+
+
सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस :

‘आत्महत्या जनस्वास्थ्यको प्रमुख समस्या, नयाँ नीति आवश्यक’

सबैभन्दा धेरै आत्महत्या प्रदेश १ मा, लुम्बिनी दोस्रो स्थानमा : कोशिस नेपाल

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ २५ गते ९:१४

२५ भदौ, बुटवल । आज विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यमार्फत आशाको सिर्जना’ नारासहित यो दिवस नेपालसहित आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ ।

आत्महत्या रोकथामको क्षेत्रमा काम गरिरहेको संस्था कोशिस नेपालले गरेको अध्ययन अनुसार नेपालका सातवटा प्रदेशहरुमध्ये सबैभन्दा धेरै आत्महत्या प्रदेश १ मा हुने गरेको छ । दोस्रो धेरै आत्महत्या लुम्बिनी प्रदेशमा हुने गर्दछ ।

आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा विष सेवन गरेर, आगो लगाएर, झुण्डिएर, औजार हातहतियार प्रयोग गरे, हाम फालेर, करेन्ट लागेर र डुबेर ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेको तथ्याकमा देखिन्छ ।

गत वर्ष सबैभन्दा धेरै प्रदेश १ मा १ हजार ५ सय १८ जनाले र लुम्बिनी प्रदेशमा १ हजार ३ सय ८३ जनाले आत्महत्या गरेका छन् ।

यस्तै प्रदेश २ मा ९ सय ५९ जना, बाग्मती प्रदेशमा १ हजार ३२ जना, गण्डकी प्रदेशमा ६ सय ४४ जना, कर्णाली प्रदेश ३ सय ६५ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ८८ जनाले आत्महत्या गरेका छन् ।

विश्वमा आठ लाख जनाले बर्सेनि आत्महत्या गर्ने गरेको मानसिक रोग विशेषज्ञ डा. सन्तोष पोखरेल बताउँछन् । प्रति ४० सेकेण्डको अन्तरमा एक जनाले आत्महत्या गर्ने यो तथ्यांकबाट पुष्टि हुन्छ ।

परिवारमा अभिभावक र सन्तानबीच सम्वादको खाँचो

यो जनस्वास्थ्यको प्रमुख समस्या भएको हुँदा बेलैमा उचित परामर्श दिनसके आत्महत्याबाट हुने मृत्युदर रोक्न सकिने अर्का मानसिक रोग विशेषज्ञ डा. विक्रम काफ्ले बताउँछन् ।

प्रहरीको रेकर्ड र अपराधको वर्गमा आत्महत्यालाई राख्नु गम्भीर भूल हुने चिकित्सकहरु बताउँछन् । आत्महत्यालाई जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा स्वीकार गरेर राज्यले नै रोकथामका लागि देशव्यापी परामर्श अभियान चलाउनुपर्ने र यसलाई समेटेर नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने खाँचो चिकित्सकहरुले औंल्याएका छन् ।

सामाजिक, जैविक र वंशाणुगत कारणले आत्महत्या हुने गरेकाले परिवारमा अभिभावक र सन्तानबीच सम्वादको खाँचो रहेको डा. काफ्ले बताउँछन् ।

आत्महत्याको घटनालाई सनसनी बनाउन आत्महत्याका तरिका सिकाउने ढंगले फोटो, भिडियो राखेर समाचार बनाउने परिपाटीलाई कडाइका साथ रोक्नुपर्नेमा आत्महत्याको क्षेत्रमा काम गर्दै आएकी यशोदा बगालेको सुझाव छ । यसका लागि आफूहरुले प्रेस काउन्सिल नेपालसँग समन्वय गर्ने उनले बताइन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?