+
+

पीएनजीसँगको पहिलो ओडीआई : राम्रो सुरुवात, ध्वस्त मिडल अर्डर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ २२ गते २०:५१

२२ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न हाल ओमानमा रहेको नेपाली क्रिकेट टिमले तयारी खेलमा मंगलबार पपुवा न्युगिनीमाथि २ विकेटको संघर्षपूर्ण जित हात पारेको छ ।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई १३४ रनमै अलआउट गरेको नेपालले लक्ष्य भेट्टाउन संघर्ष गर्नुपर्‍यो । नेपालले ४० ओभर खेल्दै ८ विकेट गुमाएर लक्ष्य भेट्टायो । गत वैशाखमा नेपालमै भएको टी-२० त्रिकोणात्मक सिरिजमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दा अब नेपालको ब्याटिङ सुधार भएको विश्वास गरिएको थियो ।

तर फेरि एकपटक नेपालको ब्याटिङ सोचेअनुसार चल्न सकेन । कुशल भुर्तेल र आसिफ शेखले ओडीआई  क्रिकेटमा डेब्यु गर्दै आशा देखाएपनि अनुभवी मिडल अर्डर भने चल्न सकेन । फेरि एक पटक रोहित कुमार पौडेल र बलर सोमपाल कामीले नेपालको इनिङ्सलाई जोगाए । रोहित र सोमपालले आठौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेपछि नेपालले हार टारेको थियो ।

बलिङमा सन्दीप लामिछानेले ४ तथा डेब्युटान्ट बिक्रम सोब र युवा अलराउण्डर कुशल मल्लले २ विकेट लिएपछि नेपालले पीएनजीलाई ३३ ओभरमै अलआउट गर्न सकेको हो ।

सन् २०१८ मा जिम्बाब्बेमा भएको एकदिवसीय विश्वकप छनोटमा पीएनजीलाई नै हराएर पहिलो पटक ओडीआई मान्यता पाएको नेपालले पीएनजीसंग पहिलो पटक ओडीआई म्याच खेलेको हो ।

सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, ओमान, अमेरिकासहितको त्रिकोणात्मक सिरिजअघि नेपालले पीएनजीसंग दुई खेल खेल्ने तालिका थियो । त्यसमध्ये पहिलो खेल नेपालले जितेको छ । तर यो जितबाट नेपालले धेरै कुरा सिक्नुपर्ने देखिएको छ ।

नेपालको सफल कप्तान तथा खेलाडी पारस खड्काको सन्यासपछि पहिलो खेल खेलेको नेपालले नतिजामा सुखद सुरुवात गरेपनि अन्य क्षेत्रमा भने सुधारको खाँचो छ ।

सन्दीपको उत्कृष्ट स्पेल

नेपालको जितमा म्यान अफ दि म्याच बनेका नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले चाहिएको समयमा विकेट लिँदै नेपाललाई सफलता दिलाए । उनले आफ्नो १० ओभर स्पेसलमा ३५ रन खर्चेर ४ विकेट लिएका थिए ।

सन्दीपले चार्ल्स अमिनी, सेसे बाउ, जासोन किला र नोसाइना पोकनाको विकेट लिएका थिए । सन्दीपले चार्ल्स अमिनी र लगा सिएकाको अर्धशतकीय साझेदारी तोड्दै नेपाललाई १२ औं ओभरमा तेस्रो सफलता दिलाउँदै विकेटको खाता खोलेका थिए । त्यसपछि उनले सेस बाउलाई २० औं र किलालाई २४ औं ओभरमा आउट गरे । ३३ औं ओभरको अन्तिम बलमा पोकनालाई एलबीडब्लु धरापमा पार्दै सन्दीपले पीएनजीको इनिङ्स सकाएका थिए ।

तर सन्दीपले अतिरिक्त रन भने धेरै खर्चिए । उनले दिएको ७ अतिरिक्तमध्ये ५ वाइड सन्दीपले नै दिएका थिए । नेपालले सन्दीपलाई एक्लो स्पिनरको रुपमा खेलाएको थियो । टिममा उनीसंगै सुशन भारी पनि स्पिनरको रुपमा छन् । तर सन्दीप एक्लो स्पिनरको रुपमा खेल्दा अलराउण्डर कुशल मल्ल र पवन सर्राफले स्पीन बलिङ गरेका थिए ।

सोबको कीर्तिमान

बिक्रम सोबको लागि पीएनजी विरुद्धको खेल विशेष रह्यो । उनले ओडीआई डेब्यु गरे । त्यसको पहिलो ओभरको पहिलो बलमै विकेट लिए । यस्तो उपलब्धी हात पार्ने उनी पहिलो नेपाली बलर समेत बने । सोबले ओडीआई डेब्युको पहिलो बलमै विकेट लिने नेपाली बलरको कीर्तिमान बनाए ।

सोमपाल कामीसंगै नयाँ बल लिएर सुरुवात गरेका सोबले खेलको दोस्रो ओभर बलिङ गरेका थिए । जहाँ उनले पहिलो बलमै ओपनर टोनी उरालाई बोल्ड गरिदिए । त्यसमा ओभरमा उनले कुनै रन दिएनन् र विकेट मेडन राखे । त्यसपछि आफ्नो दोस्रो ओभरमा कप्तान असद भालाई आरिफ शेखबाट क्याचआउट गराए । ओडीआई डेब्युमा उनले ५ ओभरमा बलिङ गर्दा १ ओभर मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए ।

नेपालले फास्टर बलर करण केसीलाई आरम दिएको थियो भने अविनाश बोहरालाई पनि खेलाएन । यस्तै पहिलो पटक राष्ट्रिय टिममा परेका गुल्सन झा पनि पहिलो खेलमा खेलेनन् । सन् २०१५ मै नेपालको सिनियर टिममा परेपनि त्रिभुवन आर्मीका सोबले राष्ट्रिय टिममा डेब्यु गरेन पाएका थिएनन् । लामो समयपछि सिनियर टिममा पुनरागमन गरेका उनले पहिलो खेलमै कीर्तिमानी बलिङ गरे । सोबको प्रदर्शनले फास्ट बलिङ डिपार्टमेन्टमा प्रतिस्पर्धा समेत बढेको छ ।

खेलाडीको डेब्यु

पीएनजी विरुद्धको खेल तीन खेलाडीको लागि विशेष रह्यो । विक्रम सोबसंगै दुई युवा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले पनि ओडीआईमा डेब्यु गरे । तीनै खेलाडीको प्रदर्शन डेब्युमा राम्रै रह्यो । सोबले २ विकेट लिँदा भुर्तेल र आसिफले दोहोरो अंकमा रन जोडे ।

बिक्रम सोबले झण्डै ६ वर्षपछि सिनियर टिममा पुनरागमन गर्दै कीर्तिमानी बलिङ गरे । उनले डेब्यु ओडीआईको पहिलो बलमै विकेट लिए । सोबले ओडीआई डेब्यु खेलमा २ विकेट लिए । सोबले प्रधानमन्त्री कप र मेयर्स कपमा उत्कृष्ट प्रदर्शन गरेपछि ओमान टुरमा नेपाली टिममा स्थान बनाएका हुन् ।

नियमित विकेटकिपर विनोद भण्डारीलाई आराम दिएपछि आसिफले डेब्युमै विकेटकिपङ गर्ने अवसर पाएका हुन् । टी-२० सिरिजमा कुशल र आसिफ जोडी जमेपछि ओडिआईमा पनि यो जोडीले नै निरन्तरता पाएको हो । भविष्यका लागि राम्रो ओपनिङ जोडी तयार पार्नका लागि पनि यी दुई खेलाडीलाई अवसर दिइएको हो ।

कुशल र आसिफले गत वैशाखमा नेपालमा भएको नेदरल्याण्ड्स र मलेसियासहित टी-२० त्रिकोणात्मक सिरिजबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । भुर्तेलले ५ खेल खेल्दा ४ खेलमा अर्धशतकसहित २७८ रन बनाएका थिए । यस्तै आसिफले एक अर्धशतकसहित १५४ रन बनाएका थिए ।

 राम्रो सुरुवात, ध्वस्त मिडल अर्डर

दुई डेब्युटान्ट भुर्तेल र बसिफ शेखले १३५ रनको लक्ष्य पछ्याउँदा नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । यी दुई क्रिजमा हुँदा नेपालले चाँडै र सजिलै जित्ने अपेक्षा गरिएको थियो । पहिलो विकेटका लागि दुई जनाले ४६ रनको साझेदारी गरे ।

तर दुई खेलाडी लगातार दुई ओभरमा आउट भएपछि नेपालको इनिङ्स नै धर्मराएको थियो । मिडल अर्डरमा अनुभवी खेलाडी हुँदा समेत नेपालको इनिङ्सलाई सम्हाल्न सकेनन् ।

भुर्तेल १२ औं ओभरमा व्यक्तिगत १५ रनमा आउट भए । उनले २८ बल खेल्दै २ चौका प्रहार गरे ।  त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल अर्का ओपनर आसिफ शेखलाई साथ दिन क्रिजमा पुगे । तर १३ औं ओभरमा आसिफ पनि ४६ बल खेल्दै ४ चौका मद्दतमा ३० रन बनाएर आउट भए । दुई ओपनर आउट भएपछि नेपालले ४९ रन हुँदा २ विकेट गुमाएको थियो ।

अनि कप्तान ज्ञानेन्द्र र चौथो नम्बरमा ब्याटिङ गरेका आरिफ शेख क्रिजमा पुगे । तर यी दुई खेलाडी पनि चाँडै आउट भए । ज्ञानेन्द्र ६, आरिफ ९ र त्यसपछि क्रिज पुगेका शरद भेषावकर ६ रन बनाएर आउट भएपछि नेपालले ७८ रनमा ५ विकेट गुमायो ।

मिडल अर्डर सम्हाल्ने जिम्मा पाएका तेस्रो, चौथो र पाँचौ नम्बरका ब्याट्सम्यान सस्तैमा आउट हुँदा नेपाल दबाबमा परेको थियो ।

छैटौं नम्बरमा क्रिजमा गएका रोहित कुमार पौडेलले एक छेउ सम्हालेपनि सातौं नम्बरमा ब्याटिङ गरेका कुशल मल्ल १ र आठौं नम्बरमा ब्याटिङ गरेका पवन सर्राफ खाता नखोली आउट हुँदा नेपालले ८२ रनमा ७ विकेट गुमाएको थियो । त्यसपछि रोहितले सोमपाल कामीसंग मिलेर नेपाललाई जितसम्म पुर्‍याएका थिए ।

रोहित र सोमपालले गरे रेस्क्यु

रोहित र सोमपालले यसअघि पनि नेपालका लागि उत्कृष्ट इनिङ्स खेलिसकेका छन् । टिमको मुख्य बलर भएपनि सोमपालले आवश्यक परेको बेला ब्याटिङमा समेत उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले पहिलो ओडीआईमै अर्धशतक प्रहार गरेका थिए । यस्तै रोहितले यसअघि उत्कृष्ट खेल खेलिसकेका छन् । उनी ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बनेका थिए । अहिले भने त्यो कीर्तिमान ब्रेक भइसकेको छ ।

आज पनि रोहित र सोमपाल मिलेर नेपालको रेस्क्यु गरे । ८२ रनमा ७ विकेट गुमाएको अवस्थामा यी दुईले आठौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे ।  स्कोर टाई हुँदा रोहित आउट भएपनि सोमपाल अविजित रहे ।

रोहितले नेपालको लागि सर्वाधिक ४१ रन बनाए । सम्हालिएर ब्याटिङ गरेका उनले ६५ बल खेल्दै २ चौका प्रहार गरे । यस्तै नवौं नम्बरमा ब्याटिङ गरेका सोमपालले ३२ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित २२ रन जोडे । नेपालको इनिङ्समा कूल २ छक्का प्रहार हुँदा सोमपाल र आरिफ शेखले १-१ छक्का प्रहार गरेका थिए ।

नेपालको इनिङ्समा सन्दीप लामिछाने बाहेक १० खेलाडीले ब्याटिङ गर्दा दुई ओपनर बाहेक रोहित र सोमपालले मात्र दोहोरो अंकमा रन जोडेको थिए । बाँकी ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । विक्रम सोब शून्यमै अविजित रहे ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?