+
+

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

दुवै टिम जित्ने लक्ष्यका साथ मैदान उत्रिदै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ २० गते ७:५०

२० भदौ, काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो ।

दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो ।

भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो । यस्तै दिउँसो भद्रकालीस्थित आर्मी हेडक्वाटरमा प्रशिक्षण गरेको भारतीय फुटबल संघले जनाएको छ । संघले दोस्रो खेलमा अझ राम्रो प्रदर्शन गर्ने समेत जनाएको छ ।

पहिलो खेलअघि प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भए पनि जितकै लागि खेल्ने बताएका थिए । तर पहिलो खेल बराबरी भएपछि उनले नेपाली समर्थकसँग माफी माग्दै अझै सुधार गर्नुपर्ने बताए । भारतीय प्रशिक्षक इगोर स्टिमाकले भने भारत अझै २-३ गोलको हकदार भएको बताएका थिए ।

दुवै प्रशिक्षकको भनाइले पनि जितकै लागि खेलेको प्रष्ट हुन्छ । दोस्रो खेलमा जितकै लागि खेल्ने यो भनाइले संकेत गर्छ ।

पहिलो खेल हुने अघिल्लो दिन मात्र अखिल नृपाल फुटबल संघ एन्फाले सरकार र सीसीएमसीबाट दर्शक प्रवेशका लागि अनुमति प्राप्त गरेपछि पहिलो खेल करिब पाँच हजार दर्शकले दशरथ रंगशालामै पुगेर हेरेका थिए ।

गत चैतमा नेपालमै आयोजना भएको थ्री नेशन्स कप फुटबलमा पनि दर्शकलाई प्रवेश अनुमति थियो । तर वैशाख-जेठमा भएको नेपाल सुपर लिगमा भने निषेधाज्ञाका कारण दर्शक प्रवेश अनुमति थिएन ।

नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा छन् । त्यसै तयारी अन्तर्गत मैत्रीपूर्ण खेल आयोजना भएको हो । यसै खेलमार्फत दुवै टिम आफ्नो कमजोरीलाई सुधार गर्दै साफका लागि तयार हुन चाहन्छन् ।

नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षणका लागि कतार जानेछ र उतैबाट सेप्टेम्बर २७ मा साफका लागि माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम छ ।
साफ अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ ।

नेपाल र भारतबीच दोस्रो खेल आईतबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

नेपालले भारतलाई ८ वर्षयता हराउन सकेको छैन । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई समूह चरणमै २-१ ले पराजित गरेको थियो । भारतले भने पछिल्लो पटक सन् २०१७ मा मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई २-० ले पराजित गरेको थियो ।

नेपाल र भारतबीच अहिलेसम्म २० खेल हुँदा नेपालले २ खेलमात्र जितेको छ । भारतले १३ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

नेपाल भारतबीच जुन खेल हुँदा पनि त्यसको छुट्टै महत्व हुन्छ र चर्चा हुन्छ । फुटबल विश्वव्यापी रुपमै चर्चित खेल भएकोले पनि यसको चर्चा झन् बढी हुनु स्वभाविक हो ।

त्यसमा पनि दक्षिण एसियाका यी दुई छिमेकी राष्ट्रको फुटबल राईभर्ली पनि चर्चित नै छ ।

नतिजा जस्तो आए पनि दुवै टिम हार्न चाहँदैन । अर्को टिमलाई हराएर जित नै हात पार्न चाहन्छ ।

पहिलो खेलमा सुरुमा गोल खाएपछि भारतीय बेन्च नै तनावपूर्ण बनेको थियो । अलमुताइरिको आगमनपछि नेपाली टिमको मानसिकतामा परिवर्तन आएको छ र अन्तिमसम्मै आक्रमक रुपमा खेल्न थालेको छ ।

सन् २०१३ मा अनिल गुरुङ र जुमानु राईको गोलमा भारतलाई हराएको नेपाल फेरि एकपटक भारतलाई घरेलुमैदानमा हराउन चाहन्छ । उता थोरै समय मात्र सँगै प्रशिक्षण गर्न पाएको भारत पनि दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने लक्ष्मा छ ।

पहिलो खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले पूर्व कप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए । भारतविरुद्धको दोस्रो खेलमा मैदान उत्रिएपछि किरण विराजलाई पछि पार्दै नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनको नाममा ७४ क्याप हुनेछ ।

यस्तै पहिलो खेलमा युवा मिडफिल्डर नितिन थापाले डेब्यु गर्ने अवसर पाएका थिए । यस्तै १८ वर्षीय आयुष घलानले पनि पहिलो पटक पहिलो रोजाइमा खेलेका थिए । दोस्रो खेलमा अबदुल्लाहले कस्तो रणनीतिमा खेलाउँछन् हेर्न बाँकी छ । नेपाली टिममा रहेका मध्ये गोलकिपर विशाल श्रेष्ठ र दीप कार्की अनि डिफेण्डर राजन गुरुङले डेब्यु गर्न बाँकी छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपाल भर्सेस भारत

मिति : २०७८ भदौ २० गते
समय : साँझ ५:३० बजे
स्थान : दशरथ रंगशाला, त्रिपुरेश्वर

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?