+
+

पद र पैसाका लागि लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १२:१८

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद, प्रतिष्ठा र पैसाको निम्ति लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुने बताएका छन् । उनले यसबारे गम्भीर भएर सोच्न नेता-कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।

जनयुद्धमा सेनाको आक्रमणबाट मारिएका सुरेश वाग्ले (बासु) र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी प्रतिक्रान्तिको सेवा गर्ने ठाउँमा पुग्ने हो कि भन्ने खतरा देखिएको बताए ।

आफूले यस्तो कुरा गरेर निराशा बाँड्न नखोजेको प्रष्टीकरण दिंदै प्रचण्डले भने, ‘हिजो त्यत्रा-त्यत्रा सहिदहरु, त्यत्रो बलिदान, त्यत्रो त्याग, समाज रुपान्तरण, क्रान्तिको निम्ति सम्पूर्ण समर्पण गरेर हिंड्ने पार्टी आज एमालेजस्तै हुने हो भने त यो पार्टीको औचित्य नै के रह्यो र । बरु योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिएहुन्छ ।’

प्रचण्डले भने, ‘पद, पैसा, प्रतिष्ठा, गुट, अराजकतालाई नै प्रश्रय दिने र एमालेजस्तै हुने हो भने, हामी मार्क्सका चेला हौं भने त बरु यसलाई विघटन गरिदिनु इमान्दारी हुने भयो के । हामी क्रान्ति गर्छौं भन्ने, गर्ने चाहिं प्रतिक्रान्ति भएपछि त धोका हो नि जनतालाई । त्यो धोका नदिने हुनका लागि बरु बिघटन गर्ने भन्ने छलफल चल्न खोज्छ आज ।’

‘एमालेमै गए भयो नि’

उनले आफूहरू नसच्चिए माओवादी लोगोमा मात्र सीमित हुने खतरा औंल्याए । ‘पदको निम्ति, पैसाको निम्ति, प्रतिष्ठाको निम्ति, गुट बलियो बनाउनको निम्ति मरिहत्ते हाल्ने भनेपछि त हाम्रो पनि विस्तारै माओवादी भन्ने लोगो होला जस्तो के, चुरे भन्याजस्तो । थाहै नपाइकन हाम्रो पार्टी क्रान्तिको निम्ति आवश्यक औजार होइन, प्रतिक्रान्तिलाई नै घुमाइफिराइ सेवा गर्ने ठाउँमा पुग्ने हो कि ! यो खतरा बडो गम्भीर रुपले देखिएकै छ ।’

‘त्यसो भएको हुनाले हामीले आजभोलि सोच्न खोजेको, तपाईंहरुले पनि सोच्नु होला । सबै कमरेडहरुले सोच्नैपर्छ । हामी पनि त्यस्तै हुने हो भने यो पार्टी किन चाहियो भन्ने बहस उठेको छ,’ उनले भने ।

‘केही पनि नजान्ने भइयो’

मार्क्स, ऐंगेल्सले पनि आफैंले बनाएको कम्युनिष्ट इन्टरनेशनल गलत भयो भन्ने निष्कर्षमा पुगेको उदाहरण दिंदै प्रचण्डले भने, ‘बरु चाहिएन नि । जसलाई त्यस्तै गर्नु छ एमालेमै गए भयो नि । जानु भयो नि त हाम्रा केही साथीहरु । त्यसै गर्न मन लागे त गए भयो नि हामी पनि । एमालेमै जाने, एमाले जस्तै हुने, गुट बनाउने, पैसा कमाउने, पद प्राप्त गर्ने, दलालहरुसँग साँठगाँठ गर्ने, तिनीहरुको स्वार्थ पूरा गर्दिने हो भने त एमाले हुन राम्रो नि ।’

उनले यो मामिलामा एमाले र कांग्रेसजस्तो गर्न माओवादीले नसक्ने बताए । प्रचण्डले भने, ‘एमालेमा सबै खालको मिलेको छ । तिनीहरुको नेटवर्क छ, सेटिङ छ । हाम्रो त सेट पनि छैन । केही पनि नजान्ने भइयो । त्यसकारण हामी पछि पर्ने भइयो । हामी सक्दैनौं उनीहरुसँग कम्पिट गर्न । एमाले र कांग्रेससँग, त्यही बाटोमा, त्यही लाइनमा, त्यही चरित्र, त्यही विशेषतामा हामी धेरै साना पर्छौं, हामी धेरै कमजोर पर्छौं ।’

‘रुपान्तरण सामान्य बलले नहुने भयो’

उनले माओवादीले गर्न सक्ने भनेको परिवर्तन र रुपान्तरणका लागि क्रान्ति मात्र भएको उनले बताए । उनले माओवादीको रुपान्तरण सामान्य बलले नहुने पनि बताए ।

‘नयाँ समाज निर्माण गन सक्ने, हाम्रो विशेषता त त्यो हो । त्यो गर्न नसक्ने हो भने यसको औचित्य नै के रहन्छ भन्ने प्रश्न कमरेडहरुले विचार गर्नुहोला,’ प्रचण्डले भने, ‘नकारात्मक ढंगले भनेको चाहिं होइन । हाम्रो रुपान्तरण सामान्य बलले नहुने भयो । बल अलि धेरै गर्नुपर्ने भयो भन्न खोजेको हो सारमा ।’

प्रतिगमन हुन लाग्यो भने तुरुन्तै आन्दोलन गर्ने र नयाँ खालको जनयुद्ध लड्न तयार हुने माओवादी कार्यकर्ताको विशेषता भएको उनको भनाइ छ । ‘हामी बिग्रेका छौं तर पनि त्यो क्रान्ति मोह, परिवर्तन, जनता र राष्ट्रप्रतिको जिम्मेवारीवोध मनबाट गएको चाहिं छैन । पार्टीले, लिडरसिपले यदि परिवर्तनका लागि आह्वान गर्यो भने जर्याकजुरुक उठेर फेरि प्रतिक्रियावादीहरुको सातोपुत्लो खान सक्ने ताकत यही पार्टीसँग छ, यो हामी सबैका निम्ति उज्यालो भविष्यको शुभसंकेत हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?