल खेल्न पनि उत्साहित रहेको बताए ।

‘भारत धेरै बलियो छ । इतिहास पनि राम्रो छ । हामीले दुबै खेल जित्न आवश्यक छ । राष्ट्रिय टिमले खुसी बनाउने होइन गर्व गर्नलायक बनाउन आवश्यक छ । हामी बराबरीको लागि खेल्ने छैनौँ । हामी जित्नका लागि खेल्छौं’ उनले भने ।

उनले विगतमा भारत नेपालमाथि हावी हुने गरेको भएपनि अहिले पुरानो नतिजा बिर्सिएर खेल्ने बताए । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेकोमा भारतले १३ खेल जितेको छ । नेपालले २ खेल मात्र जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

गत चैतमा नेपालको मुख्य प्रशिक्षक बनेपछि अलमुताइरीको अन्डरमा नेपालले घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो । ‘नेपालमा त्यो पनि भारतविरुद्ध पहिलो पटक खेल्न पाउँदा खुसी छौं । भारत निकै बलियो टोली हो । वरियतामा हामी भन्दा धेरै माथि छ । तर त्यसको अर्थ हामीले दुई खेल हार्छौँ भन्ने होइन’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले भारतलाई दुई मैत्रीपूर्ण खेलमा हराउन सके फिफा वरियतामा ७ देखि १० स्थान उक्लने सम्भावना समेत रहेको बताए ।

यस्तै उनले भारतविरुद्ध नयाँ खेलाडीले अवसर पाउने भन्दै भोलि केही सरप्राइज रहेको बताए ।

यस्तै नेपाली टिमका कप्तान किरण चेम्जोङले २ महिनादेखि प्रशिक्षक गरेकोले भारत विरुद्ध खेल्न तयार रहेको बताए । अलमुताइरीको आगमनपछि नेपालको मानसिकतामा परिवर्तन आएको चेम्जोङले बताए ।

‘हामी पहिला शारीरिक रुपमा मात्र बलिया थियौं । अहिले खेलाडीको मानसिकतामा परिवर्तन भएको छ । हामी अहिले शारीरिक र मानसिक रुपमा पनि बलियो भएका छौँ । हाम्रो प्रशिक्षक मात्र होइनन्, बाबु समान व्यवहार गर्नुहुन्छ । टोलीको मनोबल पनि उच्च छ ।’

किरणले भारतविरुद्ध खेल्न पाउनुले आउने साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताए । ‘यो हाम्रो लागि राम्रो मौका हो ।यस खेलले साफ खेल्नुअघि हाम्रो बलियो र कमजोर पक्ष थाहा पाउन मद्दत गर्नेछ’, किरणले भने, ‘फिफा डेटमा हुने भएकोले र वरीयतामा असर गर्ने भएर पनि हाम्रो लागि यो जरुरी खेल हो ।’

किरणले नतिजा जस्तो भएपनि खेल प्रतिस्पर्धात्मक हुने बताए ।

किरण आफू पनि व्यक्तिगत उपलब्धिको नजिक छन् । उनले भारत विरुद्ध भोलि खेलेपछि विराज महर्जनको नाममा रहेको सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबरी गर्नेछन् ।

सन् २००८ मा डेब्यु गर्दा आफूले यहाँसम्म आइपुग्ने नसोचेको र निरन्तरताले नै यहाँ पुगेको बताए । ‘ डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

नेपालसँग खेल्न कठिन : सुनील क्षेत्री

यस्तै भारतका कप्तान सुनील क्षेत्रीले नेपालसंग खेल्नु जहिल्यै कठिन हुने बताए । ‘नेपालसँग खेल्न सधै कठिन हुन्छ । हामीले पछिल्लो पटक सन् २०१५ मा विश्व कप छनोट खेल्दा गोलरहित बराबरीमा टुंगिएको थियो । त्यो खेलमा पनि हामीलाई सहज थिएन’ सुनीलले प्रिम्याच कन्फ्रेन्चसमा भने ।

उनले अघि भने, ‘नेपालले घरेलु मैदानमा खेल्दा फरक हुन्छ । त्यसैले खेल सजिलो हुने छैन । खेल प्रतिस्पर्धात्मक हुनेछ’

सुनीलले आफ्नो मामाघर र पुर्खा नेपालमा रहेका कारण पनि भावनात्मक रुपमा केही नजिक रहेको बताए । त रमैदानमा त्यसको असर नहुने बताए ।

कप्तान सुनीलसंगै भारतका प्रशिक्षकले महामारीको समयमा पनि मैत्रीपूर्ण खेल आयोजना गरेका धन्यवाद दिए । भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाकले यस खेलले आगामी अक्टोबरमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

उनले पछिल्लो समय नेपालले प्रदर्शनमा सुधार गरिरहेको रक्षापंतिमा पनि राम्रो हुँदै गएको बताए । स्टिमाकले पनि युवा खेलाडीहरु टिममा रहेकोले उनीहरुलाई अवसर दिने बताए ।

खेल हेर्न अखिल नेपाल फुटबल संघ एन्फाले करिब ५ हजार १ सय दर्शक रंगशालामा प्रवेश गराउनमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट अनुमति समेत पाएको छ ।

‘दर्शक प्रवेशका लागि सीसीएमसीबाट अनुमति सहितको पत्र प्राप्त भएको छ । ५ हजार १ सय दर्शक प्रवेशका लागि अनुमति दिने योजना छ’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने ।

कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाएका वा पीसीआर नेगेटिभ रिपोर्ट भएका दर्शकले रंगशाला प्रवेश गर्न पाउनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?