+
+

कास्की र तनहुँको पहिरोबारे गृहमन्त्रीले लिए सीडीओसँग जानकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १२:५१

१७ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् । बिहीबार उनले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षातपछिको पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका हुन् ।

यस्तै दाङमा बिहीबार बिहान भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग जानकारी लिएका छन् ।

मन्त्री खाँणले प्राकृत्तिक विपत्तिमा परेका नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिए ।

तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्री खाँणले टेलिफोनमा जिल्लाको भानु नगरपालिका–११ मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी लिएको बताए । आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको उनको भनाइ छ ।

यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी गौतमले पोखरा महानगरपालिका–२० र ११ मा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको जानकारी दिए । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।

पहिरोले पुर्दा ढलानका दम्पती कृष्ण श्रेष्ठ र सुन्तली तामाङको मृत्यु भएको गौतमले जानकारी दिए । उनका अनुसार उनीहरूका छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन् । यस्तै पोखरा महानगरपालिकाकै वडा नम्बर ११ नमुना टोलमा पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपाली, ४० वर्षीय विष्णु सार्की र उनका छोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ ।

दाङमा सिस्ने खोलाले प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका–१५ का विमला केसी र राधा कुँवर तथा घोराही–१३ का नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । कार चालक नरबहादुर पुन घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?