+
+

हेर्दाहेर्दै डुब्यो बल्खुको तरकारी बजार

व्यापारी भन्छन् : तत्काल खुल्ने अवस्था छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १०:३५

२१ भदौ, काठमाडौं । गएरातिको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ ।

बल्खु तरकारी बजारका सन्चालक मोहन बस्नेतले अनलाइनखबरसँग भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन ।’

बाढी पसेको घटनाबारे प्रत्यक्षदर्शी बस्नेतको भनाइ –

बिहान दुई बजेदेखि नै बजार खुलेको थियो । तीन बजेतिरबाट घना वर्षा सुरु भयो । भारी वर्षका कारण बाहिरबाट आएका खुद्रा बिक्रेतालाई सामान बाहिर लैजान कठिन भइरहेको थियो तर भित्री बजारमा खासै समस्या थिएन । साढे तीन बजेतिर बागमती नदी उर्लियो भन्दै बजारमा हल्ला आयो । हामीले यसो खोलातिर हेर्दा बिशाल भएर नदी बगेको देखियो तर नदी सीमाभित्रै थियो । बिहान चार बजेसम्म पनि नदीले पुरानो धार नाघेको थिएन ।

बजारमा किनमेल चलिरहेकै थियो । बाहिरबाट तरकारीका गाडी आउने, तरकारी गोदाममा राख्ने, तरकारी लिन आएका खुद्रा व्यापारीले आफ्नो माल सामान जोख्ने काम चलिरहेकै थियो तर ४ः३० बजे अप्रत्याशित रुपमा बागमती नदी बल्खु बजारमै पस्यो ।

नदीको बहाब नियली रहेकै थियौं तर नदीको भेल नै आकस्मीक बजारमा छिरेपछि भागाभाग भयो । केही मिनेटमै बल्खु तरकारी बजार पूर्णरुपमा ध्वस्त भयो । बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ । बजारमा रहेका तरकारीको किराना पसलहरु सबै ध्वस्त भएका छन् । सबै बगेका छन् । कति किराना, तरकारी बगायो भन्ने हामी विवरण संकलन गरिरहेका छौं । बजारभित्र रहेको आलु, प्याज र लसुनको गोदाम पुरै डुबेको छ ।

बाढी लगत्तै भागाभाग भयो । केहीलाई उद्धार पनि गरेका कारण मानवीय क्षति भएको अहिलेसम्म हाम्रो जानकारीमा छैन । बजारमा रहेका दुई वटा छाप्रा बगाएको छ । फोहोर बोक्ने एउटा कन्टेनर पनि बाढीले बगाएको छ । तरकारी बोक्ने र यहाँको पार्किङमा राखिएका १५ वटा सवारी साधनलाई हामीले बल्ल-बल्ल बगाउनबाट जोगाएका छौं । बाढी पसेपछि ती गाडिलाई डोरी लगायतको साधनको प्रयोग गरेर हामीले बाँधेका थियौं । ती अहिले क्रेनको मद्दतमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन । हामी अहिले पनि उद्धारमै छौं ।

बस्नेतसँग नवीन ढुंगानाले गरेको कुराकानी

तस्वीरहरू :आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?