+
+

केपी ओली जाने तयारी भएको भेला रोक्न रघुजी पन्तको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १३:४८

१८ भदौं, काठमाडौं । नेकपा एमाले निकट पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए)को भेला रोक्न स्थायी कमिटी सदस्य रघुजी पन्तले सुझाव दिएका छन् ।

दशबुँदे सहमति अनुसार पार्टी अगाडि बढ्न यो भेला रोक्नुपर्ने पन्तले सुझाव दिएका हुन् । २ जेठ २०७५ अगाडि पन्त पीपीएलएका इन्चार्ज थिए । ‘म पीपीएलएको इन्चार्ज हो । मैले भेला रोक्न भनेको छु,’ पन्तले भने ।

तर भेला भने नरोकिने भएको छ । ‘भेलाको सम्बोधन गर्न अध्यक्ष कमरेड आउँदै हुनुहुन्छ, अब केहीबेरमा कार्यक्रम शुरु हुन्छ,’ पीपीएलएका महासचिव ईश्वरी भट्टराईले भने । यो भेला एमाले एकताका निम्ति जुटेको सहमतिअनुसार नभएको अध्यक्ष रुद्र नेपालले बताए ।

‘पीपीएलएको अध्यक्ष म हुँ । मैले २ जेठ २०७५ अगाडिको संरचनाअनुसार कार्यक्रम गर्न यो भेला रोक्नुहोस् भनेको छु,’ नेपालले भने । नेपालले भेलामा आफू पनि नजाने र अरुलाई पनि नजान आह्वान गरेको बताए ।

‘हाम्रो इन्चार्ज रघुजी पन्त हो । उहाँले पनि यो भेला रोक्नु भन्नुभएको छ,’ उनले भने । च्यासलमा कार्यक्रम शुरु हुन लाग्दा पन्तले भने आफू घरमै रहेको प्रतिक्रिया दिए । ‘थप कुरा थाहा छैन, भेला रोक्नुस् भनेको छु,’ पन्तले भने ।

तर संगठनको पुनर्जागरणका निम्ति गरिएको भेला नरोकिने महासचिव भट्टराईले बताए । ‘भेलामा नआउने उहाँ (रुद्र नेपाल) को निजी विचार हो । यो कार्यक्रम संगठनले गरेको हो,’ भट्टराईले भने ।

च्यासलमा शुक्रबार दिउँसो दुई बजे हुने भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । ‘पद्धति र प्रक्रियाअनुसार कार्यक्रम नगरेर पार्टी एकतामा अवरोध गर्ने प्रयास भयो,’ अध्यक्ष नेपालले भने ।

गत ८ भदौमा  भएको दशबुँदे सहमति अनुसार एमालेको सम्पूर्ण पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील गर्ने निर्णय भएको छ ।

दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णयपछि पनि प्रदीपकुमार ज्ञवालीले प्रचार विभाग बैठक राख्नेदेखि पार्टी प्रवक्ताको हैसियतमा वक्तव्य सार्वजनिक गरिरहेका छन् । यसप्रति पूर्व माधवकुमार नेपाल समूह भने असन्तुष्ट छन् ।

पीपीएलएका अध्यक्ष रुद्र नेपाल र इन्चार्ज पन्त पनि अध्यक्ष ओलीइतर समूहका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?