News Summary
Generated by OK AI. Editorially reviewed.- गैरआवासीय नेपाली संघले नेपालमा सम्पति जोड्न, बैंक खाता खोल्न र सेयर बजारमा पहुँच पाउन आवश्यक ऐन संशोधन गर्नुपर्ने माग गरेको छ।
- रास्वपाले दोहोरो नागरिकताको पक्षमा उभिएर संविधानमा व्यवस्था गर्ने वाचा गरेको छ र गैरआवासीय नेपालीको सम्पत्तिमा प्रशासनिक झन्झट अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।
- सरकारले गैरआवासीय नेपालीसँग सम्बन्धित ऐनको मस्यौदा तयार गर्दैछ र अर्थमन्त्री स्वर्णीम वाग्लेले अर्बौंको लगानी ल्याउन तयार रहेको बताएका छन्।
काठमाडौं । गैरआवासीय नेपाली (एनआरएनए) ले नेपालमा सम्पति जोड्न, बैंक खाता खोल्न र सेयर बजारमा पहुँच पाउनुपर्ने माग गरेको छ । जसका लागि आवश्यक ऐन संशोधन हुनुपर्ने बताउँछन् एनआरएनका केन्द्रीय उपाध्यक्ष रविनराज बज्राचार्य ।
उनी भन्छन्, ‘लगानी आकर्षित गर्ने कुरा सरकारले गरिरहेको छ भने यस निम्ति वातावरण बनाउनुपर्छ । एनआरएनले आफूले कमाएको पैसाबाट नेपालमा सम्पति जोड्न, बैंक खाता खोल्न पाउनुपर्छ । सेयर बजारमा पहुँच पाउनुपर्छ ।’
संविधानले गैरआवासीय नेपालीले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न सक्ने भनेको छ । उनीहरूले राजनीतिक अधिकार र शासकीय पदमा निर्वाचित हुने अधिकार पाउँदैनन् ।
गैरआवासीय नेपालीले संविधानभित्रै रहेर आफूहरूले नेपालमा लगानी गर्न, आर्थिक अधिकारको प्रयोग गर्न पाउनुपर्ने बताउँदै आएका छन् । यस निम्ति सहज हुने गरी प्रचलित ऐन संशोधन हुनुपर्ने र आवश्यक परे नयाँ ऐन बनाउनुपर्ने एनआरएनका केन्द्रीय उपाध्यक्ष बज्राचार्यको आग्रह छ ।
राजनीतिक दलहरूले एनआरएनएको अधिकारको लागि काम गर्ने वाचा गरेको स्मरण गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अझ् बढ्दा आशा र विश्वास रहेको बताए ।
रास्वपा सभापति रवि लामछाने नै अमेरिका बसेर नेपाल फर्किएर अमेरिकी नागरिकता त्यागेर नेपालमा राजनीति गरिरहेको पात्र भएको उल्लेख गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । अर्थमन्त्री स्वर्णीम वाग्ले समेत विदेशमा बसेर बाह्य अभ्यास बुझेकाले आफूहरू आशावादी रहेको बताएका हुन् ।
रास्वपाले चुनाव अगाडि चुनावी वाचापत्रमा समेत यो विषय उठाएको थियो ।
‘एक पटकको नेपाली, सधैंको नेपाली’ नारा लगाउँदै रास्वपाले दोहोरो नागरिकताको पक्षमा उभिने बताएको छ । बहुमत प्राप्त भएको खण्डमा संविधानमा नै दोहोरो नागरिकताको व्यवस्था गर्ने वाचा गरेको रास्वपाले दुई सिट कम दुई तिहाइ बहुमतसहित सरकार बनाएको छ ।
रास्वपाको प्रतिज्ञापत्रको बुँदा नम्बर ९९ मा यस्तो वाचा छ । जहाँ भनिएको छ, ‘रास्वपाले प्रवासका नेपालीलाई देशको आर्थिक रूपान्तरणको मुख्य आधार स्तम्भका रूपमा हेर्दछ । विदेशमा रहेका नेपालीका लागि मतदानको अधिकार प्रदान गर्नुका साथै गैरआवासीय नेपालीको एक पटकको नेपाली, सधैंको नेपाली भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्तत: दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटलाई तत्काल अन्त्य गर्ने छौं ।’
रास्वपा वाचापत्र लेख्ने समितिका संयोजक वाग्ले आफैँ अर्थमन्त्री छन् ।
सरकारले एनआरएनएसँग सम्बन्धित ऐनको मस्यौदा तयार गर्दै गरेको जानकारी पाएको भन्दै गैरआवासीय नेपालीलाई नेपालमा सम्पति जोड्न, बैंक खाता खोल्न र सेयर बजारमा पहुँच दिनुपर्ने बताएका हुन् ।
उनले पत्रकारहरूसँग भनेका छन्, ‘म अर्वौंको लगानी ल्याउन तयार छु, तर सरकारले नेपालीलाई सेयर बजारमा खुला गर्नुपर्छ ।’
विश्वभर रहेका नेपालीहरूले आफ्नो कमाइको एक–दुई हजार रुपैयाँ मात्रै लगाएर नेपालको सेयर किनेपनि त्यो रकम खर्बौं पुग्नसक्ने उनले बताए ।
प्रतिक्रिया 4