Comments Add Comment
स्मृतिमा श्याम गोतामे : :

जो पाखण्डको सख्त विरोध गर्थे

अहिले नेपाली साहित्यमा हास्यव्यङ्ग्य युग सकिएको हो कि भन्ने लक्षण देखा परेको छ । त्यो लक्षण देखा पर्नु भनेको हास्यव्यङ्ग्य लेखक वा लेखन नदेखिनु हो । यौटा युग थियो भैरव अर्याल, वासुदेव लुईंटेल, केशवराज पिंडाली, श्याम गोतामे, रामकुमार पाण्डेजस्ता होनहार प्रतिभाहरूले हास्यव्यङ्ग्य नेपाली साहित्यमा मौलाएको थियो ।

हरेक वर्ष हुने गाइजात्रा महोत्सवको पनि ठूलो भुमिका हुने गर्थ्यो हास्यब्यङ्ग्य विधाका लागि । प्राय: गाइजात्रामा हरेक साप्ताहिक तथा दैनिक पत्रिकाले पनि गाइजात्रे अङ्क प्रकाशन गर्थ्यो । तिनमा थोरै साहित्यिक महत्वका हास्यब्यङ्ग हुन्थे, तर साहित्यिक पत्रपत्रिकाले भने हास्य ब्यङ्ग्य अङ्क, विशेषाङ्क आदि प्रकाशन गर्थे, जसमा गम्भीर खालका हास्यब्यङ्ग्य रचनाहरू हुन्थे । त्यसका लागि हास्य ब्यङ्गय लेखकहरूसँग महिनौं अघिदेखि रचनाका लागि सम्पादकहरू बुकिङ गर्थे ।

त्यो समयमा श्याम गोतामेजस्ता हास्यब्यङ्ग्य लेखकहरूको पछि नाम चलेका सम्पादक हुन्थे ।

मैले श्याम गोतामेका रचनाहरू पढ्दै आएको थिएँ । ‘मपाईं’ कृति पनि पढिसकेको थिएँ, उनको हास्यब्यङ्ग्य निबन्ध सङ्ग्रह । तर उनीसँग खासै मेरो देखभेट भएको थिएन । तर यौटा यस्तो कारण आइपर्‍यो, जसले उनीसँग मेरो भेट गरायो ।

मेरो पहिलो पुस्तकको रूपमा कथा सङ्ग्रह ‘सुतेको समुद्र’ विसं २०४६ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो । म निकै उत्साहित भएर पठन र लेखनमा एकाग्र भएको थिएँ । मैले निकै मेहनतकासाथ दोश्रो कृति उपन्यास लेखेर साझा प्रकाशनलाई नै दिएको थिएँ र साझाबाट प्रकाशनवाट प्रकाशनका लागि स्वीकृत भयो । त्यो थियो, ‘ उत्खनन’ । यो उपन्यास मुद्रणका लागि कम्पोज शुरू भएको थाहा पाएपछि म साझा प्रकाशनमा सम्पर्कको लागि गएँ ।

त्यतिवेला नै थाहा भयो, त्यो उपन्यासको प्रुफ रिडरको कामको जिम्मा श्याम गोतामेले पाएका रहेछन् । साझा प्रकाशनमा प्रुफ रिडरहरू थिए दरवन्दीमै । तर कामको चाप बढेर कर्मचारीले नभ्याउने अवस्थामा साझा प्रकाशनले कार्यालय बाहिरका केही प्रुफ रिडरहरूलाई काम दिन्थ्यो, यसरी श्याम गोतमेले मेरो उपन्यासको प्रुफ रिडिङको काम पाएका थिए ।

साझा प्रकाशनको प्रुफ रिडिङ शाखामा शङ्कर कोइराला थिए । वलराम श्रमजीवि थिए । शायद अरू पनि थिए । तर तिनले भ्याएनन् र श्याम गोतामेले मेरो उपन्यासको प्रुफ हेर्ने भए । मलाई शङ्कर कोइरालाले भने, ‘श्याम गोतामेले तपाईंको कितावको प्रुफ हेर्नुहुन्छ । तपाईंले भेट्दा राम्रै हुन्छ ।’

म त श्याम गोतामेसँग यही नाताले भेट्न पाउने भएँ भनेर दङ्ग परिनै हालें र पाको पोखल्ड्याङमा उनको निवास खोज्दै पुगें । चिनाजानी भो । मान्छे अलि बाउँठिएको बाउँठिएको जस्तो लाग्यो । शायद हास्यब्यङ्ग्य लेख्ने हुनाले त्यस्तो स्वभाव भएको भन्ने ठानें । खरो कुरा गर्थे ।

मैले आवश्यक भए पनि नभए पनि श्याम गोतामेले हेरेका प्रुफका कपी साझा प्रकाशन पुर्याउने र फाइनल प्रुफका लागि सच्याइएका पानाहरू श्याम गोतामेको निवासमा ल्याइदिने काम गरें । यो मेसोमा श्याम गोतामेकी श्रीमती पद्मा भाउजुको हातवाट निकै कप चिया मलाई जुर्यो । त्योभन्दा बढी श्याम गोतामेसँग मेरो अग्रज अनुजको राम्रो आत्मिय सम्बन्धको विकास भयो जसमा कहिले पनि ग्रहण लागेन, आजिवन ।

यसै क्रममा मैले के बुझें भने, उनी खरा स्वभावका छन् । मनमा यौटा कुरा, मुखमा यौटा कुरा गर्दैनन् । त्यही प्रुफ हेर्ने क्रममै प्रुफ रिडिङ शाखाका बलराम श्रमजीविले उनले पारिश्रमिकका लागि सिफारिस यथा समय नगरेको झोंकमा ‘मैले त तिनलाई नाम श्रमजीवी भए पनि बुध्दिजीवी ठान्थें, श्रमजीवि नै रहेछौ भन्दिएँ’ भनेको निकै ब्यङ्ग्यात्मक वाणी थियो, जुन अझैसम्म मेरो कानमा गुन्जिरहेको छ, घतलाग्दो र गहिरो ब्यङ्ग्यवाणीको रूपमा ।

श्याम गोतामेको जन्म १९९६ साल भदौ २६ गते राधादेवी गौतम र ज्वालाप्रसाद गौतमको जेठा छोराको रूपमा काठमाडौंको पाको पोखल्ड्याङमा भएको थियो । उनको नाम श्यामप्रसाद गौतम भए पनि साहित्य जगतमा उनी श्याम गोतामेको नामले प्रख्यात भए । उनको स्कूले शिक्षा वीरगञ्जको श्री ३ जुध्द हाईस्कूल, कलेजको शिक्षा वीरगञ्जकै ठाकुरराम क्याम्पस र पटना विश्वविद्यालयमा भएको थियो ।

उनको पहिलो प्रकाशित रचना थियो, ‘मैले पनि पिउन सिकें’ । यो रचना २०२५ माघ २६ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो ।

उनको पहिलो पुस्तक ‘मपाईं’ थियो, जुन कौवा प्रकाशनले विसं २०२६ सालमा प्रकाशित गरेको थियो । यसमा उनका १६ हास्यब्यङ्ग्य रचना समावेश थिए ।

उनी राष्ट्रिय बाणिज्य बैङ्कमा काम गर्थे । उनले वीचमा व्यवसायमा पनि हात हाले । त्यो थियो, रेष्टुँरा व्यवसाय । मलेखु नपुग्दै नदी किनारमा राम्रो चल्न थालेको थियो ब्यबसाय । त्यस प्रकारको ब्यबसाय उती फस्टाएका थिएनन् र त्यसरी नदी किनारमा ब्यबसाय शुरू गर्ने शुरूशुरूकै मध्येका थिए उनी । विकृति र विसङ्गतीलाई ब्यङ्ग्य गर्ने लेखक ब्यबसायी बनेको थियो । तर नितिलाई यो मञ्जुर भएन र ब्यवसायले राम्रो गति लिने क्रममै बाढिले रेष्टुँरा परिसर स्वाट्टै वगाइदियो । वाढीले रेष्टुँरा मात्र बगाएन, श्याम गोतामेका यावत् महत्वपूर्ण कागजात, किताव, साराका सारा बगायो । एकप्रकारले श्याम गोतामेको सपना नै वगायो । यो वढो दुखलाग्दो र पीडाजनक अवस्था थियो ।
तर उनी विचलित भएनन् । उनको स्वभावमा विचलन आएन । नियतिले दिएको पीडालाई चुपचाप सकारे ।

त्यस दु:खद घटनापछि उनी जागिरको सिलसिलामा पोखरा सरूवा भएका थिए । म, दुवसु क्षेत्री र राधेश्याम लेकाली भानु जयन्तीका लागि चुँदी रम्घामा आतिथ्यता ग्रहण गरेर गोर्खा पुगेका थियौं, त्यसपछि मनकामना घुमेर पोखरा पुगेका थियौं । पोखरा पुगेपछि महेन्द्र पुल र तेर्सापट्टीको वीचमा रहेको वाणिज्य बैङ्क पुग्यौं उनलाई भेट्न । साथीहरू उनीसँग प्रत्यक्ष परिचित थिएनन् । मेरो राम्रो परिचय भएको र भेटौं भनेपछि साथीहरू तयार भएका थिए । अनि साथीहरूसहित उनको अफिसमा पुगें म । अभिवादन र साथीहरूसँग परिचय गराइसकेपछि उनले आफ्नो स्वभाब अनुसारको वाङ्गा र ब्यङ्ग्यात्मक कुरा गर्न थाले । साथीहरूको अनुहार कालो नीलो भयो । मचाहीं सहज भएकोमा साथीहरू आश्चर्य मानेको पनि मैले बुझिरहेको थिएँ ।

श्याम गोतामेले चिया मगाए । साथीहरूले चिया पनि वडो मुस्किलले सकारेको अनुभव गर्दै थिएँ । कुरा गर्दै जाँदा साथीहरू विस्तारै सहज हुन थाले । उनले बेलुकाको खानाको लागि निम्ता गरे । तर साथीहरू उनको शुरूवातको कुराले तर्सिसकेका थिए । त्यसमाथी हामी उदात्त घुम्ने मूडमा बरालिंदै पोखरा पुगेका, हामीले विनम्रतापूर्वक उनको खानाको आग्रह पछि कुनै वेलाको भन्दै हामी त्यहाँवाट विदा भयौं ।

उनलाई भेटेर फर्कँदै गर्दा साथीहरूले मलाई उडाए । कस्ता वाउँठा रहेछन् भन्ने उनीहरूको राय थियो । तर शुरूमा खस्रा देखिए पनि आतिथ्यता आदिका कुराले मनको भने सफा भन्नेमा चाहीं हामी सबैको राय मिल्यो । अझ भोलिपल्ट विहान हामी फर्कन वस चढनु अघि उनी आएर चियापान गराएपछि र बाटाको लागि फलफूलको झोला समेत हातमा राखिदिएपछि उनको सक्कली पहिचान साथीहरूले पाएका थिए ।

उनी साँच्चै नै मनमा यौटा कुरा, मुखमा एउटा कुरा गर्ने पाखण्डी (हिप्पोक्र्याट) स्वभावका थिएनन् । उनी आफैं भन्ने गर्थे, ‘मलाई कसैले खान बोलायो भने बेस्सरी खाने कुरो गुतार्छु अनि आफ्नो प्रतिक्रिया स्पष्ट शब्दमा भन्छु- ‘अरू थोक त ठीक छ तर दालमा भने नून भसक्कै चर्को छ । यस्तो झुर दाल पनि कोही खाओस् ।’

एक त अरूकहाँ सिंत्तै खानु र त्यसमाथि अनेक थरिको खोट लगाउनु एउटा अशिष्ट प्रवृत्ति हो भन्ने मलाई पनि थाह छ तर म खोट देखाउन बिर्सन्न’, उद्देश्य के भने अर्को पटकको निम्ति ऊ सतर्क होस् जसले गर्दा भविष्यमा कुनै पाहुनाले उसकहाँ खाँदा मजस्तै नून चर्को दाल खानु नपरोस् ।’

कुरा जतिसुकै सत्य भए पनि हम्मेसी यसो भन्ने आँट कसैले गर्दैन । तर उनी सहजतापूर्वक नै भनिदिन्थे । त्यसैले उनीसँग व्यक्तिगत परिचय भएकाहरूका माझ उनको लोकप्रियताको ग्राफ तलै हुन्थ्यो । तर उनको लेखनबाट मात्र परिचित माझ भने उनी खास्साको लोकप्रिय हास्यब्यङ्ग्य लेखक थिए ।

उनी कर्मचारी थिए तर घूस र घुसखोरी विरूध्दका ब्यक्तित्व । उनले आफ्नै पिताजी घुस्याहा भएको कुरा तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई पोल लगाईदिएपछि पिताजीको सरूवा भएको घटना पनि किम्वदन्तीको रूपमा प्रचलित थियो । यसबाट उनको स्वभाव, चरित्र र लेखनको वारेमा धेरै निर्क्यौल निकाल्न सकिन्छ ।

उनको जीवन, लेखन र व्यवहारमा एकात्मकता देखिन्थ्यो, यद्यपि त्यो हाम्रो सामाजिक संरचनामा, अमिल्दो, अभ्यावहारिक, बहुलट्ठी जस्तो लाग्दथ्यो कतिलाई । तर उनी ती सबको जानकार भएर हाँसी हाँसी यस्ता अपजसको हलाहल पिएर नीलकण्ठ भै स्वाभिमानी लेखकको रूपमा वाँचेका थिए । उनले लेखनलाई आफ्नो जीवनको कमजोरी, गरिवी वा पारिवारिक वा सामाजिक सम्बन्धका कारण कहिल्यै सम्झौता गरेनन् । यस्ता प्रतिभा नेपाली साहित्यमा मात्र होइन, संभवत: विश्वमै दुर्लभ हुन्छन् ।

अवकासपछिको जीवनमा उनी फूटकर लेखनमा एकाग्र भए । यो उनको अतिरिक्त आयश्रोत पनि थियो ।उनले अवकाशपछिको पछिल्लो कालखण्डमा कान्तिपुर, गोरखापत्र, जनमञ्च, हिमालय टाइम्स, सगरमाथा, नेपालीपत्र, विश्वमित्र लगायतका दैनिक, साप्ताहिक, पाक्षिक अखवार, समाचार पत्रिकाहरूमा लेखेका थिए । यी यस्ता पत्रिकाहरू थिए जसले लेखकलाई थोरवहुत पारिश्रमिक दिने गर्दथे ।

श्याम गोतामेलाई मैथिली भाषाको राम्रो ज्ञान थियो । त्यसैले उनले हास्य व्यङ्ग्य वाहेक सुधाकर चौधरीको मैथिली कथा सङ्ग्रह ‘गाजल’ लाई नेपालीमा अनुवाद गरेका थिए । तर उनले अनुवाद कर।ममा खासै मन लगाएनन् र उनको यो अनुवादकको व्यक्तित्व ओझेलमै रह्यो ।

उनले २०४९ सालमा ‘भैरव हास्यब्यङ्ग्य पुरस्कार’ पाएका थिए । उनले आफ्नो जीवनकालमा पाएको उल्लेखनिय पुरस्कार यही मात्र थियो ।

श्याम गोतामेको स्वास्थ्य अवस्था त्यति राम्रो थिएन रोगी नै नभए पनि । २०५१ सालमा मधुमेहले आक्रान्त भएर त्यसको सामना गरिरहेका थिए । उनको पिसापवाट सुगर जाने र वेलावेलामा पिसाव रोकिने समस्या भयो । तर विसं २०५२ सालमा उनलाई मुटुको समस्याले दु:ख दिएको थियो । तर उपचारपछि उनको स्वास्थ्यमा सुधार भयो ।

तर उनी २०५५ साल वैशाख १८ गते राती पुन: पिसाव रोकिने समस्याले पीडित भए । रातभरि दु:ख सहेका उनी विहान पत्नीको साथ लागि आफ्नो निवास पाकोदेखि सुन्धारासम्म पैदल गए । त्यसपछि ट्याक्सीमा जावलाखेल गए र उपचारपछि पिसाव त खुल्यो तर एक्कासी उनी नर्भस भए । जावलाखेलमा उनको उपचार भएको स्थानवाट वीर अस्पतालतर्फ एम्वुलेन्समा लगियो थप उपचारका लागि । तर अस्पताल पुग्दा उनले धर्ती छाडिसकेका थिए । यसरी १९ गते विहान उनको देहावसान भयो ।

पाटनबाट वीर अस्पतालतरर्फ लाने क्रममा उनले एकपल्ट आँखा खोलेर ‘हे राम’ भनेका थिए । उनी धर्ममा आस्था राख्ने तर देवताको नाम लिने स्वभावका थिएनन् । महाकवि देवकोटाले पनि जीवनको अन्तिम क्षणमा ‘आखिर श्रीकृष्ण रहेछ एक’ भनेका थिए । श्यामले पनि ‘राम’लाई यसरी पुकारेका थिए ।

(मपाईं, कौवा प्रकाशन २०२६, जदौ रत्न पुस्तक भण्डार, २०२७, कायन वाचा, साझा प्रकाशन, २०३३, श्याम गोतामेका हास्यब्यङ्ग्य, नेराप्रप्र, २०४६)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment