+
+

सभामुखलाई एमालेको प्रश्न : एमाले टुक्र्याउन किन मतियार बन्नुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १६:१७

२३ भदौ, काठमाडौं । नेकपा एमालेले आफ्नो दल टुक्र्याउन सभामुख अग्निप्रसाद सापकोटा प्रयोग भएको आरोप लगाएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको उनले बताए ।

‘नेकपा एमालेले कारबाही गरेका सांसदलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं’ उनले भने ।

प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान, कानुन, नियम, विधि सारा विषय उल्लंघन गरिएको बताए । आफूले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई मान्यता नदिएको भन्दै एमाले सभामुखसँग आक्रोशित भएको हो ।

प्रमुख सचेतक भट्टराईले एमालेले कारबाही गरेका १४ सांसद उपस्थित भएसम्म संसद चल्न नदिने अडान राखेर बुधबारको बैठक अवरुद्ध गरेको छ । एमाले सांसदको नाराबाजीपछि सभामुख सापकोटाले दुई पटकसम्म बैठक स्थगित गरे र तेस्रो बैठकमा नाराबाजीकै बीच गृहमन्त्री बालकृष्ण खाँडले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरे ।

‘दल फुटाउन सभामुख सहयोगी बन्नुभयो’

विशाल भट्टराई- प्रमुख सचेतक, नेकपा एमाले

सभामुख महोदय, प्रतिनिधिसभाको यो नयाँ अधिवेशनमा मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले संसदीय दलको तर्फबाट भारी मनका साथ उपस्थित भएका छौं ।

अचानक साउन ३२ गते संसदको अधिवेशन अन्त्य गरियो, असरल्ल छरिएर रहेका विधेयकहरुमा चर्चा गर्ने कुनै चेष्टा गरिएन । त्यतिमात्र होइन साउन ३ गते प्रारम्भ भएको संसद अधिवेशनको पहिलो दिन पेश भएका १५ वटा अध्यादेशमाथि पनि चर्चा गर्न संसद र सरकारले आवश्यक ठानेन ।

यो बीचमा दल फुटाउन अध्यादेश ल्याइन्छ कि भनेर हामीले आशंका व्यक्त गरेका थियौं, संसदमै पटक पटक कुरा उठाएका थियौं । नभन्दै साउन ३२ गते राति १२ बजे संसदको अधिवेशन अन्त्य हुन्छ, भदौ १ गते सबेरै अध्यादेशको चर्चा हुन्छ र भोलिपल्टै राष्ट्रपतिज्यूबाट त्यो जारी हुन्छ ।

हामीले अध्यादेश जारी भएको अघिल्लो दिन भदौ १ गते दिउँसो ४ बजेर २० मिनेट जाँदा सभामुखको टेबुमा पु¥याएका थियौं, हाम्रो दलको अनुशासन उल्लंघन गर्ने १४ जना सांसदलाई कारबाही गरिपाउँ भनेर निवेदन गरेका थियौं ।

लोकतान्त्रिक व्यवस्थामा र एउटा दलीय व्यवथामा आफ्ना सांसदले अनुशासनको दायरा उल्लंघन गरेको किटानी गर्ने सार्वभौम अधिकार त्यो दलको केन्द्रीय कमिटीलाई, त्यो दललाई दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनले त्यो व्यवस्था गरेको छ ।

हामीले कारबाही गरेर दिएको सूचना सभामुखबाट पाइएन । हामीले भोलिपल्ट भदौ २ गते पनि प्रतीक्षा गर्‍यौं, तैपनि त्यो सूचना पाइएन ।

भदौ ३ गते फेरि मेरै नेतृत्वमा सभामुखसमक्ष भेटघाट गर्‍यौं र भन्यौं । यसअघिको नजीर हेर्दा तपाईले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई २०७७ साल असार २४ गते १८ घण्टा नहुँदै सूचना जारी गरेर निष्कासन गर्नुभएको छ ।

२०७७ चैत २४ गते दर्ता भएको तत्कालिन नेकपा माओवादी केन्द्रको ४ जना सांसदको निष्कासनसम्बन्धी पत्र तपाईंले २४ घण्टा नबित्दै २६ गते बसेको संसद बैठकमा पढेर सुनाउनुभएको छ । त्यो नियम माओवादी केन्द्रबाट निष्कासित र जनता समाजवादी पार्टीका सांसदको हकमा मात्र लागू हुन्छ कि नेकपा एमालेको हकमा पनि लागू हुन्छ ?

त्यो आसनमा बसिरहँदा सभामुखको व्यवहार सबै दलप्रति सम्मानपूर्ण र समानतापूर्ण हुनुपर्ने हो कि होइन ? नेकपा एमाले कुनै अन्य धर्तीबाट आएको राजनीतिक पार्टी त होइन होला । तपाईंले हामीले कारबाही गरेका सांसदको हकमा किन सूचना निकाल्नुभएन ?

पटक पटक हामीले फोन गर्‍यौं संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले फोन गरेर तपाईंलाई जानकारी गराउनुभएको छ । हामीले भेटेर भनेका छौं ।

तर १३ दिनपछि हाम्रो पार्टी नियोजित रुपमा टुक्र्याइसकेपछि बल्ल बल्ल केही गर्नु नपर्ने भन्ने हिसाबले सभामुखको निर्णय कायम गर्नुभएको छ ।

त्यसकारण आज हाम्रो बीचमा अनुत्तरित प्रश्न छ । त्यो के भने सम्मानननीय सभामुख महोदय तपाईंले नेकपा एमालेले कारबाही गरेका आफ्ना सांसदहरुको हकमा उनीहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सहयोगीको भूमिका निर्वाह गनुभयो, किन सारथीको भूमिका निर्वाह गर्नुभयो ।

दल विभाजनका लागि किन मतियार बन्नुभयो भन्ने प्रश्न आज सम्मानित संसदसमक्ष हामी जोडदार रुपमा उठाउन चाहन्छौं । यसको उत्तर हामीलाई चाहिएको छ ।

त्यसैगरी निर्वाचन आयोगसमक्ष हामीले हाम्रो पार्टीका १० जना केन्द्रीय कमिटी सदस्यलाई कारबाही गरेको पत्र समयमा नै बुझाएका थियौं । दल विभाजनका लागि दिएको सुरुको निवेदनमा नाम नभएका ६ जना सांसद र त्यसपछि हामीले कारबाही गरेका १० जना गरी १६ सांसदहको सनाखत गरेर निर्वाचन आयोगले नियोजित रुपमा हतार हतार दल दर्ता गरेर हाम्रो दल टुक्र्याउने दुस्साहस गरेको छ ।

त्यसकारण हामी के भन्न चाहन्छौं भने संविधान, नियम, नीति विधि सारा उल्लंघन गरेर एमालेलाई विभाजन गर्न जे जस्ता धृष्टता गरिए, यो संवैधानिक रुपमा पनि प्रश्न उठेको छ, अदालतमा पनि पुगेको छ, यसको समय क्रममा जवाफ पाइएला ।

तर यहाँनेर हामी सभामुखको आसनबाट जवाफ खोजिरहेका छौंं, निर्वाचन आयोगबाट जवाफ खोजिरहेका छौं । नेकपा एमालेजस्तो लोकतन्त्रका लागि ७२ वर्ष संघर्ष गरेर आएको पार्टीलाई यदि कसैले नियम कानुन विपरीत तल पार्न, हेप्न प्रयास गर्छ भने चुप लागेर बस्न नसक्ने कुरा जानकारी गराउन चाहन्छु । यसको जवाफ नपाउन्जेल यो संसद चल्न नदिने नेकपा एमालेको निर्णय पनि जानकारी गराउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?