+
+
महिला फुटबल :

बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ २७ गते १९:०१

२७ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन ।

यसअघि पहिलो मैत्रीपूर्ण खेल नेपालले २-१ ले जितेको थियो । नेपाललले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो । यसअघि २०१९ मा भएको ओलम्पिक छनोटमा नेपालले बंगलादेशसंग १-१ को बराबरी खेलेको थियो । नेपाल र बंगलादेशबीच अहिलेसम्म ८ खेल हुँदा नेपाल अपराजित छ ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो खेलमा पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले गोलकिपर एन्जिला सुब्बा, मिडफिल्डर मन्जली कुमारी योन्जन र अघिल्लो खेलमा डेब्यू गर्दै गोल गरेकी सबिता रानाको स्थानमा अन्जना राना मगर, अनिता बस्नेत र रश्मि कुमारी घिसिङलाई पहिलो रोजाइमा खेलाएका थिए।

अघिल्लो खेलमा नेपालले २३ मिनेटभित्रै दुई गोल गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशले सुरुवातदेखि नै राम्रो खेलेको थियो । पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर आएपनि सदुपयोग गर्न सकेनन् । नेपालको सरु लिम्बु र विमला चौधरीले गोलको अवसर पाएपनि फिनिसिङ राम्रो हुन सकेन । यस्तै बंगलादेशी गोलकिपर रुपना चक्माले केही राम्रो बचाउ गरिन् ।

दोस्रो हाफमा नेपालले दुई खेलाडी परिवर्तन गरेपनि गोल हुन सकेन । ६६ औं मिनेटमा रश्मी घिसिङ र अनिता बस्नेतको स्थानमा सबिता राना र अनिता केसी म‌ैदान प्रवेश गरेका थिए ।

८९ औं मिनेटमा नेपालकी रजनी थोकरले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरिन् । उनी प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

नेपाल र बंगलादेश अब एएफसी महिला एसियन कप छनोट खेल्न उज्वेकिस्तान जानेछन् । नेपाल समूह एफ मा छ । यस समूहमा फिलिपिन्स र हङकङ पनि छ ।

नेपालले पहिलो खेल असोज २ गते फिलिपिन्ससँग खेल्नेछ भने दोस्रो खेल असोज ५ गते हङकङसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।

यस्तै बंगलादेश समूह जी मा छ । यस समूहमा जोर्डन र इरान पनि छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?