+
+
Shares

विराटनगरको ग्रिनक्रस हस्पिटलमा मृतकको कानबाट सुन गायब

उपचारका क्रममा उनको दुवै कानमा सुनका मुन्द्रा थिए । मृत्युलगत्तै एकाएक दुवै कानमा रहेको एक तोला सुनको मुन्द्रा गायब भयो ।

हरि अधिकारी हरि अधिकारी
२०८३ जेठ ३ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरको ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कानबाट सुन गायब भएको छ।
  • अस्पताल प्रशासनले सीसी क्यामेरा फुटेज जाँचपछि सुन हराएको पुष्टि गरेको छ।
  • अस्पतालले मृतक परिवारलाई एक तोला सुन बराबरको चेक काटेर क्षतिपूर्ति दिने तयारी गरेको छ।

३ जेठ, विराटनगर । विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक मृतकको कानबाट सुन गायब भएको छ । विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कानबाट सुन गायब भएको हो ।

विष सेवनबाट बिरामी परेकी उदयपुर त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारलाई आफन्तले जेठ १ गते ग्रिनक्रस हस्पिटलमा भर्ना गरेका थिए । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो ।

उपचारका क्रममा उनको दुवै कानमा सुनका मुन्द्रा थिए । मृत्युलगत्तै एकाएक दुवै कानमा रहेको एक तोला सुनको मुन्द्रा गायब भयो । आफन्तले कानको मुन्द्रा हराएको विषयमा प्रश्न गरे । सुरुमा अस्पताल प्रशासनले सुनको मुन्द्रा हराएको स्वीकार गर्न मानेन । आफन्तले उपचारका क्रममा राखिएको अवस्थाको भिडियो देखाएपछि अस्पतालमा खैलाबैला मच्चियो ।

अस्पताल प्रशासनले सीसी क्यामेरा फुटेज जाँच गरेपछि सुन हराएको पुष्टि भएको मृतक परिवारका एक सदस्यले बताए । बिरामीको मृत्यु घोषणाअघि पर्दा लगाएर ईसीजी गर्ने क्रममा सुन चोरी भएको परिवारका सदस्यको आशंका छ ।

पीडित परिवारले खबर गरेपछि प्रहरीले सोधपुछ गरेको थियो । प्रहरी पुगेपछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति मृतक परिवारलाई दिन तयार भयो । अस्पताल प्रशासनले आन्तरिक रूपमा छानबिन गर्ने भन्दै मृतक महिलाका परिवारका सदस्यलाई एक तोला सुन बराबरको चेक काटेर दिएका छन् ।

यता, अस्पताल सञ्चालकले भने घटनाको विषयमा इन्कार गरे । अस्पताल सञ्चालक कृष्ण खवासले मृतकको शव पोस्टमार्टमका लागि प्रहरीलाई बुझाएको बताए । आफू बाहिर रहेको बताउँदै उनले सुन चोरी भएको विषयमा बोल्न मानेनन् ।

मोरङ प्रहरी उपरीक्षक कवित कटवालले लासबाट सुन चोरी भएको विषयमा सूचना आएपछि अनुसन्धान सुरु गरेको जानकारी दिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?