+
+

समय् फल्चा : एउटा पुरानो तस्वीरले जोगायो दुई शताब्दी पुरानो सम्पदा

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ भदौ २४ गते १९:२७

२४ भदौ, काठमाडौं । पुल्चोकका श्याम मलेगो, लक्ष्मी महर्जनसहितका स्थानीयबासीले २०५७ सालमा बनाउन खोजेको पुल्चोकस्थित ‘समय् फल्चा’ (पाटी) बिहीबार शिलान्यास भयो । विसं २०२९मा भत्किएको फल्चा पुनर्निर्माण सुरु गर्न २८ वर्षसम्म त कसैले चासो नै दिएनन्, पहल सुरु भएपछि थप २१ वर्ष कानुनी लडाइँ लड्नुपर्‍यो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ‘काका’हरुले सुरु गरेको पुनर्निर्माणको प्रयास बल्ल शुरु भएकोमा सन्तोष मान्छन् । फल्चा भत्किएको ४९ वर्षपछि मेयर महर्जनले बिहीबार जगमा पहिलो ढुंगा रखे । ५ दशकअघि मासिएको, रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको फल्चा फेरि बन्ने भएपछि स्थानीयबासी पनि खुसी भएका छन्  ।

महानगरपालिको गत भदौ ३ गते नै शिलान्यासको कार्यक्रम राखेको थियो । तर, भदौ २ गते फल्चाको शिलान्यास रोक्न जिल्ला अदालत, ललितपुरबाट ‘अन्तरकालीन आदेश’ आएको थियो । फल्चा नबनाउन माग गर्दै अदालत गएको थियो, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था ।

‘यसपटक पनि अदालतले तथ्यलाई हेरेर निर्णय गर्‍यो,’ मेयर महर्जन भन्छन्,’ गत भदौ २३ गते नै अदालतले अन्तरकालीन आदेश खारेज गरेर पुनर्निर्माणको लागि बाटो खोलिदियो ।’

निर्माण सुरु गर्ने भनेपछि अनेकन जालझेल हुने भएपनि यसपटक महानगरपालिका र स्थानीयबासीले कुनै हल्ला नगरी शिालान्यसको तयारी गरेका थिए । बिहीबार विहान एक्स्काभेटरले जग खनेर फल्चाको शिलान्यास भएपछि स्थानीयबासी फाल्चा ब्युँताउने अभियमान अब नरोकिनेमा विश्वस्त छन् ।

समय् फल्चा बनाउन महानगरपालिकासहित केही स्थानीय अभियान्ताहरु कानूनी लडाइँ लड्न थालेको झण्डै दुई दशक हुन लाग्यो । तर, कहिले अदालतको अन्तरिम आदेश त कहिले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको आदेश बाधक बन्यो ।

अदालतदेखि गृह प्रशासन सबैतिरबाट अनुमति पाएपछि महानगरले फल्चा शिलान्यास गरेको हो ।दुई दशकको लडाइँमा जित

महानगरपालिकाकाअनुसार अशोक स्तुपसँगैको कित्ता नं. ३२७ मा पुनर्निर्माण गर्न खोजिएको समय् फल्चा २०६ वर्ष पुरानो ऐतिहासिक सम्पदा हो । त्यहाँ रहेको शिलालेखबाट पनि यसको पुष्टि हुन्छ ।

‘समय् फल्चा पाटी पुनर्निर्माण समिति’ले २०५७ सालमा पुनर्निर्माणको काम शुरु गर्न खोजेको थियो । पुरातत्व विभागको सिफारिस र जिल्ला प्रशासन कार्यलयको सहमतिका आधारमा तत्कालिन ललितपुर उपमहानगरपालिकाले पाटी पुनर्निर्माण गर्न दिने निर्णय गरेको थियो । तर पाटीसँगै जग्गा भएका जग्गाधनी अनिलराज भण्डारीले तत्कालीन पुनरावेदन अदालत, पाटनमा यो निर्णयविरुद्ध मुद्दा दायर गरे । १० भदौ २०६० मा अदालतले भण्डारीको रिट खारेज गर्‍यो ।

भण्डारीले सर्वोच्च अदालत पनि गए । फाल्चा निर्माण गर्नु सार्वजनिक सडक ऐन २०१९, स्थानीय स्वायत्त शासन ऐन, मुलुकी ऐन र काठमाडौं उपत्यका नगर विकास समितिको मापदण्ड २०५० विपरीत भएको उनको जिकिर थियो । तर सर्वोच्चले १९ साउन २०६५ मा उनको दाबी स्वीकार गरेन र साबिकको पाटी पुनर्निर्माण गर्दा आपत्ति गर्ने हक निवेदकलाई नभएको बतायो ।

फैसला नआउँदै यो जग्गा लालीलगुराँस सहकारीले किन्यो । उसले आफ्नो आफ्नो भवनअघि ‘पार्किङ स्थल’ का रुपमा प्रयोग गर्न पाएको भागलाई खाली राख्न कहिले राजनीतिक लबिङ/भनसुन तथा कहिले मुद्दा मामिला गरेर फल्चा ब्युँताउने योजनामाथि अवरोध गरिहयो ।

मुद्दा जिताउने त्यो फोटो..

२०७४ सालको चुनावबाट जनप्रतिनिधिहरु आएपछि फेरि फल्चा पुनर्निर्माणको प्रयास सुरु भयो । ललितपुर महानगरको नगरसभाले पाटी पुनर्निर्माणका लागि आर्थिक वर्ष ०७७/०७६ मा बजेट विनियोजन गर्‍यो ।तर लालीगुराँस सहकारीका सेयर होल्डर अमृतकुमार अर्यालले फेरि उच्च अदालत, पाटन गए । अदालतले भने अन्य पाटीहरुको सीमा रेखासँग समानान्तर हुने गरी समय् फल्चा बन्ने देखिएकाले अन्तिरम आदेश जारी गरिरहनुनपर्ने फैसला गर्‍यो ।

तर लालीगुराँस सहकारीका स्थानीय कर्मचारीहरु समेत निवेदक भई सर्वोच्च अदालतमा निवेदन पर्‍यो । उनीहरुको उही माग थियो, पाटी पुनर्निर्माण रोक्का गरी पाऊँ ।

मेयर महर्जनका अनुसार हरेकपटक फल्चा पुनर्निर्माण गर्न रोक्न नहुने निष्कर्षमा अदालत पुग्न एउटा पुरानो फोटो सहयोगी बन्यो । र, १७ साउनमा सर्वोच्चले फल्चा बन्ने जग्गा पुल्चोक-जावलाखेल मूल सडकभित्र नपर्ने र पाटी पुनर्निर्माण गर्दा सडक पेटी (पैदल मार्ग) मा असर पर्ने अवस्था नरहेको ठहर गर्‍यो ।

‘हामीले अदालतमा सँधै अशोक स्तुप वरपरको सबै भाग देखिने पुरानो तस्वीर देखायौं,’ मेयर चिरिबाबु महर्जन भन्छन्, ‘त्यही फोटोको आधारमा हामीले मुद्दा जित्दै आएका हौं ।’

मूल सडक र पैदल मार्ग यथावत कायम रहने गरी सडक मापदण्ड विपरीत नहुने गरी सत्तल -पाटी) निर्माण गर्न लागेको विषयमा सो कार्य हुन दिनबाट रोक्ने गरी अन्तरिम आदेश जारी गर्न नमिलेका नियमअनुसार गर्न सर्बोच्चको अदालतको थियो ।

अदालतको एकपछि अर्को फैसलापछि पनि लालीगुराँस सहकारीले फाल्चा पुनर्निर्माणमा अवरोध गर्दै आएको थियो । मेयर महर्जनका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार भन्दै जिल्ला प्रशासन कार्यालयले नै फल्चा निर्माण नगर्न निर्देशन दिएको थियो । ‘हामीले गृह सचिवलाई भेटेर फेरि अशोक स्तुप वरपरको पुरानो फोटो देखायौं । त्यसपछि फेरि निर्देशन फुकुवा भएको थियो,’ महर्जन भन्छन् ।

त्यसपछि जिल्ला अदालतबाट आएको अन्तरकालीन आदशे पनि खारेज भएपनि फल्चा निर्माणको लागि बाटो खुलेको हो । यसपटक पनि महानगरले अदालतमा सोही फोटोसहित विगतको फैसला र निर्णयको प्रतिलिपि पेश गरेको थियो । भविश्यमा फल्चा बन्छ भन्ने थाहा पाउँदा पाउँदै जग्गा किनेर घर बनाइएको महानगरको दावी रहँदै आएको छ ।

तीन महिनाभित्र बनाउने लक्ष्य

अब मूल सडक र पैदलमार्ग यथावत् रहने गरी फल्चा बन्ने छ । सहकारीले पैसाको भरमा फाल्चा निर्माणमा अवरोध गर्दै आएको भन्दै उनी भन्छन्, ‘अब ३ महिनाभित्र काम सकेुर फल्चा पुरानै स्वरुपमा निर्माण गरिसक्छौं, काष्ठकालाको कामले केही बढी सयम लिन्छ ।’

महानगरपालिकाले फल्चा बनाउन ३० लाख बजेट छुट्याएको छ । स्थानीयले पनि फल्चा व्यवस्थापनका लागि पैसा उठाएका छन् ।

लालीगुराँस सहकारी भने सम्पदा संरक्षणको नाममा महानगरपालिकाले दुःख दिएको आरोप लगउँदै आएको छ ।

लालीगुराँस सहकारीको यस्तो दावीमा स्थानीयबासी सहमत छैनन् । ७५ वर्ष उमेर काटेका पुल्चोकका स्थानीय श्यामकृष्ण महर्जनका अनुसार अशोक स्तुपसँगै सडक किनारमा ‘समय् फल्चा’ थियो । यो फल्चा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा विशिष्ट उपयोग गरिन्थ्यो ।

मच्छिन्द्रनाथको रथ तान्न प्रयोग हुने ‘घमा’ राखिने लामोपाटी र अशोक स्तुपसँगैको नमसङ्गाती फल्चाको बीचमा समय् फल्चा थियो, जहाँ रथयात्राका बेला ‘समय्बजी’ खुवाउने गरिन्थ्यो । अब फल्चा ब्युँताएर फेरि त्यही दिन फर्काउने योजनामा स्थानीयहरु छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?