
२३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सभामुख अग्निप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्न चेतावनी दिएका छन् । आफ्नो दलले कारबाही गरेर निष्कासन गरेर माधव नेपालसहित १४ जना सांसदलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको उनको आरोप छ ।
बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको बताए । दलको ह्वीप उलंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानून र नियमावलीको आधारमा संरक्षण दिएको ? भन्दै उनले सभामुख सापकोटालाई प्रश्न समेत गरे ।
‘नेकपा एमालेको संसदीय दलमा अनुशासन उल्लंघन गरेका, पार्टीको ह्वीप उल्लंघन गरेका सदस्यहरुलाई आफ्नो दलका नेतालाई विश्वासको मत नदिएकाहरुलाई स्पष्टीकरण सोधेर कारबाही गरेको त्यो निर्णयलाई लागू नगर्ने अधिकार सभामुखलाई छैन,’ उनले भने, ‘यसरी पदको दुरुपयोग गरेर नेकपा एमालेलाई विभाजनमा ल्याउने जुन खालको क्रियाकलाप भएका छन्, सभामुखले एउटा पार्टीको कार्यकर्ताको हैसियतमा प्रस्तुत हुने यो हर्कत तत्काल बन्द हुनुपर्छ ।’
प्रतिक्रिया 4