+
+

बंगलादेशका तमिम इकवालले भैरहवाबाट ईपीएल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते १४:५६

२६ भदौ, काठमाडौं । बंगलादेशका स्टार ब्याट्सम्यान तमिम इकवालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् ।

आगामी असोजमा टी-२० ईपीएलका लागि शरद भेषावकरको कप्तानीमा रहेको भैहरवाले बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमलाई अनुबन्ध गरेको शनिवार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

तमिम भैरहवाले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै श्रीलंकन टोलीका पूर्वकप्तान तथा ओपनर उपल थरंगा र फास्ट बलर धम्मिका प्रसादलाई भैरहवाले अनुबन्ध गरिसकेको छ । श्रीलंकाकै दिनेश चन्डिमाललाई पनि भैरहवाले अनुबन्ध गरेको थियो तर राष्ट्रिय टिममा परेपछि चन्डिमाल ईपीएल खेल्न नआउने भएका छन् ।

थरंगा र तमिम अनुबन्ध भएपछि भैरहवाको ओपनिङ जोडी अनुभवी बनेको छ ।

३२ वर्षीय बायाँहाते तमिम बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन् । उनले बंगलादेशबाट ६४ टेस्ट, २१९ ओडीआई, ७८ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

तमिमसँग २२९ टी-२० खेलको अनुभव समेत छ । तमिम बंगलादेशबाट टेस्ट र ओडीआईमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् भने उनी टी-२० आईमा बंगलादेशबाट सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् ।

२००७ देखि बंगलादेशबाट तमिमले निरन्तर अन्तर्राष्ट्रिय खेल खेल्दै आएका छन् । उनले टेस्टमा ९ शतक र ३१ अर्धशतकसहित कुल ४ हजार ७८८ रन बनाएका छन् । टेष्टमा उनको उत्कृष्ट प्रदर्शन २०६ रन छ । यस्तै ओडीआईमा १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६६६ रन बनाएका छन् । ओडीआईमा उनको उत्कृष्ट प्रदर्शन १५८ रन हो ।

तमिमले टी-२० आईमा १ शतक र ७ अर्धशतकसहित १ हजार ७५८ रन बनाएका छन् । उनी बंगलादेशबाट टी‍-२० आईमा शतक प्रहार गर्ने पहिलो र एक्लो क्रिकेटर हुन् । उनले सन् २०१६ को टी-२० विश्वकपमा ओमानविरुद्ध ६३ बलमा १०३ रनको अविजित शतकीय इनिङ्स खेल्दै इतिहास रचेका थिए ।

तमिलले सन् २०२० मार्चदेखि बंगलादेशको ओडीआई टोलीको कप्तानी सम्हाल्दै आएका छन् । आगामी अक्टोबर-नोभेम्बरमा युएई र ओमानमा हुने आईसीसी टी-२० विश्वकपबाट तमिमले आफ्नो नाम फिर्ता लिएका थिए । त्यसैले तमिम बिनानै बंगलादेशले टी-२० विश्वकप खेल्ने टोली घोषणा गरिसकेको छ ।

चौथो संस्करणको बजाज पल्सर ईपिएल आगामी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोवर ९) सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ ।

शरदको कप्तानीमा भैरहवा पछिल्ला दुई संस्करणको उपविजेता बनेको थियो । २०१८ मा भएको पछिल्लो संस्करणको फाइनलमा भैरहवा ललितपुर प्याट्रियट्ससँग १४ रनले पराजित भएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायेके भैरहवा मुख्य प्रशिक्षकमा छन् ।

घरेलु क्रिकेटका सफल कप्तान शरद भेषावकरको नेतृत्वमा रहेको भैरहवामा राष्ट्रिय टिमा युवा ब्याट्सम्यान आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा युवा स्टार खेलाडीहरु छन् ।

यस्तै टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका प्रदीप ऐरी र भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमांशु दत्त स्वदेशी खेलाडीको रुपमा छन् । बाँकी खेलाडी र ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीको नाम सार्वजनिक हुन बाँकी रहेको भैरहवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?