Comments Add Comment

लाहुरे दाइ : महाबौद्धका गल्लीमा २६ वर्ष बित्यो, काठमाडौं घुम्न पाएका छैनन्

लाहुरे दाइ । महाबौद्ध गल्लीले उनलाई दिएको नाम हो, यो । तर, नाम जस्तै रवाफिलो भएन उनको जिन्दगानी ।

थाप्लोमा आफ्नो ज्यानभन्दा दोब्बर तौलको भारी नबोकी उनको डेढ बित्ताको पेट भरिंदैन । नाथे त्यही पेटले उनलाई यो जुनीमा भरिया बनाइदियो । साँघुरा गल्लीहरूमा जोवन बित्यो । औंला भाँचेर हिसाब गर्दा २६ वर्ष बितेछ ।

यहाँ त्यस्तो गल्ली नहोलान्, जहाँ उनको पदचाप नछाडिएको होस् । यस्तो कुना-काप्चा नहोलान्, जहाँ उनको पसिनाले नभिजेको होस् । थाप्लोमा १०० केजीको बोझ उचालेर उनी कहाँ मात्र पुगेनन् ? गोदामदेखि गोदामसम्म, गल्लीदेखि गल्लीसम्म । तर, योभन्दा बाहिरको संसार कस्तो छ ? उनले देख्न, सुन्न, भोग्न पाएनन् । महाबौद्धका गल्लीहरूमा जुग बिताइरहँदा दरबारमार्गसम्म निस्केर रसरंग साट्ने वा चोभारसम्म पुगेर शीतल हावा खाने फुर्सद कहिल्यै मिलेन ।

फेरि पनि केही गुनासो छैन

यो सुकिलो शहरमा उनले कहिल्यै रंगीन सपनाहरू विछ्याएनन् । न त दुःखका सुस्केराहरू नै सुनाए । आफ्नो पीडा आफैंभित्र समेटेर रातहरू गुजारे । उनलाई न कसैप्रति गुनासो छ, न कुनै आकांक्षा । आफ्नो हाड-छाला घोटेर जहान-परिवारलाई सुखको गाँस ख्वाउन पाए पुग्छ । अरू केही चाहिंदैन ।

राम्रो लुगाफाटो लगाउने, मीठो-मसिनो खाने, घुमफिर-रमाइलो गर्ने कुरा उनको भागमा परेन । हरेक बिहान आफूसँगै ब्युँझने दुःख र अभावसँग पौंठेजोरी खेल्दा-खेल्दै घाम डुब्छ । अनि, सस्तो होटल खोजेर भरपेट भात खायो, रहल-पहल पैसाले दुई ट्वाक रक्सी घुट्क्यायो । असनको डेरामा पुगेर घुप्लुक्क पल्टियो । मस्त निद्रा लाग्छ ।

कहिले नेपाल बन्द, कहिले आन्दोलन, कहिले भूकम्प, कहिले लकडाउन । यस्ता-यस्तै दिनहरूले पनि उनको रोजीरोटी खोसिदियो । उनका यी आँखा साक्षी छन्, शहरले थुप्रै राजनीतिक उथलपुथल भोगे । नारा-जुलूस भए, भाषण गरिए । तर, ती सबै केका लागि ? कसका लागि ? उनले छेउटुप्पो पत्तो पाएनन्

कच्ची घरमा छ डेरा । भाडा, महीनाको चार हजार रुपैयाँ । दुई भाइ बस्छन् । त्यहाँ ओछ्यान र केही लुगाफाटो छ । खाने-पिउने बाहिर नै हुन्छ ।

बिहान ४ बजे निद्राले छाड्छ । धर्तीमा उज्यालो छरिएकै हुँदैन, नाम्लो बोकेर उनी कोठाबाट निस्कन्छन् । महाबौद्ध नजिकै मन्दिरमा पुग्छन् । त्यहाँ फाट्टफुट्ट साथीभाइ जम्मा हुन थाल्छन् । आपसमा भलाकुसारी हुन्छ । घरका कुरा, दुःखसुखका कुरा साट्छन् । कोही चिया पिउन थाल्छन्, कोही चुरोटको तलतल मेट्न ।

थर्मसमा चिया बोकेर बेच्दै र साइकलमा पत्रिका बाँड्दै हिंड्नेहरू देखापर्छन् । सटरहरू खुल्छन् । क्रमशः मान्छेका पदचाप बढ्दै जान्छन् । भीड बाक्लिन्छ । अनि फेरि उही धपेडी, हतारो, कोलाहल, धूलो, गन्धले छोप्छ यो गल्लीलाई ।

थाप्लोमा जति गह्रौं बोझ, उति हलुंगो मन

जति गह्रौं बोझ उचाल्न पाइन्छ, लाहुरे दाइको मन उत्ति नै हलुंगो हुन्छ । सय केजीको भारी उचालेर उनी सयौं पाइला हिंड्छन् । एउटा भारी बोकेको सय रुपैयाँ । ‘कहिले दिनमा दुई-चार सय पनि हुन्छ’ उनी सुनाउँछन्, ‘कहिले त रित्तै ।’ एक दिन होइन, पाँच-छ दिनसम्म पनि काम पाइँदैन ।

‘पैसा नहुँदा दुई/चार दिनको लागि उधारो भात खाइन्छ’ लाहुरे दाइ सुनाउँछन्, ‘हामी खाएर भाग्दैनौं ।’ कतै १२० रुपैयाँमा भरपेट मासुभात खान पाइन्छ, कतै १५० रुपैयाँमा ।
कहिले नेपाल बन्द, कहिले आन्दोलन, कहिले भूकम्प, कहिले लकडाउन । यस्ता यस्तै दिनहरूले पनि उनको रोजीरोटी खोसिदियो । उनका यी आँखा साक्षी छन्, शहरले थुप्रै राजनीतिक उथलपुथल भोगे । नारा-जुलूस भए, भाषण गरिए । तर, ती सबै केका लागि ? कसका लागि ? उनले छेउटुप्पो पत्तो पाएनन् ।

उनले गाइँगुइँ सुनेका छन्, ‘देशको शासन बदलियो, व्यवस्था बदलियो ।’ तर, उनको जीवन ?

जस्ताको तस्तै छ । दुःख र अभाव ज्यूँका त्यूँ छन् ।

नाम्लो बोकेर यो गल्लीमा पाइला टेक्दै गर्दा उनी लक्का जवान थिए । अहिले त समयले उनको ताकत खाइसक्यो, रुपरंग खुइल्याइदियो ।

बाबुराम अनि लाहुरे भए

लाहुरे दाइको खास नाम बाबुराम थामी । घर, दोलखाको कालिञ्चोक गाउँपालिका । घरमा दुःख र अभावको चाङ थियो । खान-लाउन सधैं धौ-धौ । भोक र अभावले लखेटेपछि उनले गाउँ छाडे । शहर पसे । ‘काठमाडौंतिर काम हुन्छ रे भन्यो’ उनी सुनाउँछन्, ‘साथीहरू आए, आफू पनि आइयो ।’

तर, शहरमा के गर्ने ?

हातमा सीप छैन । पढाइको प्रमाणपत्र छैन । साथीभाइले मिलाइदिए, ज्यामी काम । दैनिक ज्यालादारीको काम । एक दिनको ज्याला, २५ रुपैयाँ । खट्नुपर्ने, ७ घण्टा ।
हुन त जमाना पनि त्यस्तै थियो । ६ रुपैयाँमा एक केजी चामल पाइन्थ्यो । मट्टीतेल तीन रुपैयाँ लिटर । स्टोभमा पकाएर खाने चलन थियो । दुःखजिलो गरेर दुई छाक खान सकिन्थ्यो । तर, आफू मात्र पालिएर भएन । घर-परिवारको चुल्हो कसरी बाल्ने ?

बिहेवारी भएकै थिएन । ‘केटी मागिसकेको थियो’ उनी सुनाउँछन्, ‘बिहे गर्ने टुंगो भएको थिएन ।’ एक वर्ष जति ज्यामी काम गरेर घर फर्किए । बिहे गरे । लगत्तै शहर फर्किए ।

ज्यामी कामले जीवन चल्दैन भन्ने टुंगोमा पुगेपछि उनी महाबौद्धको गल्लीमा छिरे । उनलाई साथीभाइले सुनाएका थिए, ‘भारी बोकेर धेरै कमाइन्छ ।’ अन्ततः उनी नाम्लो बोकेर भारी खोज्दै हिंडे ।

भारी बोकेरै उनको बैंस गुजि्रयो । बेलाबखत घर जान्छन्, फेरि शहर र्फकन्छन् । यो उपक्रम वर्षौंदेखि उस्तै छ ।

बोझको अंकगणित

‘त्यसबेला महाबौद्धबाट ५० केजीको भारी बोकेर कालीमाटीसम्म पुर्‍याउँदा २५ रुपैयाँ पाइन्थ्यो’ उनी सुनाउँछन्, ‘मरीमरी सय केजी बोक्दा ५० रुपैयाँ हुन्थ्यो । यसरी दिनमा त्यस्तै एक, दुई सय कमाइन्थ्यो ।’

जतिबेला जवान थिए, त्यसबेला १५० केजीसम्मको भारी उचाल्थे उनी । सामान्यतः १२० केजीको भारी बोक्नैपर्ने हुन्थ्यो । यत्तिका बोझ उचालेर हजारौं पाइला हिंड्नुपर्ने, सात-आठ तला माथि उक्लनुपर्ने । ‘तर, मरुञ्जेल बोकेर पनि पैसा धेरै हुँदैनथ्यो’ उनी सुनाउँछन्, ‘त्यही चालीस-पचास रुपैयाँ मात्र ।’

तर, महँगी बढ्दै गयो । कोठाको भाडा बढ्यो । होटलको खानाको मूल्य बढ्यो । अनि उनीहरूले भने, ‘लु पसिनाको हिसाब भएन, अलि पैसा बढाइदिनुपर्‍यो ।’ त्यसपछि एउटा भारी बोकेको ६० रुपैयाँ भयो । अर्को वर्ष ७० रुपैयाँ पुग्यो । ‘७० रुपैयाँमा हामीले लामो समय भारी बोकिरहृयौं’ उनले भने, ‘पछि यतिले हामीलाई खान पनि नपुग्ने भयो भनेपछि ८० रुपैयाँ बनाइयो ।’

दिनमा ८-९ भारी बोकेर भोटेबहालसम्म पुर्‍याउनुपर्ने । खुट्टा दुखेर हैरान । उनीहरूले फेरि पसिनाको मूल्य बढाइदिन भने । ‘बल्ल अहिले एउटा भारी बोकेको सय रुपैयाँ पाउन थालिएको छ’ उनी सुनाउँछन्, ‘त्यो पनि सबैले हाँसीखुशी दिंदैनन्, कचकच गर्छन् ।’

यसरी दुःखजिलो गरेर आर्जन गरेको पैसा थोरबहुत जोगाएर घर पठाउन पाए परमसन्तोष मिल्छ । ‘कहिलेकाहीं १० हजार, १५ हजार रुपैयाँ घरमा पठाइन्छ’ उनी भन्छन्, ‘त्यसले घरको दुःख टर्छ ।’

साथीहरुसँग लाहुरे दाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शिव मुखिया

Author Info
शंकर गिरी

ट्रेन्डिङ

Advertisment