+
+

दशरथ रंगशालामा नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ २३ गते १५:४६
तस्वीर: एन्फा

२३ भदौ, काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार र आगामी सोमबार घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । अर्को वर्ष भारतमा हुने एएफसी महिला एशियन कपको छनोट खेल खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

दशरथ रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो । यसअघि महिला टिमले सन् २०१६ डिसेम्बरमा मलेसियासँग भएको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो ।

नेपालले बंगलादेशसँग पनि पहिलो पटक मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । झण्डै साढे तीन दशक लामो अन्तर्राष्ट्रिय इतिहास रहेको महिला फुटबल टिमले मलेसिया, कतार र कुवेतसँग मात्र मैत्रीपूर्ण खेल खेलेको छ ।

बंगलादेशसँगको पहिलो खेल बिहीबार साँझ ५:३० बजे दशरथ रंगशालमा सुरु हुनेछ । उज्वेकिस्तानमा हुने एशियन कप छनोटका लागि बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबलले सहयोग गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

समूह एफमा रहेको नेपालले असोज २ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्नेछ । तीन टोली मात्र रहेको यस समूहको विजेता टिम भारतमा हुने एशियन कपका लागि छनोट हुनेछ । बंगलादेश भने समूह जीमा छ ।

नेपाली टिमका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाल एशियन कपमा छनोट हुने सम्भावना रहेको बताउँदै आएका छन् । एन्फाको टेक्निकल डिरेक्टर समेत रहेका फिलिप्सको प्रशिक्षणमा महिला टिमले पहिलो पटक खेल्न लागेको हो ।

‘यो कठिन समय हो र महामारीको बेला पनि खेल्न पाउनु हाम्रो लागि अवसर हो र एशियन कपको लागि तयारी गर्ने अवसर हो । हामी हाम्रो बाटोमा छौं, टिम कहाँ छ भनेर थाहा पाउने अवसर हो । मैत्रीपूर्ण फुटबलका लागि तयार छौं’ फिलिप्सले बुधबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा भने ।

यसपटक नेपालको मुख्य खेलाडी तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा टिममा हुने छैनन् । गत वर्ष भएको महिला राष्ट्रिय लिगका क्रममा घुँडामा चोट लागेपछि सावित्रा हाल कतारमा उपचाररत छिन् । उनको घुँडाको शल्यक्रिया भइसकेको छ ।

‘राम्रो खेलाडीलाई गुमाउँदा पक्कै घाटा हुन्छ’ फिलिप्सले भने, ‘उनीसँग धेरै अन्तर्राष्ट्रिय अनुभव छ । उनी मिस हुनेछन् ।’

प्रशिक्षक फिलिप्सले आफूसँग २३ जना बलिया खेलाडी रहेको र युवा खेलाडीका लागि अवसर रहेको बताए । नयाँ खेलाडीले पहिलो रोजाईमा स्थान बनाउने अवसर आएको उनको भनाइ छ ।

बंगलादेशी प्रशिक्षक गोलान रबानी छोतानले कोरोना महामारीको समयमा पनि मैत्रीपूर्ण खेल आयोजना गरेकोमा एन्फालाई धन्यवाद दिए । ‘कोभिड-१९ को अवस्थामा पनि मेत्रीपूर्ण खेल आयोजना गरेकोमा एन्फालाई धन्यवाद। नेपालसँगको दुई खेल एएफसी एशियन कप छनोटको लागि राम्रो तयारी हुनेछ’ उनले भने ।

नेपाल बलियो टिम रहेको भन्दै छोतानले खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘हामीले लामो समयदेखि नेपालसँग खेल्दै आएका छौं र नेपाल बलियो टिम हो। भोलिको खेल प्रतिस्पर्धात्मक हुने आशा छ’ उनले भने ।

बंगलादेशकी कप्तान सबिना खातुनले नेपालसँग खेल्न तयार रहेको बताइन् । ‘हामी भोलि खेलका लागि तयार छौं । एशियन कपका लागि पनि तयार छौं । भोलि खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ’ उनले भनिन् ।

महिला फुटबलमा नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन । पछिल्लोपटक नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको थियो । विराटनगरमा भएको उक्त खेलमा सावित्राले पनि गोल गरेकी थिइन् ।

बंगलादेशका प्रशिक्षक छोतानले दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित्रा नेपाली टिममा नहुँदा आफ्ना डिफेण्डरलाई केही सहज हुने प्रतिक्रिया दिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?