+
+

विवेकशील साझामा केशव दाहालको प्रस्ताव : महाधिवेशनसम्म नेतृत्वले पद छाडौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १३:५८

२० भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय सदस्य केशव दाहालले पार्टीको नेतृत्वले पार्टी अनुशासन उल्लंघन गरी पार्टीलाई ध्रुवीकरणमा लगेको भन्दै पद छोड्ने प्रस्ताव अघि सारेका छन् ।

पार्टीमा देखिएको विवाद समाधानका लागि उनले अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आउँदो महाधिवेशनसम्म पद छोड्ने प्रस्ताव गरेका हुन् ।  मिश्रले संघीयता र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका थिए भने मिलन पाण्डेसहितका नेताहरुले त्यसको जवाफमा अर्को प्रस्ताव सार्वजनिक गरेका थिए ।

सोही प्रस्तावका कारण विवाद पार्टीभित्र विवाद बढ्दै गएका बेला दाहालले विवाद समाधानका लागि प्रस्ताव सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तेस्रो प्रस्तावमा भनिएको छ,  ‘अहिलेको नेतृत्वले पार्टी अनुशासन उलंघन गरेको र अस्वाभाविक ध्रुवीकरणमा पार्टीलाई लगेको कारण यो नेतृत्वले महाधिवेशनसम्म पद छाडौं ।’ दाहालले पार्टीका महिला, युवा वा अरुनै कोही ब्यक्तिको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने र सबै काम त्यही समितिले गर्ने प्रस्ताव गरेका छन् ।

दाहालले पार्टी अध्यक्ष मिश्रको दस्तावेज र संयोजक पाण्डेसहितका नेताहरुको दस्तावेज दुबैलाई अहिले छलफल नगर्ने प्रस्ताव पनि राखेका छन् । ‘यसलाई अझै केही समय अनौपचारिक छलफलमा राखौं । तर हिजो हामीले जुन जमिनमा उभिएर पार्टी निर्माण गर्‍यौं, त्यसलाई अझ सुदृढ गर्दै महाधिवेशन गरौं’ उनले आफ्नो पहिलो प्रस्तावबारे भनेका छन् ।

त्यस्तै दोस्रो प्रस्तावमा उनले रवीन्द्र मिश्र र पाण्डेसहितका नेताहरुको दुबै प्रस्तावलाई एउटै दस्तावेज बनाउने प्रस्ताव गरेका छन् । ‘यसो गर्दा दुबै दस्तावेजका विवादास्पद बिषयलाई अहिले छलफलमा नल्याऔं । यसका लागि दुबै पक्षले बिश्वास गरेका साथीहरुको कार्यदल बनाऔं’ उनले भनेका छन् ।

दाहालले चौथो प्रस्तावमा पार्टीलाई तलबाट नयाँ ढंगले संरचना गर्दै माथितिर अगाडि बढाउनुपर्ने बताएका छन् ।

हेर्नुहोस् दाहालको प्रस्तावको पूर्णपाठ

आदरणीय अध्यक्षज्यु, संयोजकज्यु
सम्पुर्ण साथीहरु

नमस्कार

पार्टीको पछिल्लो वैचारिक ध्रुविकरण र संकटका बारेमा आफुले अनुभुति गरेका बिषय, आफ्ना भनाई र विकल्पहरुबारे तपाईहरुसँग छलफलगर्न आवश्यक भएको कारण यो पत्र लेखिरहेको छु । यसलाई अवश्यनै मनन् गर्नुहुनेछ ।

१. हाम्रो पार्टीमा पछिल्लो समय वैचारिक विमतिबाट सुरुभएको राजनीतिक ध्रुविकरण ब्यक्तिगत आरोप प्रत्यारोपमा झरेको छ । एक अर्काप्रति तिब्र र घृणायुक्त गालीगलौज सुरुभएको छ । म माथी पनि सामाजिक संजाल र गुटका बैठकहरुमा अनेकन् आरोप र गाली गरिएको पाएको छु । राजनीतिक विमती र गालीको भेद छुट्याउन नसक्दा हुने यस्तै हो। त्यसबाट निश्चयनै मलाई दुःख लागेको छ, यद्यापी मैले यसलाई अन्यथा ठानेको छैन । मलाई लाग्छ, हामीले छलफल गर्नुपर्ने बिषय ब्यक्तिगत छैनन् राजनीतिक छन् । र, राजनीतिक बिषयमा हामीले साझा र एकिकृत निश्कर्षहरु निकाल्यौ भने अन्य बिषयहरु आफै समाधान हुनेछन् । अन्यथा राजनीतिक बिषय भन्दा आरोप प्रत्यारोप प्रधान भएर जानेछ । जसले हामीलाई कहिल्यौ निश्कर्षमा पुर्याउने छैन ।

२. पार्टीको पछिल्लो संकट मार्ग परिवर्तन कि मुलबाटो भन्ने बिषयमा केन्द्रित छ । विचारमा हाम्रो मतएक्यता नहुनुनै हाम्रो संकटको मुख्य कारण हो । अतः पार्टीका बैठक र साथीहरुका प्रयत्न यि बिषयमा कसरी मतएक्यता सृजनागर्ने, कसरी वैचारीक ध्रुविकरण÷विभाजन रोक्ने र कसरी वैकल्पिक राजनीतिको मुख्य कार्यभारमा पर्टीलाई केन्द्रितगर्ने भन्नेमा संवेदनशिल हुनुपर्छ । बैठक, छलफलहरु बिषय केन्द्रित नहुने र यसको गम्भिरता नबुझ्ने हो भने त्यसको परिणाम कसैगरी सुखद हुदैन र हुनेछैन । गुदी छोडेर बोक्रोमा अल्झिनुले कसैलाई सहि ठाँउमा पुर्याउदैन । अतः यो बिषयमा गम्भिर हुन म साथीहरुलाई अनुरोध गर्दछु ।

३. केहि साथीहरुले यो समस्याको कारण कहाँ छ ? यो विभाजन र ध्रुविकरण कस्ले ल्यायो ? र, कस्ले पार्टीभित्र खेलिरहेको छ ? आदी प्रश्नहरु गर्नुभएको छ । यि निकै महत्वपुर्ण प्रश्नहरु हुन् । अतः यि प्रश्नका उत्तरहरु पनि महत्वपुर्ण ढंगलेनै खोज्नुपर्छ । मलाई लाग्छ, जो जो साथीहरु जानेर वा नजानेर पुर्वसाझा र पुर्वविवेकशिलको ध्रुविकरण गर्नुहुन्छ वा जो जो साथीहरु साझाको लुम्बिनी भेला र विवेकशीलको रोल्पा भेलाका प्रस्तावहरुमा पार्टीलाई लैजान चाहानुहुन्छ, खासमा समस्या, द्धन्द वा गतिरोध त्यहि छ । हामी न त विवेशील मात्र हौ, न त साझा मात्र । हामी विवेकशील साझा पार्टीमा छौ । यो हाम्रो आजको सत्य हो । लुम्बीनी वा रोल्पा भेला हाम्रो इतिहास हो । यी दुबै भेलालाई हामीले संमान गर्नुपर्छ । तर एकिकृत पार्टीको कार्ययोजना र कार्यदिशा लुम्बिनी वा रोल्पामा टेकेर बन्दैन । बरु यो हिजो हामीले बनाएको प्रारम्भिक र एकिकृत पार्टीको दस्तावेजमा टेकेर मात्र बन्नसक्छ । यो राजनीतिक तथ्यलाई ईन्कार गरेर ब्यक्ति ब्यक्तिमा गई, यसले यसो गर्यो वा त्यसले त्यसो गर्यो भन्नुको अर्थ छैन । समस्या जहाँ हो, समाधन त्यहि खोजौं ।

४. पार्टीको वैचारिक लाईन र कार्यदिशा बारेमा मैले पार्टी अध्यक्ष र संयोजकसँग निकै पटक कुरा गरेको छु । हाम्रा विचमा पछिल्लो पाँच, छ महिनादेखी कुराहरु भईनै रहेका थिए । तर पार्टीको मार्ग परिवर्तन गर्ने कि मुलबाटोमा जाने भन्ने बिषयमा हामी विच कुरा मिल्न सकेन । अन्ततः दस्तावेज आयो । दस्तावेज आएपछी स्वभावतः केहि साथीहरु मार्ग परिवर्तनको पक्षमा देखिनु भयो, केहि साथीहरु मुलबाटोको । संख्या कस्को पक्षमा कति छ भन्ने भन्दा बिषयको गम्भिर्यता के हो भन्ने मेरो चासो हो । अध्यक्षको प्रस्ताव सँगै अर्को प्रस्ताव आउनु अन्यथा होईन । तर यि प्रस्तावहरुलाई मिलाउन र साझा निश्कर्ष बनाउन पार्टीमा कसैले पनि प्रयत्न नगर्नु र एक अर्कोलाई दोषरोपण गरेर हाम्रो असिमित संभावनालाई विभाजन तर्फ लैजानु आजको मुख्य चिन्ता हो । यो बिषयमा अध्यक्ष ठिक, संयोजक बेठिक वा संयोजक ठिक अध्यक्ष बेठिक भनेर हुदैन। बरु कसरी साझा दृष्टिकोण निर्माणगर्ने ? त्यसमा हामी केन्द्रित हुनुपर्छ । अतः मेरो प्रश्न छ, ध्रुविकरणको पक्ष वा विपक्षमा नलागी विचमा बसेर दुवै पक्षलाई मिलाउन सक्ने साथीहरु हुनुहुन्छ ? वहाँहरुले वैचारिक एकताको प्रयत्न गर्नु राम्रो हुने मैले देखेको छु ।

५. पछिल्लो समय पार्टी केन्द्रका फरक फरक धारका दुईटा बैठकहरु भएका छन् । यो किन भयो ? अध्यक्षले यस्तो अवैधानिक बैठकको सुरुवात किन गर्नुभयो ? एउटा पक्षलाई दोष दिएर यसको कारण खोज्न सकिदैन । अध्यक्ष र संयोजकको बिश्वासको संकट हो यो । वहाँहरुको नेतृत्वको संकट हो यो । कतिपय साथीहरुले हामीलाई बैठकमा आउन र कुरा राख्न भन्नुभएको छ । अवश्यनै बैठकमा आउनु पर्छ र विचार राख्नुपर्छ । बैठकमा आउने नै हो, तर जव राजनीतिक मतमतान्तर बढ्छ त्यतिबेला सानासाना बिषयहरुले पनि अर्थ राख्दछन् । यसर्थ कस्तो बैठक गर्ने ? बैठकका ऐजेण्डाहरु के हुने ? र, बैठक कसरी बोलाउने ? यि बिषयहरु पनि अहिलेका लागि महत्वपुर्ण बिषय हुन् । अतः हाम्रो विधान, एकताको दस्तावेज र बैठक संचालनको विधी अनुसार बैठक बोलाउन सके, बैठकमा आउन कसैलाई पनि गाह्रो छैन । अतः म अध्यक्ष र संयोजकलाई संयुक्त बैठक बोलाउन अनुरोध गर्दछु । अन्यथा विधी र प्रकृया बाहिरको बैठकबाट निश्कर्ष आउदैन भन्नेकुरामा म साथीहरुलाई बिनम्रतापुर्वक ध्यानाकर्षण गर्न चाहान्छु ।

६. जहाँसम्म महाधिवेशनबाट वैचारिक निर्णय गरौं, अल्पमत र बहुमतबाट निश्कर्ष निकालौ भन्ने प्रस्ताव छ त्यो हेर्दा राम्रो तर अराजनीतिक प्रस्ताव हो । निश्चयनै महाधिवेशनले धेरै कुरा निर्णय गर्नसक्छ । पार्टीका कार्यक्रमहरु, कार्यनीतिहरु महाधिवेशनले टुंगोमा लैजान सक्छ । कतिपय प्राविधिक बिषयमा निर्णय दिन सक्छ । नेतृत्व छनौट गर्नसक्छ । तर बिपरित वैचारिक तथा राजनीतिक दृष्टिकोणहरुमाथी हामीले महाधिवेशनमा छलफल गरेर अल्पमत वा बहुमतबाट निर्णय गर्न चाह्यौ भने त्यसले पनि अन्ततः पार्टी विभाजन नै गर्छ । राजतन्त्र वा गणतन्त्र, धर्म निरपेक्षता वा हिन्दुधर्म सापेक्षता, एकात्मकता वा संघियता जस्ता बिषयहरु राज्यको रुप र चरित्र कस्तो बनाउने भन्ने महत्वपुर्ण र गम्भिर राजनीतिक बियषहरु हुन् । यि नितान्त दुई अलग घारहरु हुन् । यस्ता बिषयलाई अल्पमत वा बहुमतबाट निर्णयगर्न सकिदैन । एउटै पार्टीमा राजतन्त्रवादी वा गणतन्त्रवादी, धर्म निरपेक्षतावादी वा हिन्दुधर्म सापेक्षतावादी वा संघियतावादी वा एकात्मकतावादीहरु बस्न सक्दैनन् । यदि बस्छन् भने त्यहाँ राजनीति हुदैन । मात्र सत्ताको सौदावाजी हुन्छ । अतः यो हामीलाई बिभाजनगर्ने बिषय हो । हामी यता जानै हुदैन भन्ने मेरो प्रस्ताव हो । हामीले हिजो जे जस्ता प्रस्तावहरु साथ पार्टी निर्माण गर्यौ त्यसैले हामीलाई एकतावद्द बनाउछ र हाम्रो राजनीतिक स्पेस पनि त्यहि छ । यो कुरा साथीहरुलाई बुझाउन सकिएन वा साथीहरुले बुझ्न चाहानु भएन । त्यसैले हामी महाधिवेशन र सहभागीतामुलक लोकतन्त्रको कुरा गरेर बिषयको गम्भिर्यतालाई अवमुल्यन गरिरहेका छौ ।

६. जहाँसम्म अध्यक्षज्युले बोलाउनुभएको पछिल्लो एकतर्फी बैठकले समानान्तर गतिबिधी गर्ने साथीहरुलाई सचेतगर्ने वा कार्यवाही गर्ने निर्णय गरेको कुरा छ, संकट त्यहिनै हो । यो निर्णयले साथीहरुको सोचको प्रतिनिधित्व गर्छ भने त्यो निश्चयनै दुःखद कुरा हो । किनभने आजको आवश्यकता सचेतगर्ने वा कार्यवाही गर्ने होईन । आजको आवश्यकता किन दुई फरक समुहहरु बने, किन दुई फरक राजनीतिक दृष्टिकोणहरु बने, किन साथीहरुलाई बैचारिक एकतामा ल्याउन सकिएन र त्यसका लागी कसरी प्रयत्न गर्ने ? मुख्य बिषय यि प्रश्नहरुमा निहित छन् । अन्यथा पार्टीमा राजनीतिक वैचारिक संघर्षहरु चरेको वेला, प्राविधीक ढंगले एक वा अर्कोलाई सचेतगर्ने वा कार्यवाहीगर्ने कुराले कुनै अर्थ राख्दैन । यो त परम्परागत पार्टीहरुकै तरिका हुन्छ । किनभने कार्यवाही कार्यवाहीको खेलले कसैलाई टुंगोमा पुर्याउदैन । बरु समस्यालाई अझ पेचिलो बनाउछ । यसर्थ कार्यवाही र विभाजन कि सम्वाद र एकता ? आजको आवश्यकता के हो ? रोजौं ।

७. पछिल्ला अनौपचारिक बैठकहरुमा धेरै हानी नगरी छुट्टिनु राम्रो भन्ने साथीहरुको प्रस्ताव पनि आएको छ । को छुट्टिने ? किन छुट्टीने ? म पार्टी विभाजनको विपक्षमा छु । यो पार्टीलाई विभाजीत गरेर हैन, एकताको महाधिवेशन गरेर अझ सुदृढ बनाउने बेला हो । आजको आवश्यकता एकता महाधिवेशन हो । पार्टी नेतृत्वको सफलता पनि त्यसैमा निहित छ । आज हाम्रो विवेक नपुग्दा पार्टी विभाजन त होला, तर त्यसपछी यसले उठ्नै नसक्नेगरी नागरिकहरुको प्रश्नको सामना गर्नुपर्ने छ। जसको जवाफ सजिलो हुनेछैन । अतः राजनीतिक रुपमा म यतिमात्र भन्छु, म पार्टी विभाजनको पक्षमा छैन । म पार्टीलाई वैचारिक ध्रुविकरणगर्ने पक्षमा छैन । म मार्ग परिवर्तन गरेर अहिलेनै यसलाई छिन्नभिन्न बनाउने पक्षमा छैन । म निरन्तर संघर्ष र एकताको पक्षमा छु । अन्यथा वैधानिक रुपले एक अर्कोलाई कार्यवाही होला, तर राजनीतिक रुपले पार्टीमा समानान्तर गतिविधीहरु चलिनैरहने छन् र ति वैकल्पिक राजनीतिलाई अझ सुदृढगर्ने दिशामा केन्द्रित हुनेछन् ।

८. अहिलेको समस्या समाधानको मुल पक्षनै हाम्रो वैचारिक एकताको संभावना खोज्नु हो । यसका लागि मेरा केहि प्रस्ताव छन् । पहिलो, अहिले आएका दुबै दस्तावेजलाई पार्टीको औपचारिक प्रकृयामा संलग्न नगरौं । यसलाई अझै केहि समय अनौपचारिक छलफलमा राखौं । तर हिजो हामीले जुन जमिनमा उभिएर पार्टी निर्माण गर्यौ, त्यसलाई अझ सुदृढगर्दै महाधिवेशन गरौं । यो मेरो पहिलो प्रस्ताव हो । दोश्रो, अन्यथा दुबै प्रस्तावहरुलाई मिलाएर साझा बिन्दूहरुलाई जोडौ र एउटा दस्तावेज बनाउँ । यसोगर्दा दुबै दस्तावेजका विवादास्पद बिषयलाई अहिले छलफलमा नल्याउँ । यसका लागी दुबै पक्षले बिश्वास गरेका साथीहरुको कार्यदल बनाऔं । तेश्रो, अहिलेको नेतृत्वले पार्टी अनुशासन उलंघन गरेको र अस्वभाविक ध्रुविकरणमा पार्टीलाई लगेको कारण यो नेतृत्वले महाधिवेशन सम्म पद छाडौं । पार्टीका महिला, युवा वा अरुनै कोही ब्यक्तिको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाऔं र त्यसले सबैकुरा नयाँ ढंगले सुरुगरोस् । नयाँ नेतृत्व, नयाँ प्रस्तावबाट पार्टीलाई महासधवेशनमा लैजाउ । चौथो, पार्टीको राजनीतिक तथा सांगठनीक जीवन गतिहिन भयो, अतः यसलाई बैकल्पिक राजनीति निर्माण अभियानमा रुपान्तरिक गरौं र तलबाट नयाँ ढंगले पार्टी संरचना उठाउदै माथी तिर अगाडी बढौं ।

९. साथीहरु राजनीतिक समस्याका समाधनहरु राजनीतिक रुपमानै खोज्नुपर्छ । राजनीतिक भाष्य, राजनीतिक कार्यदिशा, राजनीतिक मुद्धाहरु अमुर्त आग्रह, पुर्वाग्रहमा बन्दैनन् । यसका लागी अनेक आयामहरुको गहिरो बिश्लेषण आवश्यक । त्यसका लागि जिम्मेवार ढंगले काम गरौं र पार्टीलाई बचाउ । हामी एक अर्कोलाई गाली गरेर हैन, एक अर्कोलाई बुझेर अगाडी बढौं । हामी कोहीपनि अनेक ब्यक्तिगत संभावनाहरु छोडेर पार्टी निर्माणमा होमिएका मान्छेहरु हौं । कोहि आज जोडिएका छौ, कोहिले बर्षौ देखी वैकल्पिक राजनीतिको अभियान गरेका हौं । अतः यो राजनीति हाम्रो उर्जाशिल जिवनको अभिन्न अंग हो । हाम्रो आस्था हो । हाम्रो बिश्वास हो । अतः यो पार्टी पुनः भत्किनु कसैको हितमा छैन । तर हाम्रो आफ्नै राजनीतिक बुझाई र पक्षघरताहरु पनि छन् । त्यसको संवेदनशिलता पनि छ । ब्यक्तिलाई ईन्कार गरेर वा आग्रह पुर्वाग्रहमा अल्झिएर ब्यवहार गर्दा अहिले त मजै हुन्छ, तर भबिश्यमा त्यसले राम्रो गर्दैन । साथीहरुलाई थाहैछ, समस्या एकातिर र औषधी अर्कोतिर गरेर रोगको उपचार हुदैन । यो बिषयमा हामी सबै सम्वेदनशिल हुनेनै छौं ।

एउटा अनन्त संभावना भएको वैकल्पिक राजनीतिको अभियान जोगिनुपर्छ र यसले नेपाली राजनीतिको युगिन कार्यभार पुरा गर्नुपर्छ । यसका लागि समस्या जे हो, त्यहि उभिएर समाधान खोजौं । यो कामका लागी म स्वयं आफुले खेल्नुपर्ने भुमीका खेल्न तयार रहने छु ।

सप्रेम धन्यवाद सहित

केशव दाहाल
०७८ भाद्र २०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment